नेपालले यो वर्षको सार्वभौम क्रेडिट रेटिङको गृहकार्य सुरु गरेको छ।
क्रेडिट रेटिङको तयारीका लागि आज अर्थ मन्त्रालयमा बसेको बैठकमा तयारी राम्रोसँग गर्ने र नेपालले हासिल गरेका उपलब्धिहरुलाई व्यवस्थित रुपमा प्रस्तुत गर्ने निर्णय गरिएको हो।
बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले एक वर्षमा उल्लेखनीय प्रगति गरेको सन्देश जाने गरी तयारी गर्न निर्देशन दिए।
बैठकमा अर्थतन्त्र, नीति तथा कानुनी क्षेत्र र सुशासनका क्षेत्रमा भएका सुधारका साथै राजनीतिक स्थायित्व, सडक, पर्यटन, जलविद्युत् लगायतमा हासिल भएका उपलब्धिहरुलाई प्राथमिकता दिनेबारे छलफल भएको हो।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, सदस्य डा प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायतको उपस्थिति थियो।
बैठकमा अर्थ मन्त्रालय आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराईले क्रेडिट रेटिङसम्बन्धी अहिलेसम्म गरिएका तयारी प्रस्तुत गरेका थिए।
अन्तर्राष्ट्रिय एजेन्सी फिचले नेपालको रेटिङ गर्ने गर्छ। सोभरेन क्रेडिट रेटिङको लागि अवस्था बुझ्न फिचको टोली नेपाल आउने कार्यक्रम छ।
गत वर्ष फिचले गरेको सोभरेन क्रेडिट रेटिङमा नेपालले बीबी माइनस पाएको थियो।
Shares

प्रतिक्रिया