कारोबार


जडीबुटी भन्दै वन कार्यालयले टाँचा लगाएको ट्रकमा ४० हजार भेप बरामद, कम्तीमा ८ करोड मूल्य

जडीबुटी भन्दै वन कार्यालयले टाँचा लगाएको ट्रकमा ४० हजार भेप बरामद, कम्तीमा ८ करोड मूल्य

निर्दोष घोरसाइने
भदौ ९, २०८२ सोमबार २१:१, काठमाडौँ

हुम्लाको हिल्साबाट एउटा ट्रक छुट्छ। ट्रकभित्र सेतकचिनी (खिरौला) नामक जडीबुटी छ भनेर डिभिजन वन कार्यालय, हुम्ला, सिमकोटले टाँचा लगाइदिन्छ।

सरकारी कार्यालयकै टाँचा भएपछि हत्पत्ति राजस्व अनुसन्धान वा अन्य निकायहरुले सडकमा सहजै ‘पास’ गरिदिन्छन्।

तर, हुम्लाबाट छुटेर आएको ‘ना अ प आ ८३’ नम्बरप्लेट रहेको उक्त ट्रकमा शंकास्पद सामान रहेको भन्ने सूचना राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवालकहाँ आइपुग्यो।

उनले सशस्त्र प्रहरीसँग समन्वय गरी उक्त गाडी पछ्याउन लगाए। 

उनले जुन सूचना पाएका थिए, त्यसका आधारमा उक्त गाडी नियन्त्रणमा लिन बाधा–अवरोध हुन सक्ने जोखिमको पनि आकलन गरे।त्यसैअनुसार राजस्व हेर्ने सशस्त्र प्रहरीलाई परिचालित गरे। सशस्त्र प्रहरीले पनि नेपाल प्रहरीको समेत साथ रहन सक्ने ठाउँ यकिन गरी ट्रक नियन्त्रणमा लिने योजना बनायो।

यसै भदौको ७ गते दैलेखको आठबीसकोट नगरपालिका वडा नं ६ मा पर्ने खिड्कीजिउला भन्ने ठाउँमा राति सवा ११ बजे ट्रकलाई नियन्त्रणमा लिइयो। 

ट्रक कोहलपुरमा रहेको राजस्व अनुसन्धान कार्यालयमा राखियो। बाँकेस्थित जिल्ला प्रशासन कार्यालय, वन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र उद्योग वाणिज्य संघका प्रतिनिधिको रोहबरमा ट्रकको टाँचा तोडियो।

खोलेर हेर्दा त्यहाँ त जडिबुटीभित्र विद्युतीय चुरोट (भेप) भेटिन थाले। 

भेप गन्दा ३९ हजार ९०० पुगेका छन्। 

यसको न्यूनतम मूल्यांकन गर्दा ८ करोड रुपैयाँबराबरको हुने राजस्व अनुसन्धान कार्यालयका प्रमुख उमेशराज रिमाल बताउँछन्।

‘बजारमा विभिन्न मूल्यका भेपहरु पाइन्छन्,’ रिमालले नेपालखबरसँग भने, ‘यो ठ्याक्कै कुन गुणस्तर र मूल्यको हो भन्ने यकिन भएको छैन। न्यूनतम प्रतिभेप २ हजारका दरले हिसाब गर्दा ८ करोडको हुन्छ। ३ हजार रुपैयाँ पर्ने रहेछ भने १२ करोडको हुन आउँछ।’

अहिलेसम्म उक्त सामानको धनी पत्ता लागिनसकेको उनले बताए।

नेपालगन्ज हुँदै भारत तस्करी गर्न लागिएको हुन सक्ने अनुसन्धान अधिकारीहरुको प्रारम्भिक अनुमान छ।

‘अहिले चालकसहित ३ जनालाई नियन्त्रणमा लिएको छौँ,’ रिमालले भने, ‘धेरै कुरा खुलिसकेको छैन। अनुसन्धानकै क्रममा छौँ। जडिबुटी कारोबार गर्ने फर्मको नाम भेटिएको छ। यो सामान कसको हो भन्ने यकिन भएको छैन।’

नियन्त्रणमा लिइएका तीनै जना ट्रकमै सवार थिए। उनीहरूले चाबी नदिएकाले ताल्चा फुटाएर ट्रकको सामान खोलिएको थियो।

भेप नेपाल र भारत दुवै देशमा प्रतिबन्धित छ। यही मौका छोपी तस्करहरुले नयाँनयाँ नाका प्रयोग गरी चीनबाट भेप ल्याएर भारत र नेपालका बजारमा अवैध रुपमा पठाइरहेको भन्ने सूचना पाएपछि त्यसविरुद्ध कारबाही तीव्र पारेको महानिर्देशक चिलुवालको भनाइ छ।

यस ट्रकमा वनको टाँचा लागेकाले वन कार्यालयका कर्मचारीदेखि अन्य शक्तिशाली व्यक्तिहरुको पनि संलग्नता हुन सक्ने आशंका गरिएको छ।

कैलाश ईश्वर जडीबुटी खरिदबिक्री केन्द्रका सञ्चालक कुन्साङ दोर्जी लामाका नाममा ५ हजार किलो सेतक चिनी उल्लेख गरी वन कार्यालयले जाँचपास गरेको भेटिएको छ। प्रतिकिलो २५ रुपैयाँ मूल्य राखेर १ लाख २५ हजार रुपैयाँ राजस्वको रसिद काटिएको छ।नेपालगन्जसम्म पुग्ने गरी ट्रकलाई इजाजत दिइएको छ।

प्राप्त विवरणअनुसार, कैलाश ईश्वर जडीबुटी खरिद बिक्री संस्थाले भदौ ३ मा जाँचपासका लागि वनमा निवेदन दिएका थिए। त्यसको दुई दिनमा वन कार्यालयका निमित्त डिभिजनल प्रमुख लोकजंग शाहीले जाँचपास गरी चलानी अनुमति दिएका थिए।

यसपालि भेप तस्करी गर्ने गिरोहले यसअघि यही मार्गबाट सुन तस्करी गरेको हुन सक्ने पनि सूचना प्राप्त भएको स्रोतको भनाइ छ। त्यसैले पक्राउ परेका व्यक्तिहरु, फर्म सञ्चालक र अन्य संन्दिग्ध व्यक्तिहरुको थप विवरण विभिन्न माध्यमबाट संकलन भइरहेको छ।

शुक्रबार राति मात्रै सशस्त्र प्रहरीले बर्दियामा ४८ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको भेप बरामद गरेको थियो। मधुवन नगरपालिका-५ फुलराम चोकबाट भारततर्फ लैजाँदै गरेको भेप सशस्त्र प्रहरीको शक्तिपुर बीओपीबाट खटिएको टोलीले बरामद गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad