कैलालीको धनगढीमा साउन ७ देखि अनशनरत डा गोविन्द केसीको टोलीसँग सरकारले वार्ता थालेको छ।
शनिबारै धनगढी पुगेको शिक्षा तथा खेलकुद मन्त्रालयको टोलीले आज आइतबार डा. केसीका प्रतिनिधिसँग औपचारिक संवाद सुरु गरेको हो।
जारी वार्तामा सरकारका तर्फबाट शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा तथा प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकार प्राडा जगदीश अग्रवाल सहभागी छन्।
डा. केसीका सहयोगी अमृत जैसीले नेपालखबरलाई दिएको जानकारीअनुसार अहिले वार्ता जारी छ।
वार्तामा सरकारका तर्फबाट रास्वपा सांसद पुकार बम पनि सहभागी छन् भने केसी पक्षबाट जैसी र अर्का एक जना छन्।
वार्ता सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेको कार्यकक्षमा भइरहेको हो।
डा केसी भने अनशनका कारण बिरामी परेकाले शनिबारदेखि सेती अस्पतालकै आईसीयूमा उपचाररत छन्।
यस्ता छन् डा. गोविन्द केसीका पाँचबुँदे माग-
१. स्थापित नियम र मूल्यमान्यताविपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालयलगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधानहरू शीघ्र संशोधन गरियोस्।
२. चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारबिना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गरियोस्।
३. राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गरियोस्। साथै विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गरियोस्।
४. सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार र सेवा प्राथमिकताका साथ विस्तार गरियोस्।
५. २०८२ भदौ २३ र २४ मा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीहरूलाई कडा कारबाही गरियोस् तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरियोस्।
Shares

प्रतिक्रिया