समाज


घट्यो वर्षा, के छ आजको सम्भावना?

घट्यो वर्षा, के छ आजको सम्भावना?

काठमाडौँस्थित ऐतिहासिक रानीपोखरी र मौसम। तस्बिर : शशीधर अधिकारी/रासस


नेपालखबर
साउन १०, २०८३ आइतबार ९:०, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानआसपास छ। यो भनेको अहिले मनसुनी रेखा नेपालको नजिक छैन। त्यसैले वर्षा हुने क्रम घटेको हो। 

यद्यपि आज दिउँसो देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थान तथा कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेश तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना देखिएको मौसम महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार राति बागमती र गकी प्रदेशका धेरै स्थान, कोसी, मधेस र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।

काठमाडौँ उपत्यकामा के छ सम्भावना?

आज काठमाडौँ उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौँ उपत्यकामा दिउँसोभन्दा राति अलि बढी वर्षाको सम्भावना देखिएको छ। 

‘दिउँसो हल्का वर्षा हुने सम्भावना छ भने सम्भावना पनि अलि कम छ’, उनले नेपालखबरसँग भने, ‘राति भने मध्यमसम्म वर्षा हुने र सम्भावना पनि अलि बढी देखिएको छ।’ 

काठमाडौँ उपत्यकामा बिहानै घाम चर्किएको छ। मौसमविद् अधिकारीका अनुसार आज दिउँसो काठमाडौँ उपत्यकामा बादलभन्दा घाम बढी देखिने सम्भावना छ।  

 

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

बाढीको सम्भावना?

वर्षा घटेसँगै बाढीको सम्भावना पनि कम भएको छ। 

बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँसहित ११ जिल्ला र त्यस आसपासका खोला-नदीमा आकस्मिक बाढी आउने सम्भावना छ। 

बाढी महाशाखाले भनेको छ, ‘आज रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, बैतडी डडेल्धुरा, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेकाले उक्त जिल्लाहरूका नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन अनुरोध छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad