कारोबार


निजी क्षेत्रको आवाजः लगानीमैत्री वातावरणका लागि निर्वाचन र स्थिर सरकार

निजी क्षेत्रको आवाजः लगानीमैत्री वातावरणका लागि निर्वाचन र स्थिर सरकार

नेपालखबर
माघ १४, २०८२ बुधबार १०:५, काठमाडौँ

निजी क्षेत्रका प्रतिनिधिहरूले मुलुकमा लगानीमैत्री वातावरण र आर्थिक स्थायित्वका लागि निष्पक्ष निर्वाचन र स्थिर सरकार अपरिहार्य रहेको बताएका छन्। निर्वाचन आयोगले आयोजना गरेको 'निर्वाचन आचारसंहिता कार्यान्वयन' सम्बन्धी छलफलमा उनीहरूले नीतिगत स्पष्टताका लागि राजनीतिक स्थायित्व हुनुपर्नेमा जोड दिएका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्र सधैँ नीतिगत स्पष्टता र राजनीतिक स्थायित्वको पर्खाइमा रहेको उल्लेख गर्दै निर्वाचनपछि बन्ने स्थिर सरकारले मात्रै लगानीको वातावरण बनाउन सक्ने धारणा राखे। 'उम्मेदवारको खर्च विवरण बैंकिङ प्रणालीबाट देखाउनुपर्ने व्यवस्था सकारात्मक छ,' श्रेष्ठले भने, 'महासंघले आफ्ना सबै शाखामार्फत आचारसंहिता पालना र मतदाता शिक्षामा आयोगलाई सघाउनेछ।'

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले आचारसंहिताको उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्न माग गरे। उनले भने, 'आचारसंहिता कागजमा मात्र सीमित हुनुभएन, अनुगमनमा कडाइ गरी उल्लंघनकर्तामाथि तत्काल एक्सन लिनुपर्छ।'

छलफलमा होटल संघ नेपालका अध्यक्ष विनायक शाह र टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईले निर्वाचनका बेला पर्यटकको आवागमन र व्यवस्थापनमा सहजीकरण गरिदिन आयोगको ध्यानाकर्षण गराए। साल्ट ट्रेडिङकी महाप्रबन्धक उर्मिला श्रेष्ठले भने निर्वाचनका नाममा हुने ध्वनि प्रदूषण र राष्ट्रिय झण्डाको जथाभावी प्रयोग रोक्न आग्रह गरिन्।

व्यवसायीहरूको सुझावपछि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले 'जेनजी' आन्दोलनपछिको असहज परिस्थितिलाई सामान्यीकरण गर्न र मुलुकलाई लयमा फर्काउन निर्वाचन नै एकमात्र विकल्प भएको बताए। 'अहिलेको अवस्थामा मुलुकलाई गति दिन निर्वाचन आवश्यक छ, यसका लागि निजी क्षेत्रको पनि उत्तिकै सहयोग चाहिन्छ,' भण्डारीले भने।

उनले निर्वाचनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीतिअनुसार ३७ प्रकारका सामग्री स्थानीय स्तरकै प्रयोग भइरहेको जानकारी दिए। आयोगले यसपटक ६ करोड ७५ लाख रुपैयाँको मात्र नयाँ सामग्री खरिद गरी बाँकी पुराना सामग्रीलाई नै पुनः प्रयोग गरेर मितव्ययिता अपनाएको उनको दाबी थियो।

छलफलमा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह, रेष्टुरेन्ट तथा बार एसोसिएसनका अध्यक्ष संघर्ष विष्ट र नेपाल उद्योग परिसंघका महानिर्देशक घनश्याम ओझाले आचारसंहिता कार्यान्वयनमा जिल्ला तहसम्मै सघाउने प्रतिबद्धता जनाए। महिला उद्यमी महासंघकी मल्लिका श्रेष्ठले निर्वाचनमा महिला उद्यमीका उत्पादन प्रयोग गर्न र महिला लक्षित चेतनामूलक कार्यक्रम सञ्चालन गर्न सुझाव दिएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad