कारोबार


जीवन बिमा कम्पनीहरूले नयाँ बिमितबाट एक वर्षमा उठाए ४० अर्ब बढी शुल्क

जीवन बिमा कम्पनीहरूले नयाँ बिमितबाट एक वर्षमा उठाए ४० अर्ब बढी शुल्क

नेपालखबर
साउन २६, २०८२ सोमबार १६:३१, काठमाडौँ

जीवन बिमा कम्पनीहरुले आर्थिक वर्ष ४० अर्ब माथिको प्रथम बिमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा यो १६.९६ प्रतिशतले धेरै हो।

जीवन बिमा कम्पनीहरुले बिमितले बिमा गरेपछि सुरुवातमा उठाउने पहिलो किस्ताबापतको बिमाशुल्कलाई प्रथम बिमाशुल्क भनिन्छ। यसलाई नयाँ बिमितबाट उठाइएको पहिलो शुल्क पनि भनिन्छ।

आर्थिक वर्ष २०८१/८२ मा लघुविमासहितका जीवन बिमा कम्पनीहरुले कुल ४० अर्ब १७ करोड रुपैयाँ बराबरको प्रथम बिमाशुल्क संकलन गरेका हुन्। अघिल्लो आवमा कम्पनीहरुले ३४ अर्ब ३४ करोड रुपैयाँ संकलन गरेका थिए।

योबाहेक यो अवधिमा वैदेशिक रोजगार बीमाशुल्कअन्तर्गत कम्पनीहरुले ३ अर्ब ५२ करोड रुपैयाँ संकलन गर्दा नवीकरण बिमाशुल्कमार्फत १ खर्ब ३७ करोड रुपैयाँ संकलन गरेका हुन्।

समग्रमा यो वर्ष लघुबिमासहितका १७ वटा जीवन बिमा कम्पनीहरुले १ खर्ब ८२ अर्ब २७ करोडबराबरको शुल्क संकलन गरेका हुन्।

अघिल्लो आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले बिमितबाट कुल १ खर्ब ५६ अर्ब ५० करोड रुपैयाँ शुल्क संकलन गरेकामा यो वर्ष १६.४६ प्रतिशतले बढि शुल्क संकलन गरेका हुन् । 

अनिवार्य बीमा बढ्दा स्वैच्छिक बीमा घट्दो 
सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकहरुमा अनिवार्य बीमा गर्नुपर्ने व्यवस्थाले वैदेशिक रोजगार बिमालेख बिक्री ह्वात्तै बढाएको छ भने स्वैच्छिक बीमामा आकर्षण घट्दो देखिएको छ। 

प्राधिकरणका अनुसार आव २०८०/८१ सम्म २५ लाख ८६ हजार बिमालेख सक्रिय रहँदा लघु जीवन बीमा ४९ लाख र म्यादी जीवन बिमातर्फ ३४ लाख वटा बिमालेख सक्रिय छन्। 

तर यही बालबच्चासम्बन्धी सावधिक जीवन बिमा, अग्रिम भुक्तानी बिमालगायतका बिमा भने आकर्षण घटेको हो। 

अघिल्लो वर्ष ५३ लाख वटा बिमालेख सक्रिय रहेको अग्रिम भुक्तानी सावधिक जीवन बिमालेख गत वर्ष सकिँदासम्म घटेर ४६ लाखमा आइपुगेको हो। 

यो वर्ष उक्त शीर्षकका बिमालेख ७ लाखले घटेको हो।

त्यस्तै अघिल्लो वर्षसम्म १० लाख ८१ हजारवटा बिमालेख सक्रिय रहोको बालबच्चासम्बन्धी सावधिक जीवन बिमालेख गत वर्ष घटेर १० लाख ७३ हजारमा झरेको हो। 

योबाहेक सावधिक जीवन बिमा, रूपान्तरित सावधिक जीवन बीमा, आजीवन जीवन बीमा, एकल बिमाशुल्क जीवन बीमा, म्यादी जीवन बीमा, लघु जीवन बीमा र अन्य जीबन बीमालेख बिक्री यो वर्ष बढेको हो। 

असार मसान्तसम्म सावधिक जीवन बीमातर्फ २१ लाख ६० हजार बिमालेख सक्रिय रहँदा रुपान्तरित सावधिकतर्फ ५ लाख ७९ हजार, वैदेशिक रोजगारतर्फ २५ लाख ८६ हजार, आजीवनतर्फ १ लाख ७७ हजार, एकलतर्फ ९८ हजार, म्यादीतर्फ ३४ लाख १९ हजार, लघुतर्फ ४९ लाख ५१ हजार र अन्यतर्फ १ लाख २३ हजारवटा बीमालेख सक्रिय रहेका हुन्। 

प्राधिकरणका अनुसार असार मसान्तसम्म लघुसहित १७ वटा जीवन बीमा कम्पनीहरुमा १ करोड ५६ लाख वटा बिमालेख सक्रिय अवस्थामा रहेका हुन्। 

अघिल्लो वर्ष १ करोड ३८ लाख वटामात्रै बिमालेख सक्रिय थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad