कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आफूलाई हटाउने निर्णय नेकपा एमालेको सचिवालय बैठकले गर्नुपर्ने बताएका छन्।
अध्यक्ष केपी शर्मा ओलीले कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने प्रयास गरेका छन्। यसप्रति कार्की ओलीसँग असन्तुष्ट छन्।
एमाले केन्द्रीय सचिवसमेत रहेका कार्कीले आफूलाई हटाउन पार्टी सचिवालय बैठकले निर्णय गर्न चुनौती दिएका हुन्।
उनलाई महासचिव शंकर पोखरेललगायत एमालेका पदाधिकारीको साथ रहेको चर्चा छ।
‘अध्यक्ष ओलीले भनेर हुँदैन, पार्टीको सचिवालय बैठकले मलाई फिर्ता बोलाउने निर्णय गर्नुपर्छ। सचिवालयको निर्णय नभई म छोड्दिनँ भन्ने उहाँको भनाइ छ। सचिवालयले जसलाई निर्णय गर्छ उही हुन्छ, यहाँ कसैले तोक आदेश दिएको भरमा हुँदैन,’ मुख्यमन्त्री कार्कीको सचिवालयका एक सदस्यले नेपालखबरसँग भने।
एमाले अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टी संयोजक प्रचण्डले शनिबार प्रदेश सरकार मिलेर चलाउने भन्दै तीनबुँदे सहमति गरेका छन्। जसअनुसार कोसी एमालेकै भागमा परे पनि ओलीले कार्की हटाउन खोजेका छन्।
पछिल्लो समय पार्टी पुनर्गठन गर्दा ओलीले राजीनामा दिनुपर्ने पक्षमा कार्की उभिएका छन्।
यही कारण रुष्ट ओलीले कार्कीलाई मुख्यमन्त्रीबाट हटाउनकै लागि कांग्रेस गठबन्धन छोडेर नेकपासँग मिलेको नेताहरू बताउँछन्।
Shares

प्रतिक्रिया