राजनीति


स्थानीय जनप्रतिनिधिसँग सभापति थापाले भने- साउन तेस्रो साता पार्टीमा सहमतिले सार्थकता पाउँछ

स्थानीय जनप्रतिनिधिसँग सभापति थापाले भने- साउन तेस्रो साता पार्टीमा सहमतिले सार्थकता पाउँछ

नेपालखबर
साउन १०, २०८३ आइतबार २०:१, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकता सहमति उन्मुख रहेको बताएका छन्।

पार्टी एकताका लागि दबाब दिन नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना नेतृत्वको कांग्रेसबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरूले आइतबार भेटवार्ता गर्दा सभापति थापाले पार्टी एकताका लागि कार्यदल बनाउने बताए।

सभापति थापाले वर्तमान चुनौती सामना गर्नका लागि पनि पार्टी एकता अपरिहार्य रहेको भन्दै एकतामा असर पर्ने कार्य नगर्न सबैसँग आग्रह गरेको दबाब अभियानका संयोजक भीम ढुंगानाले जानकारी दिए। पार्टी एकताका लागि दबाब अभियानले साउन १६ मा आयोजना गर्न लागेको राष्ट्रिय भेला समेत स्थगित गर्न थापाको आग्रह थियो।

‘हामी पार्टीभित्रको समस्या समाधानका लागि गम्भीरतापूर्वक लागेका छौँ। मतभेद र बहस चर्काउने भन्दा पनि घटाउनु पर्छ,’ सभापति थापाको भनाइ उदृत गर्दै ढुंगानाले भने, ‘तपाईंहरूको पहल राम्रो छ, तर अहिले भेला गर्ने भन्दा पनि मसिनो गरी विषयहरू टुंगो गर्नुपर्ने भएकाले साउन १६ को भेला स्थगित गर्नुस्। आवश्यक परे बरू म आफैँ बोलाउनुस् भन्छु।’

सभापति थापाले असन्तुष्ट नेताहरूसँग कार्य दलनै बनाएर सूक्ष्मरूपले सहमतिको खाका बनाउन संस्थापनइतर पक्षसँग दुई जना सदस्यको नाम मागिएको बताए।

चार सदस्यीय कार्यदल आजभोलि नै बनाउने तयारी भइरहेको थापाको भनाइ थियो। सभापति थापाले केन्द्रीय समिति बैठक धकलेर भए पनि सहमतिको प्रयास थालिएको बताए। ‘साउन तेस्रो हप्तासम्म सहमतिले सार्थकता पाउँछ,’ कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले भने।

विगत केहीदिनदेखि शीर्ष नेताहरूलाई भेटेर पार्टी एकताका लागि दबाब दिइरहेको समूहले आइतबार सभापति थापासँग एक्लै भेटेको थियो।

भेटका क्रममा स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी एकता बिना गाउँमा जनातालाई आशावादी बनाउन र पार्टीको शाख फर्काउन नसिकने बताएका थिए।

‘पार्टी एकता नभए यही परिस्थितिमा पार्टीमा रहनुको औचित्य छैन। स्थानीय तहबाट राजीनामा दिन्छौँ,’ भेटमा सहभागी शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले भने , ‘सभापतिज्यूसँग हामीले पार्टी एक नभए पदमा नहनुको औचित्य नहुने कुरा ध्यानाकर्षण गराएका छौँ।’

सभापति थापाले भने त्यस्तो अवस्था नआउने भन्दै कांग्रेस एक हुनेमा आश्वस्त तुल्याएको तिलागुफा नगरपालिकाका नगरप्रमुख शंकर उपाध्यायले जानकारी दिए।

सभापतिले अभियानको दबाबलाई सकारात्मकरूपमा लिएकाले भन्दै देशभरका जनप्रतिनिधिहरूसँग एकपटक जुम बैठक गर्ने बताएका थिए। ‘हाम्रो खबरदारी जारी रहन्छ। भेला के गर्ने भन्नेबारे साथीहरू थप छलफल गरेर निर्णय गर्छौँ,’ कागेश्वरी मनोहराका नगरप्रमुख कार्कीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad