कारोबार


नारायणगढ–गैँडाकोट जोड्ने आइकोनिक पुल निर्माण सुरु

नारायणगढ–गैँडाकोट जोड्ने आइकोनिक पुल निर्माण सुरु

नेपालखबर
मंसिर १५, २०८२ सोमबार १९:३८, नारायणगढ

मुलुकको पूर्वपश्चिम जोड्ने प्रमुख व्यापारिक नाका नारायणगढस्थित नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माण सुरु भएको छ। चितवनको नारायणगढ र नवलपुरको गैँडाकोट जोड्ने हालको पुलसँगै नयाँ पुल निर्माण सुरु गरिएको हो। 

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर नारायणप्रसाद लामिछानेका अनुसार निर्माणाधीन पुलको काम निरन्तर अघि बढिरहेको छ। पुलको निर्माण डिजाइन एण्ड बिल्ड प्रणालीअन्तर्गत भइरहेको छ। 

निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिले एक महिनादेखि फिल्डमा काम सुरु गरिसकेको छ। विसं २०८० जेठ १९ गते ठेक्का सम्झौतापछि निर्माण कम्पनीले पुलको अन्तिम डिजाइन तयार गरी प्रमाणीकरण गराइसकेको प्रमुख लामिछानेले बताए।

उनले भने, ‘निर्माण व्यवसायीले समयमै डिजाइन पूरा गरी प्रमाणीकरण पनि भइसकेको छ, सोही आधारमा अहिले जग खन्ने र फाउन्डेसन निर्माण अघि बढाइएको छ।’ 

लामिछानेका अनुसार यो पुल केबल–स्टेड शैलीको आधुनिक संरचना हो। पुलको मुख्य टावरबाट तानिएका ठूला स्टिल केबलहरूले पुललाई थाम्ने भएकाले यो संरचना बलियो, सुरक्षित, सौन्दर्यपूर्ण र पहिचानमूलक हुने बताइएको छ। हाल नदीमा डाइभर्सन निर्माण गरी पुलको फाउन्डेसन निर्माण गर्नुपर्ने स्थानहरूमा आवश्यक स्पेस तयार गर्ने काम भइरहेको छ। 
 
उक्त आयोजनाका व्यवस्थापक मञ्जिल मिश्रका अनुसार बर्खा सुरु हुनुअघि नै फाउण्डेसनको काम सक्नेगरी काम भइरहेको छ। प्रारम्भिक चरणमा टेस्ट पाइल पनि अघि बढिरहेको छ।

चालु आर्थिक वर्षभित्र फाउन्डेसन तथा पाइलिङ सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पुल निर्माणको अवधि चार वर्ष भए पनि हाल डेढ वर्ष जति समय बाँकी छ। हाल निर्माणको म्याद थपको प्रक्रिया पनि अघि बढिसकेको जानकारी उनले दिए।

इन्जिनियर मिश्रका अनुसार ‘सिग्नेचर’ पुलमा नदीतर्फ दुई र दायाँबायाँ गरी चारवटा पिलर रहनेछन्। नारायणगढतर्फ दुई महिनाभित्र पाइलिङ सकेर गैँडाकोटतर्फ अर्को महिनादेखि सुरु गरिने छ। यस वर्ष फाउन्डेसन तथा केही सब–स्ट्रक्चरका कामहरू सुरु गरिने मिश्रको भनाइ छ। 

सडक विभागले पुल निर्माणका लागि सन् २०२३ मा ठेक्का लगाएको थियो। नारायणी नदीमा रहेको अहिलेको पुलको समानान्तर निर्माण गरिँदै गरेको नयाँ पुलको लम्बाइ ४२० मिटर र चौडाइ १२ मिटर हुनेछ। 

आइकोनिक केबल–स्टेड  पुलअन्तर्गत आर्चब्रिज, केबल नेटवर्किङ आर्च, सस्पेन्सनलगायतका संरचनात्मक प्रविधिहरू समावेश हुनेछन्। पुल रु एक अर्ब ६८ करोड लागतमा निर्माण हुनेछ। नयाँ पुलको आयु कम्तीमा १०० वर्ष रहने बताइएको छ। हाल रहेको पुल विसं २०३८ मा निर्माण भएको हो र यसको आयु ७० वर्ष तोकिएको थियो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad