खाना पकाउने (एलपी) ग्यास बिक्रेता संघ कास्कीले ७.१ किलोग्रामको ग्यासमात्र बजारमा पठाउने नेपाल आयल निगमको निर्णयको विरोध गरेको छ । निर्णय अव्यवहारिक भएको भन्दै उनीहरूले सच्याउन माग पनि गरिएको छ।
विज्ञप्तिका अनुसार कास्कीमा ग्यास उत्पादन गर्ने दुईवटा कम्पनीमात्र रहेका छन्। ती कम्पनीको उत्पादनलेमात्र बजारको माग पूरा गर्दैन । लागत बढ्दा बाहिरका कम्पनीहरुले आपूर्ति गर्न समस्या उत्पन्न हुन्छ।
विज्ञप्तिमा भनिएको छ,‘सिलिण्डर आधा भरिएको होस् वा १४.२ किलोग्राम नै किन नहोस्, ढुवानी र लोड–अनलोडमा लाग्ने खर्च उत्ति नै हुन्छ । आधा भरिएको ग्यास बजारमा पठाउँदा कम्पनीको उत्पादन लागत स्वतः बढ्छ । लागत बढ्दा भौगोलिक रुपले टाढा रहेका क्षेत्रमा कम्पनीहरुले ग्यासको आपूर्ति गर्दा थप घाटा व्यहोर्नुपर्छ ।’
लोड–अपलोडमा हुने खर्चको भार व्यवसायीको काँधमा आउने उल्लेख गर्दै विज्ञप्तीमा व्यवशायीले त्यस्तो घाटा धान्न नसक्ने बताइएको छ ।
संघले आधा भरिएको सिलिण्डर बजारमा पठाउने निर्णय तत्काल सच्याउँदै पूर्ण तौलको सिलिण्डर बजारमा पठाउन,आपूर्ति प्रणालीलाई चुस्त तुल्याउन र संकटकै बीचमा पनि वैकल्पिक माध्यमबाट देशमा थप इन्धन आपूर्तिको पहलकदमी गर्न सरकारसँग माग पनि गरेको छ ।
संघले नेपालले इन्धन संकट व्यहोरेको यो पहिलोपटक नभएको स्मरण गर्दै भण्डारण क्षमता बृद्धिको लागि सरकारको ध्यानाकर्षणमात्र गराएको छैन, उपभोक्तालाई बढी ग्यास भण्डारण नगर्न आग्रह पनि गरेको छ।
Shares

प्रतिक्रिया