कारोबार


उद्योग र शैक्षिक संस्थाबीचको खाडल कम गर्न निक्की र कुसुमको समझदारी

उद्योग र शैक्षिक संस्थाबीचको खाडल कम गर्न निक्की र कुसुमको समझदारी

नेपालखबर
भदौ १०, २०८२ मंगलबार ११:५४, काठमाडौँ

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसुम)बीच उद्योग र शैक्षिक क्षेत्रबीचको सहकार्यलाई मजबुत पार्ने उद्देश्यसहित एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

उक्त समझदारीपत्रमा निक्कीका महानिर्देशक केशव मान सिंह र कुसुमका डिन प्रा.डा विजय केसीले आ–आफ्ना संस्थाको तर्फबाट हस्ताक्षर गरेका छन्। यस समझदारीअनुसार, दुबै संस्थाले इन्टर्नसिप तथा रोजगारीका अवसर सृजना, संयुक्त अनुसन्धान, शैक्षिक–उद्योग आदान–प्रदान, क्षमता अभिवृद्धि कार्यक्रम, साथै तालिम, कार्यशाला, सम्मेलन र समिटहरूको सह–आयोजनामा सहकार्य गर्नेछन्।

समझदारीले शैक्षिक ज्ञान र औद्योगिक अभ्यासबीचको अन्तरसम्बन्धलाई अझ सशक्त बनाउने, विद्यार्थीलाई व्यावहारिक सीप प्रदान गर्ने, तथा संयुक्त पहलमार्फत नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। साथै, इन्टर्नसिप कार्यक्रम सञ्चालन, सदस्य कम्पनीहरूमा रोजगारका अवसर सिर्जनाका लागि पहल र आपसी चासोका विषयहरू जस्तै, व्यवसाय, नीति, प्रविधि, दिगोपन, पर्यटन, ऊर्जा तथा क्षेत्रीय आर्थिक सहकार्यमा अनुसन्धान गर्ने सहमति पनि दुई संस्थाबीच भएको छ।

यस्तै, दुबै संस्थाले विद्यार्थी, प्राध्यापक तथा उद्योग व्यवसायीहरूलाई लक्षित गरी तालिम तथा प्रमाणपत्र कार्यक्रम र क्षमता अभिवृद्धि कार्यशाला सञ्चालन गर्ने, साथै संयुक्त सम्मेलन, सिम्पोजियम तथा गेस्ट लेक्चर आयोजना गर्ने निर्णय गरेका छन्। यसले अनुसन्धान प्रतिवेदन, नीतिगत संक्षेप तथा अन्य प्रकाशनहरू साझा गरी शैक्षिक र व्यावसायिक क्षेत्रका निर्णय प्रक्रियामा योगदान गर्नेछ। 

साथै, उद्यमशीलता विकासका लागि मार्गदर्शन, इन्क्युबेसन सहयोग, पिच कार्यक्रम तथा अध्ययन भ्रमणजस्ता गतिविधिहरू समेत सञ्चालन गरिने पनि समझदारीमा उल्लेख छ। 

नेपाल–भारतबीचको आर्थिक सम्बन्ध सुदृढ बनाउन प्रतिबद्ध निक्की सन् १९९३ मा दिवंगत प्रभाकर राणा लगायतका अग्रणी उद्यमी तथा उद्योगपतिहरूद्वारा स्थापित, द्विपक्षीय, गैरसरकारी तथा गैरनाफामूलक संस्था हो। निक्कीले व्यापार, लगानी, पर्यटन, ऊर्जा, पूर्वाधार तथा औद्योगिक सहकार्यलगायतका क्षेत्रमा सीमा–पार सहकार्यलाई सहज बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

त्यसैगरी, काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानृेजमेन्ट (कुसुम) पनि सन् १९९३ मा स्थापित भई नेपालमा अन्तर्राष्ट्रिय स्तरमा प्रचलित संरचना अनुसारको एमबीए कार्यक्रम सुरु गर्ने पहिलो संस्था हो। उत्कृष्ट शिक्षण, अनुसन्धान र नवप्रवर्तनमा समर्पित कुसोम सार्वजनिक शैक्षिक संस्थामध्ये अग्रणी मानिन्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad