इस्ट्यानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज जीपीडब्लुएस वार्निङका कारण काठमाडौं अवतरण नगरी बंगलादेशको ढाका जानुपरेको थाहा भएको छ।
त्रिभुवन विमानस्थलका अनुसार ढाका गएको जहाज प्राविधिक परीक्षणपछि पुनः काठमाडौंमा फर्किएको हो।
विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतले कहिलेकाहीँ डाँडा, रुख नजिक आएको अलर्ट गराउने र इरर देखाउने बताए। टर्किस एयरलाइन्सका टीके७२६ कलसाइनको जहाजमा पनि आज त्यस्तो देखिएपछि थप प्रिपरेसनका लागि जहाज ढाका गएको उनको भनाइ छ।
उनका अनुसार त्यहाँ प्राविधिक परीक्षणपछि नर्मल देखिएपछि जहाज काठमाडौंमै फर्किएको हो।
‘जीपीडब्लुएस वार्निङ साइन हुन्छ। कहिलेकाही डाँडा, रुख नजिक आयो भने अलर्ट देखाउँछ’, उनले भने, ‘टर्किस (जहाज)मा त्यही भएको हो। थप प्रिपरेसन र प्रिकसनका लागि ढाका गएर नर्मल चेकपछि जहाज काठमाडौंमै फर्किएको छ।’
जीपीडब्लुएस अर्थात् ग्राउन्ड प्रोक्सिमिटी वार्निङ सिस्टम भनेको जहाजको महत्त्वपूर्ण सुरक्षा प्रणाली हो। जसले पाइलटलाई जहाज कुनै वस्तुको नजिक पुगेको आशंकामा अडियो र भिडिओबाट अलर्ट गराउँछ। यसले राडार अल्टिमिटर, जीपीएस र टेरेन डेटाबेस प्रयोगद्वारा असुरक्षित उडान मार्गहरु पत्ता लगाई सम्भावित दुर्घटना (कन्ट्रोल्ड फ्लाइट इनटु टेरेन–सीएफआईटी) बाट जोगाउन मद्दत गर्छ।

Shares

प्रतिक्रिया