समाज


वीरगञ्जका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा

वीरगञ्जका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
जेठ २५, २०८३ सोमबार १७:५, काठमाडौँ

पर्सास्थित वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। आज (सोमबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो।

उनीविरुद्ध गलत विवरण पेस गरी भट्टराई थर भएको महिलाकी छोरीलाई आफ्नी छोरी रुबीना श्रेष्ठ बनाई नागरिकताको प्रमाणपत्र दिलाएको भन्ने आरोप छ। 

उनीसँगै वीरगंज महानगरपालिका, वडा नं. ३ का तत्कालीन वडा सचिव भिखारी राय र तत्कालीन वडासदस्य (कावा वडाध्यक्ष) तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोख्रेल, गृह मन्त्रालयका (छानबिन समितिका संयोजक र सदस्य) तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल, सिन्धुपाल्चोक इन्द्रावती-१० की रिता भट्टराईविरुद्ध पनि मुद्दा दायर गरिएको हो।

आयोगले मेयर सिंह र रिता भट्टराईलाई मुख्य कसुरदारको सजाय माग गरेको छ। अन्यको हकमा भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिबाना मागदाबी गरिएको छ।

मेयर सिंहले अर्काको छोरीलाई आफ्नो छोरी भन्दै २०७१ कात्तिक २० गते जन्मदर्ता लिएको, त्यसैको आधारमा जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७५ साउन १३ गते रुविना श्रेष्ठको नामबाट नागरिकता लिएको देखिएको अख्तियारले जनाएको छ।

‘जन्मदर्ता प्रमाणपत्र जारी गर्दा जानी बुझी गलत लिखत तयार पार्ने, सरकारी निकाय वा सार्वजनिक संस्थाको कागजातमा अनाधिकार एवं गैरकानुनी तरिकाले सच्याउने, केरमेट गर्ने, थपघट गरी हेरफेर गर्ने गराउने र कागजात लुकाउने, नोक्सान पुर्‍याउने एवं नष्ट गर्ने गराउने कार्य गरेको देखिएको’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

गैरकानुनी तवरबाट नागरिकता प्रमाणपत्रको विषयमा छानबिनका लागि सरकारले गृह मन्त्रालयका तत्कालीन उपसचिव रानालाई संयोजक र तत्कालीन शाखा अधिकृत पोखरेललाई सदस्य बनाएर समिति गठन गरेको थियो। सो समितिले कसुरको गम्भीरताको विषयलाई पूरै ढाकछोप गरी गलत बेहोराको प्रतिवेदन तयार गरेको भन्दै अख्तियारले उनीहरूलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad