इरान र इजरायलबीच बढ्दो तनावले विश्वका विभिन्न उद्योगहरूलाई प्रभावित बनाइरहेका बेला यसको सिधा असर कन्डोम उद्योगमा पनि देखिन थालेको छ। कच्चा पदार्थको आपूर्तिमा आएको अवरोधका कारण भारतमा कन्डोमको मूल्य बढ्ने र उपलब्धतामा कमी आउने संकेत देखिएको हो।
विशेषगरी कन्डोम उत्पादनमा प्रयोग हुने पेट्रो–केमिकल उत्पादन, अमोनिया र सिलिकन आयलको आपूर्ति चेन बिग्रिएपछि मूल्य वृद्धिको जोखिम बढेको हो।
कन्डोम बनाउँदा लेटेक्सलाई स्थिर राख्न र प्रोटिन हटाउन अमोनियाको प्रयोग गरिन्छ। कन्डोममा लुब्रिकेन्टका रूपमा सिलिकन आयलको लेप लगाइन्छ। उद्योग सम्बद्ध व्यक्तिअनुसार अमोनियाको मूल्य ४० देखि ५० प्रतिशतसम्म बढ्ने संकेत देखिएको छ। यसले गर्दा सिलिकन आयलको मूल्य पनि स्वतः बढ्नेछ।
नाम नबताउने सर्तमा एक उद्योग अधिकारीले बीबीसी हिन्दीसँग भनेका छन्, 'कसैले पनि यो उद्योगमा समस्या आउला भनेर सोचेका थिएनन्। कन्डोम अब 'लाइफस्टाइल प्रोडक्ट' बनिसकेको छ, त्यसैले यसको व्यापारमा हुने फेरबदलले आम मानिसलाई प्रत्यक्ष असर पार्छ।'
ढुवानीमा समस्या र अन्तर्राष्ट्रिय प्रभाव
युद्धका कारण वितरण र ढुवानीमा ठूलो समस्या देखिएको छ। होर्मुज जलमार्गमा ठूला जहाजको आवागमन रोकिएपछि र इरान–इजरायल तनावका कारण हवाई क्षेत्रमा प्रतिबन्ध लागेपछि ढुवानी महँगो र ढिलो भइरहेको छ।
'केप अफ गुड होप'को वैकल्पिक बाटो प्रयोग गर्दा जहाजहरूलाई गन्तव्यमा पुग्न थप १५ देखि २० दिन लागिरहेको छ। महाराष्ट्रस्थित क्युपिड लिमिटेडका सिनियर जनरल म्यानेजर आर. बाबु भन्छन्, 'सिलिकन आयल र आल्मुनियम फोइलको मूल्य नियन्त्रण बाहिर छ। हामीले उत्पादनको ८० प्रतिशत हिस्सा रुस, दक्षिण अफ्रिका र युरोपमा निर्यात गर्छौँ तर अहिले जहाज पाउनै मुस्किल छ।' उनले थपे, 'उत्पादन लागत बढे पनि हामीले तुरुन्तै बिक्रेता (भेन्डर) हरूसँग मूल्य बढाउन सक्दैनौँ, जुन हाम्रा लागि ठूलो चुनौती हो।'
स्वास्थ्य क्षेत्रमा पर्न सक्छ गम्भीर असर
उनका अनुसार भारतमा अहिले पनि विवाहित जोडीमध्ये ९ प्रतिशतले कन्डोमलाई परिवार नियोजनको मुख्य साधनका रूपमा प्रयोग गर्छन्। 'यदि मूल्य बढ्यो वा उपलब्धतामा अवरोध आयो भने विशेषगरी युवा र न्यून आय भएका समूहमा यसको प्रयोग घट्नेछ। यसले अनिश्चित गर्भधारणको जोखिम मात्र बढाउँदैन, महिलाहरूमाथि गर्भधारणको असमान बोझ पनि थपिदिनेछ,' मुत्रेजाले चेतावनी दिइन्।
औषधि उद्योगमा पनि दवाब
कन्डोम मात्र होइन, यो संकटको छायाँ औषधि उद्योगमा पनि देखिएको छ। इन्डियन ड्रग म्यानुफ्याक्चरर्स एसोसिएसन (आईडीएमए) का प्रवक्ता विरन्ची शाह भन्छन्, 'निर्यातका लागि जहाज र हवाई कार्गोको उपलब्धता गम्भीर समस्या बनेको छ। ट्रान्सपोर्टको फ्रिक्वेन्सी घटेकाले लागत बढेको छ।'
अहिले उद्योगी र स्वास्थ्य क्षेत्रका विज्ञहरू एउटै कुरामा सहमत छन्— पश्चिम एशियाको यो तनाव जति सक्दो चाँडो साम्य भयो, विश्व अर्थतन्त्र र जनस्वास्थ्यका लागि त्यति नै हितकर हुनेछ।
Shares

प्रतिक्रिया