कारोबार


सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर बाँड्दै साना किसान विकास लघुवित्त

सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर बाँड्दै साना किसान विकास लघुवित्त

नेपालखबर
पुस २७, २०८२ आइतबार १२:५०, काठमाडौँ

साना किसान विकास वित्तीय संस्था लिमिटेडले १४.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेकाे छ। शुक्रबार काठमाडौँमा सम्पन्न संस्थाकाे २४ औँ वार्षिक साधारणसभाले सो निर्णय गरेको हो। 

२४औं वार्षिक साधारण सभामा सेयरधनीहरुलाई लगानीको प्रतिफल स्वरुप बोनस सेयर १४.२५ प्रतिशत र कर प्रयोजनका लागि नगद लाभांश ०.७५ प्रतिशत उपलब्ध गराउने प्रस्ताव पारित भएको हो।

यस वित्तीय संस्थामा देशका ७७ जिल्लाका ५४६ स्थानीय तहहरुमा १ हजार ४ सय ६३ साझेदार संस्था आबद्ध रहेका छन्। आबद्ध सहकारी संस्थाहरूले ८८ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ बराबरको आन्तरिक पुँजी निर्माण गरी परिचालन गरेका छन्।

वित्तीय संस्थाले आ.व २०८१/८२ को अन्त्यसम्ममा कुल ९ लाख ४१ हजार ७३१ साना किसान परिवारलाई लघुवित्त सेवा पुऱ्याउन सफल भएको छ। जसमध्ये दलित १०.९२ प्रतिशत, जनजाति ४२.२१ प्रतिशत र अन्यको ४६.८७ प्रतिशत रहेकोमा महिला सहभागिता ८२ प्रतिशत रहेको संस्थाको दाबी छ।

आ.व २०८१/८२ मा यस वित्तीय संस्थाको जारी र चुक्ता पुँजी ४ अर्ब ३१ करोड २६ लाख २१ हजार रुपैयाँ, कुल सम्पत्ति ४१ अर्ब ५० करोड ४९ लाख ७३ हजार रुपैयाँ पुगेको संस्थाले जनाएको छ। प्रतिसेयर आम्दानी २०.२९, प्रति सेयर बुक नेटवर्थ २३९.३८ रुपैयाँ, जम्मा पुँजीमा प्रतिफल ८.४८ प्रतिशत, मूल्य आम्दानी अनुपात ४३.४० र कुल पुँजी कोष १६.०२ प्रतिशत रहेको प्रमुख कार्यकारी अधिकृत बाशु अधिकारीले जानकारी दिए। उनले वित्तीय संस्थाले आफूसँग आबद्ध संस्थाहरुलाई २०८२ असारसम्म २३ अर्ब १ करोड ८४ लाख लगानी र २४ अर्ब ८४ करोड ८५ लाख ऋण असुल गरेको छ भने लगानीमा रही रहेको ऋण ३५ अर्ब ९० करोड ७३ लाख रुपैयाँ रहेको बताए।

यस वित्तीय संस्थाले नेपाल सरकारको ऋण सहयोगमा १५ वर्ष अघिदेखि सहुलियतपूर्ण पशुपालन तथा तरकारी खेती कर्जा कार्यक्रम सञ्चालन गर्दै आएको छ। जसअन्तर्गत २०८१/८२ को अन्त्यसम्म कुल १ लाख ६९ हजार ५०० किसानहरुलाई १८ अर्ब ३८ करोड रुपैयाँ मासु तथा दुग्धजन्य पशुपालन र १७ हजार ५०० किसानहरुलाई २ अर्ब २२ करोड ६० लाख रुपैयाँ तरकारी खेती कर्जा लगानी गर्ने लक्ष्य राखेको थियो। जसमा २ लाख ८५ हजार ३ सय ७२ जना किसानलाई ४३ अर्ब ८० करोड ९२ लाख पशुपालन कर्जा र १८ हजार १ सय २ जना साना किसानलाई ३ अर्ब ९ करोड ५२ लाख रुपैयाँ तरकारी खेती कर्जा प्रवाह भएको छ।

सो रकमबाट किसानहरुले बाख्रा, बङ्गुर, पाडापाडी, भैंसी र गाईजस्ता १७ लाख ७९ हजार ७० पशुवस्तु पालन र १० हजार बिघाभन्दा बढी क्षेत्रफलमा तरकारी खेती गरेको कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए। यस कार्यक्रमका माध्यमबाट वार्षिक रुपमा झण्डै ७ अर्बको हाराहारीमा र हालसम्म ७३ अर्ब भन्दाबढीको मासु तथा दुग्धजन्य पदार्थ र तरकारीको उत्पादन भएको उनकाे भनाइ छ। 

आर्थिक वर्ष २०७७/७८ देखि बागमती प्रदेश सरकारको ऋण सहयोगमा उत्पादन तथा रोजगारीका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम पनि सञ्चालनमा ल्याएको अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad