कारोबार


स्थिर सरकारले स्थायी नीति लिनुपर्छ, लगानीलाई प्रोत्साहन गर्नुपर्छः चन्द्र ढकाल

स्थिर सरकारले स्थायी नीति लिनुपर्छ, लगानीलाई प्रोत्साहन गर्नुपर्छः चन्द्र ढकाल

नेपालखबर
फागुन २८, २०८२ बिहिबार १५:१५, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनसँगै बन्न लागेको नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्ने बताएका छन्।

बिहीबारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको फार्मा एक्स्पोलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रले लामो समयदेखि स्थिर सरकारको आवश्यकता औँल्याउँदै आएको बताउँदै त्यो पूरा हुन लागेको बताएका हुन्।

उनकाअनुसार स्थिर सरकारले स्थायी नीति ल्याएर आर्थिक गतिविधि बढाउन सक्छ। अहिले करिब दुई तिहाई बहुमत नजिकको सरकार बन्न लागेको भन्दै ढकालले निजी क्षेत्रसँग सम्बन्धित विषयहरू रास्वपाको वाचापत्रमा पनि समावेश गरिएको स्मरण गराए। 

उनले रास्वपाले वाचापत्रमार्फत निजी क्षेत्रमैत्री प्रतिवद्धताहरू व्यक्त गरेको उल्लेख गर्दै ती प्रतिवद्धताहरू इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्ने स्पष्ट पारे। ढकालकाअनुसार ती प्रतिबद्धताहरू प्रभावकारी रूपमा लागू भएमा छोटो समयमा नै धेरै काम गर्न सम्भव हुनेछ। बाह्य तथा आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने खालका नीतिहरू अबको सरकारले लिनुपर्ने समेत उनले बताए। 

‘एउटा स्थायी सरकार चहियो जुन सरकारले स्थिर नीति ल्याउन सकोस् भन्ने निजी क्षेत्रले धेरै पहिलैदेखि उठाउँदै आएको विषय थियो। अहिले करिब करिब दुई तिहाईको सरकार आएको छ। निजी क्षेत्रका इस्युहरूलाई रास्वपाको वाचापत्रमा पनि उल्लेख गरिएको छ। निजीक्षेत्र मैत्री प्रतिवद्धताहरू रास्वपाले वाचापत्रमा गरेको छ। अब ती प्रतिवद्धताहरू इमानदारीपूर्वक लागू हुनुपर्छ। ती प्रतिवद्धताहरू लागू भयो भने छोटो समयमा धेरै काम गर्न सकिन्छ। आगामी दिनमा नीतिहरू बनाउँदा स्थायी नीतिहरू बनाउनुपर्छ। बाह्य र आन्तरिक लगानीलाई प्रोत्साहन गर्नेका खालका नीतिहरू बनाउनुपर्छ।’  

अध्यक्ष ढकालले कतिपय भूतप्रभावी कानुनका कारण लगानीकर्तामा निराशा आइरहेको बताउँदै त्यस्ता कानुन लागू नहुने सुनिश्चितता राज्यले गर्नुपर्ने बताए।

ढकालकाअनुसार भूतप्रभावी कानून लागू नहुने सुनिश्चितता भएमा मुलुकमा छिट्टै आर्थिक गतिविधि बढाउन सकिन्छ र आन्तरिक रोजगारी सिर्जना गर्न पनि मद्दत पुग्छ।

आर्थिक गतिविधि बढेसँगै राजश्व संकलन पनि बढ्ने र त्यसबाट पूर्वाधार निर्माणमा समेत सहयोग पुग्नेछ। आर्थिक गतिविधि विस्तार हुँदा छोटो समयमा नै आम नेपालीको चाहना पूरा गर्न सकिने विश्वास समेत उनले व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad