समाज


यी १६ जना, जसले कोरोना भाइरसलाई हराए

यी १६ जना, जसले कोरोना भाइरसलाई हराए

यज्ञराज जोशी
बैशाख १४, २०७७ आइतबार १३:४०,

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण (कोभिड–१९) भएका १६ जना निको भइसकेका छन्।

आइतबार मात्र वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट चार जना डिस्चार्ज भए।

नेपालमा पहिलो पटक माघ ९ गते चीनको वुहानबाट आएका विद्यार्थीमा संक्रमण देखिएको थियो। हालसम्म संक्रमितको संख्या ५१ पुगेको छ।

संक्रमण पुष्टि भएकामध्ये कसैलाई पनि गम्भीर उपचारको आवश्यकता परेको छैन। कतिपय त कुनै औषधि नै सेवन नगरी मात्र आइसोलेसनमा बसेर संक्रमणमुक्त भएका छन्।

हालसम्म भाइरसलाई हराउन सफल भएका १६ जनाको विवरण यसप्रकार छ:

१) चीनबाट आएका युवा
नेपालमा पहिलोपटक चीनको वुहानबाट नेपाल फर्केका एक युवामा कोरोना संक्रमण देखिएको थियो। माघ ९ गते ती व्यक्तिमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको थियो। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराएका उनी निको हुने नेपालका पहिलो संक्रमित पनि हुन्।

३२ वर्षे ती युवामा कोरोना देखिँदा नेपालमा यसको परीक्षण हुँदैनथ्यो। उनको नमुना हङकङस्थित विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा पठाइएको थियो। त्यहीँबाट उनलाई कोरोना भएको पुष्टि भएको हो।

अहिले भने मुलुकका १५ स्थानमा कोरोनाको पोलिमरेज चेन रियाक्सन (पीसीआर) र ७७ वटै जिल्लामा ¥यापिड डाइग्नोस्टिक टेस्ट उपलब्ध छ।

‘कोरोनाबाट धेरै आतंकित र त्रसित हुन जरुरी छैन। बेलैमा होसियारी अपनाए अवश्य ठीक हुन्छ,’ नेपालखबरसँग कुरा गर्दै उनले भनेका छन्, ‘तर रोग लुकाएर बस्नुहुँदैन। बेलैमा परीक्षण र उपचार गराउनुपर्छ।’

२) फ्रान्सबाट आएकी युवती
फ्रान्सबाट आएकी नेपालको दोस्रो संक्रमित युवतीलाई १० चैतमा कोरोना संक्रमण पुष्टि भएको थियो। टेकु अस्पतालमा उपचार गराएपछि वैशाख ६ गते उनी निको भएर घर फर्किसकेकी छिन्।

१९ वर्षीया ती युवतीले विदेशबाट आएदेखि नै आइसोलेसनमा बसेका कारण कसैलाई सर्न पाएको थिएन। तर, आफूलाई कोरोना पुष्टि भएपछि सामाजिक सञ्जाल तथा केही मिडियाले घृणा फैलाएकोमा उनले अस्पतालबाट डिस्चार्ज भएपछि गुनासो गरेकी थिइन्।

‘मिडियाबाट सकेसम्म यो महामारीको बेला कोरोना भाइरस रोगसम्बन्धी गलत सूचना सम्प्रेषण नगरिदिनुहोला। मिडियाले भय फैलाइदिँदा लक्षण देखिएका मानिसहरु पनि परीक्षण गर्न आउनै डराउनुहुन्छ जस्तो लाग्छ,’ २७ दिनको अस्पताल बसाइपछि घर फर्कने क्रममा उनले भनिन्, ‘त्यस्तो मैले पनि महसुस गरेकी थिएँ।’

३) धादिङका युवा
नेपालको तेस्रो कोरोना संक्रमित धादिङका ३४ वर्षे युवामा चैत १२ गते कोरोना पुष्टि भएपछि टेकु अस्पतालको आइसोलेसनमा उपचाररत थिए। २९ दिनको अस्पताल बसाइपश्चात उनी चैत १० गते निको भए।

तर, डिस्चार्ज भएको दिन उनी घर पुग्न पाएनन्। लकडाउनका कारण परिवारजन उनलाई लिन आउन सकेनन्। भोलिपल्ट मात्रै धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले ती युवालाई लिएर गएका थिए।

हाल धादिङ अस्पतालको क्वारन्टिनमा बसेका उनी १४ दिनपछि घर फर्कनेछन्। टेकु अस्पतालका निर्देशक सागर राजभण्डारीले दुई पटक रिपोर्ट निगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको र डिस्चार्ज भएका बिरामीबाट कोरोना सर्छ भनेर डराउनुपर्ने अवस्था नरहेको बताए।

‘निको भएपछि पनि उनीबाट सर्छ कि भनेर डिस्चार्ज भएको दिन उनलाई कोही लिन नआएको हुनसक्छ,’ राजभण्डारीले भने, ‘निको भएपछि माया सदभाव गर्नुपर्ने अवस्थामा झन भेदभाव हुने अवस्था गर्न नहुने हो।’

४) सेती अस्पतालबाट डिस्चार्ज भएका ४ जना
सेती प्रादेशिक अस्पतालमा रहेका ५ जना कोरोना संक्रमितमध्ये ४ जना निको भइसकेका छन्। धनगढीकी एक महिलाबाहेक सबैजना निको भएर घर फर्किसकेका हुन्।

भारतको मुम्बईबाट आएका कैलाली लम्कीचुहाका १९ वर्षीय युवा १६ दिनको अस्पताल बसाइपश्चात वैशाख ७ गते घर फर्किएका थिए। सो अस्पतालबाट डिस्चार्ज हुने उनी पहिलो संक्रमित हुन्।

डिस्चार्जपछि उनले मनोबल उच्च राखेर कोरोना भाइरससँग लडेको बताएका थिए।

लम्कीचुहाकै ५० वर्षीया महिला पनि वैशाख ११ गते कोरोना जितेर घर फर्किएकी थिइन्।

वैशाख १० गते कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका एक पुरुष पनि निको भइ घर फर्के।

चैत १७ दिनको अस्पताल बसाइपश्चात उनले भने, ‘अस्पतालमा हुँदा मानसिक तनाव हुन्थ्यो। डिस्चार्ज भएर घर आएको दिन मज्जाले निदाएँ।’

कैलालीका पहिलो संक्रमित दुबईबाट आएका धनगढीका ३४ वर्षीय युवक पनि वैशाख ९ गते डिस्चार्ज भए। उनले ३० दिन अस्पतालमा बिताएका थिए।

५) नारायणी अस्पतालबाट डिस्चार्ज भएका ४ जना
बिहीबारमात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत चार जनालाई डिस्चार्ज गरिएको बताएको छ।

डिस्चार्ज हुनेहरुमा वीरगञ्जको छपकैया मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक छन्। उनीहरु अस्पताल भर्ना भएको १५औं दिनमा डिस्चार्ज भएका हुन्।

६) सनसिटी अपार्टमेन्टका दुई जना
पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोना भाइरस संक्रमित वैशाख ११ गते निको भएका थिए।

चैत पहिलो साता बेलायतबाट फर्किएका उनीहरुको वैशाख १ गते आरडीटी टेस्ट गर्दा कोरोनाभाइरसको एन्टिबडी पोजिटिभ देखिएको थियो। त्यही दिन उनीहरूलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो। अर्कोदिन पीसीआरबाट पनि पोजिटिभ देखिएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको थियो। १० दिनपछि उनीहरु निको भएका हुन्।

नेपालमा सबैभन्दा छिटो निको भएका संक्रमित यी दुई जना हुन्। हाल दुवै जनाको अवस्था सामान्य रहेको परिवारका सदस्यले जनाएका छन्।

‘अहिले सबैलाई ठिक छ। उहाँहरु आराम गरिरहनुभएको छ,’ परिवारका एक सदस्यले भने।

७) चितवनका युवा
चितवनका दुई कोरोना संक्रमितमध्ये वैशाख १३ गते २७ वर्षीय युवक डिस्चार्ज भएका छन्। उनकी आमा समेत अस्पतालमा उपचाररत रहेकीले ती युवकको चाहना अनुसार हाल उनी अस्पतालकै आइसोलेसनमा छन्।

८) बाग्लुङका दुई जना
वैशाख ६ गते बाग्लुङकी ६५ वर्षे वृद्धा कोरोना संक्रमणबाट मुक्त भएकी थिइन्। उनीसँगै धौलागिरि अस्पतालमा उपचार गराइएकी १९ वर्षीया युवती पनि वैशाख १३ गते निको भई घर फर्किसकेकी छिन्। दुवैजना बेल्जियमबाट काठमाडौं हुँदै बाग्लुङ पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad