अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत माइदा तोरुबीच आइतबार अर्थ मन्त्रालयमा भेट भएको छ।
उक्त अवसरमा अर्थमन्त्री खनाल र जापानी राजदूतबीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल-जापान बीचको ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक विकासमा पुर्याइरहेको सहयोगका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
उक्त छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको र यस अवधिमा पुनर्निर्माण लगायत आर्थिक सामाजिक विकासका कार्यहरुलाई निरन्तरता दिइने बताए। उक्त अवसरमा निर्माणाधीन नागढुंगा टनेल मार्ग परियोजना, तनहुँ जलविद्युत् आयोजनालगायतका सहयोगका क्षेत्रहरु र निकट भविष्यमा सम्झौता हुन गइरहेको कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट परियोजना र प्रोग्राम फर इमर्जेन्सी रिह्याबिलिटेसन अफ सिन्धुली रोड (बाढी प्रभावित) समेतका विविध विषयमा कुराकानी भएको थियो।
उक्त बैठकमा अर्थसचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सह-सचिव धनिराम शर्माको समेत उपस्थिति थियो।
Shares

प्रतिक्रिया