आज सुनचाँदीकै मूल्यमा व्यापक गिरावट आएको छ।
हरेक दिन महँगो मूल्यको कीर्तिमान बनाउँदै आएको सुनचाँदीको भाउ आज अहिलेसम्मकै उच्चदरमा घटेको हो।
आज सुनको भाउ तोलाको २० हजार पाँचसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मूल्य घटेर आज सुन तोलाको तीन लाख १८ हजार आठसय रुपैयाँमा झरेको छ।
हिजो सुनको मूल्य तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। सुनको यो भाउ हालसम्मकै सबैभन्दा महँगो हो।
हिजो जति बढेको थियो, आज सुनको मूल्यमा त्यति नै गिरावट आएको हो।
बुधबार सुनको भाउ प्रतितोला नौहजार पाँचसय रुपैयाँ बढेर तीन लाख १८ हजार आठसय रुपैयाँ पुगेको थियो।
गएको एक सातामा सुनको भाउ तोलामा ५७ हजार पाँचसय रुपैयाँ बढेर आज घटेको हो।
सुनको भाउ गएको मंगलबार तोलामा तीनसय रुपैयाँ बढेर तीन लाख नौ हजार तीनसय रुपैयाँ पुगेको थियो।
गएको सोमबार तोलामा पाँचहजार दुईसय बढेको सुनको भाउ आइतबार तोलामा दुई हजार चारसय र गएको शुक्रबार तोलामा नौहजार दुई सय रुपैयाँ बढेको थियो।
अघिल्लो साताको बुधबार एकैदिनमा १० हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार तोलामा २९ सय घटेको थियो। त्यसयता लगातार बढेको सुनको मूल्यमा आज व्यापक मात्रामा गिरावट आएको हो।
आज चाँदीको भाउमा पनि व्यापक मात्रामा गिरावट आएको छ।
तोलामा ४४० रुपैयाँ घटेर चाँदीको भाउ आज सात हजार ६५ रुपैयाँमा झरेको छ। हिजो चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। यो चाँदीकाे अहिलेसम्मकै उच्च मूल्य हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५३७ र चाँदी ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Shares

प्रतिक्रिया