कारोबार


लकडाउनमा एनसेलको ३४, नेपाल टेलिकमको ३० प्रतिशत डाटा खपत बढ्यो

लकडाउनमा एनसेलको ३४, नेपाल टेलिकमको ३० प्रतिशत डाटा खपत बढ्यो

सन्तोष न्यौपाने
बैशाख १४, २०७७ आइतबार १४:१२,

मुलुकमा लकडाउन सुरु भएपछि सबैभन्दा धेरै व्यस्त व्यवसाय भनेको इन्टरनेट सेवा हो। एकै पटक सबैजना महिना दिनभन्दा धेरै समय घरभित्र बस्दा इन्टरनेटको खपत ह्वात्तै बढेको छ।

लकडाउनले गर्दा मोबाइल डाटादेखि फिक्सड लाइन इन्टरनेटमा उपभोक्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ। सम्बन्धित सेवा प्रदायकका अनुसार लकडाउन सुरु भएपछि इन्टरनेट खपतमा ३४ प्रतिशतसम्म वृद्धि भएको छ।

सरकारी स्वामित्वको नेपाल टेलिकमले लकडाउन सुरु भएपछि डाटा खपतमा ३० प्रतिशतले वृद्धि भएको जनाएको छ।

‘लकडाउन अगाडि जम्मा व्यान्डविथमध्ये ७० प्रतिशत प्रयोग भइरहेको थियो,’ नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले नेपालखबरसँग भने, ‘लकडाउनपछि त्यस्तो प्रयोग ८५ प्रतिशत पुगेको छ।’

यसको अर्थ लकडाउन सुरु भएपछि नेपाल टेलिकमको  व्यान्डविथ खपत १५ प्रतिशत वृद्धि भएको छ। जोशीका अनुसार १५ प्रतिशत व्यान्डविथ खपत वृद्धि हुनु भनेको १० जीवीपीएस डाटा बढ्नु हो।

डाटा खपतमा एक्कासि वृद्धि भए पनि अन्तर्राष्ट्रिय व्यान्डविथ बढाउनु नपरेको टेलिकमले जनाएको छ। ‘डाटा खपत बढ्यो भनेर हामीले व्यान्डविथ थपेका छैनौं,’ जोशीले भने, हामीसँग भएको व्यान्ड विथले नै पुगिरहेको छ।’

डोमेस्टिक र केस सर्भरको वृद्धि हुँदा ३० प्रतिशत डाटा खपत बढेको टेलिकमले जनाएको छ। डाटा खपत गर्ने सम्पूर्ण ट्राफिकको ३५ प्रतिशतसम्म अन्तर्राष्ट्रिय व्यान्डविथले सपोर्ट गर्छ।

अरु भनेको लोकल व्यान्डविथ’ हो, जस्तो कि गुगल, फेसबुक जस्ता क्यास सर्भर र लोक व्यान्डविथले ६५ प्रतिशत सपोर्ट गर्छ। समग्रमा टेलिकमको मोबाइल डाटा खपत ३० प्रतिशतले वृद्धि भएको जनाएको छ। 

त्यस्तै, निजी क्षेत्रको अर्को ठूलो मोबाइल सेवा प्रदायक एनसेलले लकडाउन सुरु भएपछि डाटा खपत समग्रमा ३४ प्रतिशतले वृद्धि भएको जनाएको छ।

लकडाउनपछि उसको डाटा खपतको अवस्था र समग्र सेवाको बारेमा जानकारी गराउँदै एनसेलले भनेकोे छ, ‘पछिल्लो समय राजश्व घटिरहेको बेला लकडाउनको अवधिमा डाटा खपत ३४ प्रतिशतले वृद्धि भएको छ।’ नाफा घटिरहेको भए पनि उपभोक्ताको सेवाको लागि जिम्मेवारी भएर काम गरिरहेको उसको भनाइ छ।

उसका अनुसार लकडाउनपछि डाटा ट्राफिक ४० प्रतिशतले बढेको छ। डाटा खपत र उपभोक्ता बढेसँगै एनसेलले अन्तर्राष्ट्रिय व्यान्डविथमा पनि वृद्धि गरेको जनाएको छ।

‘पछिल्लो केही दिनमा ३४ प्रतिशतले डाटा खपत बढेको अवस्था हामीले यसलाई व्यवस्थित गरिरहेका छौं,’ एनसेलले भनेको छ।

डाटा खपतमा एक्कासी वृद्धि हुँदा नेटवर्कमा केही समस्या आउन सक्छ। लकडाउनको अवधिमा नेटवर्कलाई सही तरिकाले सुचारु गर्न र कुनै पनि समस्या आउन नदिन एनसेल टिमले २४ सै घन्टा काम गरिरहेको बताएको छ। लकडाउनको अवधिमा नेटवर्क अप्रेसन र मर्मत लगायतमा काम गर्न चुनौति रहेको उसको भनाइ छ।

लकडाउनको खुकुलो हुँदै गएपछि अहिलेको प्रयोगमा कस्तो परिर्वतन हुन्छ त्यसमा आगामी व्यवसाय भर पर्नेछ। जोशीका अनुसार अहिले वृद्धि भएको डाटा खपत निरन्तर भइरह्यो भने अन्तर्राष्ट्रिय व्यान्डविथमा वृद्धि गर्नुपर्नेछ।

त्यसपछि डाटा खपत कति बढ्न जान्छ त्यो आगामी दिनले देखाउने छ। लकडाउन खेलेपछि अहिले घर बसिरहेका उपभोक्ता कार्यालय वा व्यवसाय स्थलमा जानेछन्। घरमा प्रयोग भइरहेको अहिलेको खपत निरन्तर भइरहेमा सेवा प्रदायकको व्यवसाय विस्तार हुनेछ।

अर्कोतिर, लकडाउनपछि इन्टरनेट खपत विस्तारै घट्ने सम्भावना पनि देखिन्छ। घरबाट गरिएको धेरै काम कार्यालय वा व्यवसाय स्थलबाट हुन थालेपछि इन्टरनेटको खपत पुरानै अवस्थामा फर्कन सक्ने सेवा प्रदायकको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad