समाज


चिकित्सक कुटपिट गर्नेमाथि कारबाही नभए आन्दोलन गर्ने संघको चेतावनी

चिकित्सक कुटपिट गर्नेमाथि कारबाही नभए आन्दोलन गर्ने संघको चेतावनी

नेपालखबर
साउन १०, २०८३ आइतबार १६:४६, काठमाडौँ

नेपाल चिकित्सक संघले वीरगन्ज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकहरूलाई कुटपिट गर्नेलाई कानुनको दायरामा ल्याइ अबिलम्ब कारबाही गर्न माग गरेको छ। संघले विज्ञप्ति जारी गर्दै कारबाही नगरे कडा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएको छ। 

अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएको थियो। मृत्युपछि उनका आफन्तले चिकित्सक तथा अस्पताल प्रशासनको लापरबाहीका कारण बिरामीको ज्यान गएको आरोप लगाउँदै प्रदर्शनसहिच चिकित्सकमाथि हातपाता गरेका थिए। 

अस्पतालले घटनाका बेला उपचारमा संलग्न पाँच जना स्वास्थ्यकर्मीलाई छानबिन प्रतिवेदन नआएसम्मका लागि जिम्मेवारीबाट हटाएको छ। 
चिकित्सकको निलम्बन खारेज गर्न पनि संघले आग्रह गरेको छ। सेवामा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई गरिएको निलम्बन अविलम्ब फिर्ता लिई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ। 

संघले मुटु सम्बन्धी गम्भीर समस्या भएको विरामीको उपचारकै क्रममा मृत्यु भएको घटनाको यथार्थ नबुझी कपोकल्पिक आरोप लगाउँदै चिकित्सकमाथि मरणसन्न हुने गरी सांघातिक आक्रमण गरेको भन्दै भर्त्सना गरेको छ। 

नेपाल चिकित्सक संघ (एनएमए) नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक डा प्रमोद रामसहित अन्य चिकित्सकमाथि भएको आक्रमण, अस्पतालमा गरिएको तोडफोड तथा अवाञ्छित गतिविधिको कडा निन्दा गर्दै दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरेको छ।

संघले माग सम्बोधन नभए नारायणी अस्पतालसहित सरकारी, सामुदायिक, निजी स्वास्थ्य संस्था तथा मेडिकल कलेजमा आकस्मिक (इमर्जेन्सी) सेवासमेत पूर्ण रूपमा बहिष्कार गर्ने चेतावनी दिएको छ।

यस्तै, नारायणी अस्पतालमा आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको विषयको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार राम सहित ५ सदस्यीय समिति गठन भएको हो। 

समितिमा नारायणी अस्पतालका डा निरजकुमार सिंह, वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, मृतक पक्षका प्रतिनिधि विकास पटेल र अस्पताल प्रशासनका प्रतिनिधि सुनिलकुमार रौनियार सदस्य रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad