विद्यालयका शिक्षकलाई तलब उपलब्ध गराउने सम्बन्धमा आज (शनिबार) शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दोस्रो सूचना जारी गरेका छन्।
यसअघि आजै बिहान उनले आइतबारसम्म शिक्षकको तलब नदिने विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनी दिएका थिए। तर प्रकिया नबुझेको भनी आलोचना भएपछि उनले पहिलो सूचना सच्याउँदै अर्को जारी गरेका हुन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक सूचनामा विद्यालयका शिक्षकलाई तलब खुवाउने प्रधानाध्यापक नभई स्थानीय पालिका हो भनेर कमेन्ट आएपछि उनले दोस्रो सूचना जारी गरेका हुन्।
जसमा उनले आइतबार (असोज १२ गते) सम्म शिक्षकहरूलाई तलब नदिने पालिकालाई कारबाही गरिने चेतावनी दिएका छन्।
उनले लेखेका छन्, ‘दोस्रो सूचना- मन्त्रालयबाट पैसा गएर पनि तलब नख्वाउने पालिकाहरूलाई सूचना- दसैँ-तिहारको अवसरमा पालिकाले तलब निकासा गरिदिएन भनेर केही प्रअ र शिक्षकहरूको गुनासो आएको छ। शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाइसकेको छ। भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यस्ता पालिकालाई नियमानुसार कारबाही गरिनेछ।’

Shares

प्रतिक्रिया