कारोबार


चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १९ हजार कुखुरा नष्ट

चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १९ हजार कुखुरा नष्ट

फाइल तस्बिर


नेपालखबर
चैत १७, २०८२ मंगलबार ५:४०, चितवन

चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ। 

भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नजिकैको एक लोकल कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको हो।

पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेका अनुसार देशको पूर्वी क्षेत्रमा देखिएको बर्डफ्लु हाल चितवनमा पनि पुष्टि भएको छ। उनले यस रोगले व्यावसायिक रूपमा पालिएका कुखुरामा प्रभाव पारेको र अन्य चराचुरुङ्गीमा समेत सङ्क्रमण फैलन सक्ने बताए।

उनका अनुसार भाइरसजन्य रोग भएकाले यसको नियन्त्रणका लागि जैविक सुरक्षा अपनाउनु अत्यन्त आवश्यक छ। घरमा वा व्यावसायिक रूपमा पालिएका हाँस तथा कुखुराको नियमित स्वास्थ्य परीक्षण, फार्मको सरसफाइ तथा आवतजावत नियन्त्रणमा विशेष ध्यान दिन किसानलाई उनले आग्रह गरे।

बर्डफ्लु देखिएको स्थानमा सङ्क्रमण नियन्त्रणका लागि करिब १८ हजार लेयर्स कुखुरा नष्ट गरिएको छ भने नजिकैको अर्को फार्ममा करिब ९०० लोकल कुखुरा नष्ट गरिएको उनले जानकारी दिए। 

उनले भने, ‘चितवनमा २०७८ सालपछि बर्डफ्लु यस वर्ष पहिलोपटक देखिएको हो र हालसम्म अन्यत्र फैलिएको छैन।’ अघिल्लो पटक २०७८ सालमा बर्डफ्लु फैलँदा जिल्लामा करिब आठ लाख कुखुरा नष्ट गरिएको थियो।

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख डा‍.विजयकुमार श्रेष्ठका अनुसार हालसम्म अन्य स्थानमा बर्डफ्लु पुष्टि नभए पनि जिल्लामा जोखिम भने कायम छ। उनले रोग विभिन्न माध्यमबाट सजिलै सर्न सक्ने भएकाले यसको न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन आग्रह गरे।

फार्महरूबीच सामग्री तथा अन्य वस्तुको ओसारपसार गर्दा विशेष सावधानी अपनाउन तथा किसानहरू सचेत रहन आवश्यक रहेको उनको भनाइ छ। 

उनले भने, ‘हाम्रो कुखुरापालन क्षेत्रको अवस्था नेटवर्किङजस्तै रहेको छ। एउटै सवारी साधनले विभिन्न फार्ममा अण्डा सङ्कलन तथा दाना आपूर्ति गर्ने गर्छ । यसरी सङ्कलन र आपूर्ति गर्ने क्रममा सङ्क्रमित फार्मबाट स्वस्थ फार्ममा जाँदा भाइरस सर्नसक्ने जोखिम रहन्छ।’

जिल्लामा गत आर्थिक वर्षको तथ्याङ्कअनुसार करिब एक करोड आठ लाख कुखुरा रहेको पशु सेवा कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad