नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत रहेको काठामाडौंको पाँचतारे होटल तारागाउँ रिजेन्सी होटल (ह्यात रिजेन्सी होटल)ले शुक्रबारदेखि अनिश्चितकालका लागि बन्द गरेको सूचना जारी गरेको छ।
होटलले जेनजी आन्दोलनका क्रममा क्षति पुगेको कारण देखाउँदै अनिश्चित रुपमा होटल पूर्णरुपमा बन्द रहने जनाएको हो।
होटलका सम्पूर्ण सेवा बन्द भएसँगै नेप्सेमा सेयर कारोबार के होला भन्ने लगानीकर्तामा चासो बढेको छ।
नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुलीले कम्पनीले सूचना जारी गरे पनि कारोबार भने सुचारु नै रहेको जानकारी दिए।
‘हामीलाई कारोबार रोक्न नियामक (सेबोन) बाट निर्देशन नआएसम्म कारोबार रोक्न मिल्दैन’, उनले नेपालखबरसँग भने, ‘सेयर कारोबार बन्द नरहेको अवस्थामा पनि होटल बन्द भएको जानकारी दिन भने सूचना जारी हुन्छ।’
सामान्यतया सूचीकृत कम्पनीहरूले विशेष कारण देखाएर कम्पनी बन्द भएको सूचना जारी गर्दै नियामकलाई कारोबार स्थगन गर्न निवेदन गर्नुपर्ने पराजुलीले बताए।
‘कम्पनीले बन्द भएको निर्णयसहित धितोपत्र बोर्डलाई कारोबार स्थगन वा रोक्का गर्नका लागि आवेदन दिन्छन्। त्यसपछि सेबोनले सो निवेदनअनुसार कारोबार रोक्नका लागि बजार सञ्चालक नेप्सेलाई निर्देशन दिनुपर्छ’, उनले यससम्बन्धी व्यवस्थाबारे भने।
प्रवक्ता पराजुलीले हालसम्म कारोबार रोक्नका लागि बोर्डबाट कुनै निर्देशन नआएका कारण कारोबार सुचारु नै रहने जानकारी दिए।
धितोपत्र बोर्ड विगत ३४ दिनदेखि आफैँ बन्द छ। तारागाउँमा कुल सेयर १ करोड ९६ लाख २१ हजार २०२ कित्तामध्ये ६९.१५ प्रतिशत अर्थात् १ करोड ३५ लाख ६८ हजार ६१ कित्ता सेयरमा सर्वसाधारणको लगानी छ।
बाँकी रहेको ३०.८५ प्रतिशत अर्थात् ६० लाख ५३ हजार १ सय ४१ कित्ता सेयरमा संस्थापक सेयरधनीको लगानी छ।
आर्थिक वर्ष २०८१÷२०८२ मा कम्पनीले कुल ५१ करोड ५४ लाखबराबरको मुनाफा गरेको थियो भने कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड माथि छ। कम्पनीको नेटवर्थ पनि १६१ रुपैयाँ ६५ पैसा छ भने प्रतिसेयर आम्दानी २६ रुपैयाँ २७ पैसा रहेको छ। आव २०८०÷८१ यता कम्पनीले लगानीकर्तालाई मुनाफाबाट लाभांश वितरण गरेको छैन।
Shares

प्रतिक्रिया