कारोबार


मन्त्री कुलमान घिसिङले गरे निर्माणाधीन कोसी अस्पताल भवनको निरीक्षण

मन्त्री कुलमान घिसिङले गरे निर्माणाधीन कोसी अस्पताल भवनको निरीक्षण

नेपालखबर
मंसिर १४, २०८२ आइतबार १५:२७, विराटनगर

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले कोशी अस्पतालको निर्माणाधीन भवनको निरीक्षण गरेका छन्।

सहरी विकास मन्त्रालय मातहतको संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय मोरङमार्फत ७५९ शैयाको दुईवटा भवन निर्माणाधीन छन् ।

मन्त्री घिसिङले निर्माणाधीन भवनको स्थलगत निरीक्षण गरी आयोजना व्यवस्थापन, अस्पताल प्रशासन र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अस्पतालको भौतिक संरचना निर्माण प्रगति अपेक्षाकृत हुन नसकेकाले जनशक्ति थप गरी तीन सिफ्टमा काम गर्न र गुणस्तरमा विशेष ध्यान दिन सम्बन्धित पक्षलाई घिसिङले निर्देशन दिए।

उनले निर्माण कार्यको नियमित अनुगमन गर्ने र काममा लापरबाही गरेको फेला परेमा जिम्मेबार सबैलाई कारबाही गर्नेसमेत चेतावनी दिए। अस्पताल प्रशासनकातर्फबाट भवन तयार नहुँदा स्वास्थ्य सेवा प्रवाह गर्न कठिनाइ भइरहेकाले निर्माणमा विशेष ध्यान दिन मन्त्रीसमक्ष अनुरोध गरिएको थियो ।

कोशी अस्पतालको ५०० शैयाको मेडिकल भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत रहेको छ । उक्त भवन निर्माणका लागि पुस २०७९मा २ अर्ब ४६ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी भएको ठेक्का सम्झौताको म्याद आगामी १२ पुसमा सकिंदैछ । निर्माण व्यवसायीलाई ७४ करोड ९८ लाख रुपैयाँ भुक्तानी भएको छ ।

यसैगरी, इसियु, सर्जिकल, न्यूरो सेवा उपलब्ध गराउन २५९ शैयाको भवन निर्माणका लागि असार २०७८मा रमण—भूमि—विआइपिएल जेभिसँग ठेक्का सम्झौता भएको थियो ।

भवन निर्माणको भौतिक प्रगति ५० प्रतिशत छ । म्याद थपसहित सम्झौताको म्याद गत कात्तिकमै सकिएको छ । निर्माण व्यवसायीले ठेक्का समझौताको म्याद थप गर्न निवेदन पेश गरेको छ । ठेक्का सम्झौता रकम ३८ करोड ८७ लाख रुपैयाँ रहेको छ । निर्माण व्यवसायीलाई १६ करोड ३१ लाख भुक्तानी भएको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad