सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को कार्यकारी अध्यक्ष नियुक्त नगर्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक राम रावलले निगमको कार्यकारी अध्यक्ष नियुक्त नगरिने जानकारी दिए।
निगमको वरिष्ठ अधिकारीलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिइने रावलले बताए।
‘युवराज अधिकारी दोहोरिँदैनन्। नयाँ नियुक्ति पनि गरिँदैन। जो वरिष्ठ छन् उसबाटै काम चलाइने छ’, रावलले नेपालखबरसँग भने।
प्रधानमन्त्री कार्की नै हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुन्।
२०७८ कात्तिक ८ गतेको मन्त्रिपरिषदले अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो। उनी कात्तिक ४ गतेदेखि नै विदामा बसिसकेका छन्। हाल निगममा दुई जना डेपुटी म्यानेजिङ डाइरेक्टर (डीएमडी) छन्। प्राविधिक तर्फ डोलेश्वर कोइराला र प्रशासनतर्फ जनकराज कालाखेती निगमका डीएमडी हुन्। अधिकारीले डोलेश्वर कोइरालालाई कामु कार्यकारी अध्यक्षको जिम्मेवारी दिएका छन्।
पदीय मर्यादा विपरितका गतिविधि गरेको, मिलेमतोमा निगमका जहाजको इन्जिन मर्मतका लागि ठेक्का दिएको र करोडौं रुपैयाँ नोक्सान पुर्याएको भन्दै अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। भ्रष्टाचारमा जोडिएको, सुशासन विरुद्ध लागेकाले अधिकारीलाई निगमको प्रमुखमा पुनर्नियुक्ति गर्ने पक्षमा सरकार छैन।
Shares

प्रतिक्रिया