सेयर ब्रोकरले लगानीकर्तासँग धितोवापत खाली चेक लिएको र ती चेक दुरूपयोग गरी खाताबाट ठूलो रकम झिकेर फिर्ता नगरेको आरोप लगाउँदै नियामक निकाय धितोपत्र बोर्डमा एक उजुरी परेको छ।
नयाँ सडकस्थित भृकुटी स्टक ब्रोकिङ कम्पनी, ब्रोकर नं ५५, का सञ्चालक विजय रानाभाटले चेक दुरूपयोग गरी ४ करोड ८६ लाख ८८ हजार ४१ रूपैयाँ खाताबाट झिकेको र पछि फिर्ता नगरेको भन्दै काभ्रेका लक्ष्मी शर्मा र यज्ञप्रसाद शर्माले बोर्डमा उजुरी दिएका हुन्।
उजुरीमा उनीहरूले विजय रानाभाटसँग सेयरको खरिदबिक्री गर्ने क्रममा चिनजान भएको, उधारोमा पनि सेयर गरिद गर्ने गरेको र त्यस क्रममा धितोवापत खाली चेक दिने गरेको उल्लेख गरेका छन्। तर पछि धितोवापत बुझाएका चेकहरू दुरूपयोग गरी लक्ष्मी शर्माको खाताबाट उक्त रकम झिकेर रानाभाटले आफ्नो निजी खाता (कम्पनीको होइन) मा उक्त रकम जम्मा गरेको उजुरीमा लेखिएको छ।
रानाभाटले शर्मा दम्पतीले ठूलो रकमको सेयर खरिदबिक्री गर्दा खातामा के कति रकम छ भन्ने थाहा पाएपछि चेक साटेको र पछि गुनासो गर्दा ‘ज्यादै आवश्यक परेको हुँदा तपाईँहरूलाई बैंकसरहकै ब्याज दिन्छु, सापटी दिनुहोस्’ भनी पटकपटक अनुरोध गरेको पीडितको भनाइ छ।
‘हामीले सेयर कारोबार गर्ने चिनजानको व्यक्ति नै रहेको र पछि पनि निजमार्फत सेयरको कारोबार गर्ने भनी ज्यादै विश्वासमा पर्यौँ,’ पीडितले उजुरीमा लेखेका छन्, ‘उक्त समयमा निज सेयरको कारोबार ब्रोकर नं ५५ भृकुटी स्टक ब्रोकिङ कम्पनी, न्युरोडका तत्कालीन सञ्चालकमध्येका व्यक्ति भएको र निजले अनेक झुटा आश्वासन दिई विश्वासमा पारी जालसाजीयुक्त कारोबार गर्ने नियत राखी ठगी गरेको अवस्था छ।’
रानाभाटले २०७८ साउन २८ गते उक्त रकम झिकेको र यसबीचमा विभिन्न चरणमा फिर्ता गर्न भन्दा नदिएको उजुरीकर्ताको भनाइ छ।
उजुरीकर्ताले रानाभाटबाट साँवाब्याजसहितको रकम भराई २ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना हुनुपर्ने माग गरेका छन्। साथै, रानाभाटलाई सेयर कारोबारमा रोक लगाउन र सम्पत्ति तथा कारोबारको अनुसन्धान गर्न पनि शर्मा दम्पतीको माग छ।
यसबारे प्रतिक्रिया लिन मोबाइलमा कल गर्दा रानाभाटले उठाएनन्।

Shares

प्रतिक्रिया