गत चैतमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाका क्रममा नियम विपरीत भन्दै परीक्षार्थीहरूबाट जफत गरिएका करिब ५०० थान मोबाइल फोन र स्मार्ट घडीहरू जिल्ला प्रशासन कार्यालय सिरहाको निर्णयमा नष्ट गरिएपछि विद्यार्थी र अभिभावकहरू आन्दोलित बनेका छन्।
परीक्षा हल र गेटबाट नियन्त्रणमा लिइएका करोड मूल्य बराबरका महँगा सञ्चार उपकरणहरू सुरक्षा निकाय र शिक्षा विकास तथा समन्वय एकाइको संयुक्त निर्णयअनुसार विसर्जन गरिएपछि विद्यार्थी संगठन तथा अभिभावकहरूले विरोध प्रदर्शन सुरु गरेका हुन्।
आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले प्रशासन कार्यालय सिरहाका विरुद्धमा ‘परीक्षा केन्द्रबाट विद्यार्थीहरूको जफत गरिएको मोबाइल फोन पानीमा डुबाएर नष्ट गरेकोमा विरोध प्रदर्शन’ लेखिएको ब्यानर बोकेर र्यालीसहित चर्को नाराबाजी गरिरहेका हुन्।
ब्यानरमा ‘विद्यार्थीहरू एक जुट हौं, विद्यार्थीको नष्ट गरिएको मोबाइलको उचित क्षतिपूर्ति दे तथा विद्यार्थीको सम्पत्तिमाथिको दमन बन्द गर’ जस्ता मागहरू राखेर विद्यार्थी हरू सिरहाका प्रमुख जिल्ला अधिकारीलाई भेट्न पुगेका थिए।
त्यस्तै, स्वतन्त्र विद्यार्थी युनियन सिरहा क्याम्पसका सभापति पृथ्वी यादवले एउटै मधेस प्रदेशभित्रका अन्य जिल्लाहरूमा परीक्षामा समातिएका मोबाइलहरू जरिवाना तिराएर वा परीक्षा अवधिभर जफत गरेर पछि विद्यार्थीलाई नै फिर्ता गरिए पनि सिराहामा विद्यार्थीमाथि ज्यादती गरेको आरोप लगाए।
जरिवाना तिराएर वा परीक्षा अवधिभर नियन्त्रणमा लिएर फिर्ता गर्न सकिने खुकुलो कानुनी अभ्यास भइरहँदा सिरहामा मात्रै करोड मूल्यका निजी सम्पत्ति सोझै नष्ट गरिनु विभेदकारी र अव्यावहारिक भएको मूल्य आरोप लगाए।
‘सुरक्षा निकायले परीक्षा केन्द्रको मुख्य गेट र हलभित्र समेत कडा जाँच गर्ने व्यवस्था हुँदाहुँदै पनि मोबाइल भित्र कसरी पुग्यो’ उनले भने, ‘बाहिरै रोक्नुको साटो भित्र पुगिसकेपछि सिधै नष्ट गर्ने नीति किन अख्तियार गरियो?’ मोबाइल नष्ट गर्ने निर्णयबाट विशेष गरी ग्रामीण र विपन्न परिवारका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरू ठूलो मर्कामा परेका छन्।
प्रशासनले जफत गरेको उपकरणहरूमा सात वटा आइफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल फोन तथा पाँच वटा स्मार्ट वाच रहेका थिए, जसको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ।
यी मोबाइलहरूको व्यवस्थापन र नष्ट प्रक्रिया अघि बढाउन शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका परीक्षा शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू सम्मिलित पाँच सदस्यीय उपसमिति गठन गरिएको थियो।
सोही उपसमितिको रोहवरमा जिल्ला प्रहरी कार्यालय परिसरभित्र ती सबै उपकरणहरूलाई लगातार २४ घण्टासम्म पानीमा डुबाएर राखी पुनः प्रयोग गर्नै नसकिने अवस्थामा पुर्याएर नष्ट गरिएको प्रशासनले जनाएको छ।
Shares

प्रतिक्रिया