कारोबार


बालेन सरकार बनेसँगै चर्चामा हेटौँडा कपडा उद्योग, ब्युँताउन कति सहज?

बालेन सरकार बनेसँगै चर्चामा हेटौँडा कपडा उद्योग, ब्युँताउन कति सहज?

हेटौँडा कपडा उद्योगको जीर्ण भवन। सबै तस्बिर: सुनिता विष्ट/नेपालखबर


सुनिता विष्ट
चैत २०, २०८२ शुक्रबार १३:३०, हेटौंडा

प्रहरी प्रधान कार्यालयमा चैत १७ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री सुधन गुरुङले प्रहरी पोशाक नेपालमै उत्पादन गर्नेगरी उद्योग सञ्चालन गरिने बताए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले रुग्ण उद्योग सञ्चालन गर्ने निर्णय गर्दैगर्दा नेपालमै प्रहरी पोशाक उत्पादन गर्न उद्योग बनाइने गृहमन्त्री गुरुङको भनाइले हेटौँडाबासीमा पनि उत्साह थपिएको छ। 

के हेटौँडा कपडा उद्योग सञ्चालनमा आउँला त? धेरैले जिज्ञाशा राख्न थालेका छन्। कपितयले त हेटौँडा कपडा उद्योग ब्युतिने आशा पनि जनाइरहेका छन्। 

तर, हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउन त्यति सहज देखिदैन। हेटौँडा औद्योगिक क्षेत्रको १९२ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगका भवनहरू जीर्ण भइसकेका छन्। पुराना भवनमा उद्योग सञ्चालन गर्न सजिलो नहुने सरोकारवालाहरू बताउँछन्। 

हुन पनि, इतिहास बोकेको हेटौँडा कपडा उद्योग बन्द भएको २५ वर्ष भइसकेको छ। सरकारले २०५७ माघ १८ गते उद्योग बन्द गर्ने निर्णय गरेको थियो। २०३५ माघ ५ बाट सञ्चालनमा आएको उद्योग लगभग २२ वर्ष चलेको थियो। उद्योग चलेको समयभन्दा बन्द भएको समय धेरै भइसकेको छ। 

अहिले पनि उद्योगका केही भवनमा पानी जमेर आहाल बनेको छ। विद्युतीय प्रणाली ध्वस्त बनेको छ। मेसिनमा धागो कुहिएर बसेका छन्। मेसिनमा अड्किएका कपडा त्यहीँ सडेका छन्।

बाहिरबाट हेर्दा उद्योग क्षेत्र खण्डहर देखिन्छ। उद्योग परिसरमा सशस्त्र प्रहरीको गण स्थापना गरिँदा सरसफाइमा केही सुधार देखिए पनि भवन दिनानुदिन जीर्ण बन्दै गएका छन्। 

हरेक वर्षको बजेटमा ‘बागमती प्रदेशको राजधानी हेटौँडा-८ स्थित हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको बन्द उद्योगलाई सञ्चालन गरिनेछ’ भनेर घोषणा गरिँदै आएको छ। तर, उद्योगले अहिलेसम्म पुनर्जीवन पाएको छैन। आगामी वर्षको बजेटमा सरकारले हेटौँडा कपडा उद्योगलाई प्राथमिकतामा राख्न जरुरी रहेको मकवानपुरका इतिहासकार केदारप्रसाद न्यौपाने बताउँछन्। 

हेटौँडालाई देश विदेशमा चिनाउनेदेखि मकवानपुरका हजारौँ नागरिकलाई रोजगार प्रदान गरेको उद्योग सञ्चालनमा ल्याउन सके देशकै लागि हित हुने न्यौपानेको भनाइ छ। ‘त्यो बेला धेरैको घर त्यही उद्योगले धानेको थियो,’ न्यौपाने भन्छन्, ‘उद्योग बन्द गर्नै हुँदैनथ्यो। हेटौँडा कपडा उद्योग पनि राजनीतिको सिकार बन्यो। यो सहित देशभर बन्द भएका सरकारी उद्योगहरू सञ्चालनमा ल्याउन सके नेपालीले देशमै रोजगारी पाउथे।’

२०३२ सालमा शिलान्यास भएको उद्योग चिनियाँ सरकारको सहयोगमा बनेको थियो। २०३५ माघ ५ बाट सञ्चालनमा आएको उद्योग कुनै समय मकवानपुरको मात्र नभएर देशकै शान थियो। 

स्थानीय बासिन्दाका अनुसार, हेटौँडा औद्योगिक क्षेत्रको मात्र नभएर देशकै ठूलो उद्योगबाट उत्पादन भएका सुती धागो, कोरा, रंगीन, बुट्टेदार र सेतो कपडा खरिद गर्न व्यवसायी तथा उपभोक्ताले तँछाडमछाड नै गर्थे।

तर, २०५० सालपछि जब उद्योगमा राजनीतिले प्रवेश पायो, त्यसपछि उद्योगको दुर्गति सुरु भएको उद्योगी बताउँछन्। ट्रेड युनियनको नाममा भएको राजनीति र सरकारमा जाने दलले आफ्ना नेता तथा कार्यकर्ता भर्ती केन्द्र बनाउँदा बन्द गर्नुपर्ने अवस्थामा पुग्यो। नाफामा रहेको उद्योग २०५७ सालसम्म आइपुग्दा पूर्णरुपमा बन्द भयो। सरकारले २०५७ माघ १८ गते उद्योग बन्द गर्ने निर्णय नै गरेको थियो। २०५९ सालमा सरकारले उद्योग खारेजीको प्रक्रिया अघि बढायो।

उद्योग बन्द भएसँगै सयौँको रोजगारी त खोसियो नै, सरकारले सबैभन्दा धेरै नाफा गर्ने, नेपाली कपडालाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्ने उद्योगको अस्तित्व मेटियो। त्यतिबेला एक हजार ५ सयभन्दा बढी व्यक्तिले रोजगारी पाइरहेका थिए। 

हरेक वर्ष उद्योगले पुनर्जीवन पाउने विषयले चर्चा पाउने गरेको छ। बिस्तारै सेलाउँदै जाने गरेको छ। यस पटक पनि सरकार गठन भएसँगै हेटौँडा कपडा उद्योग चर्चामा आइरहेको छ। 

उद्योग सञ्चालनमा ल्याउन भवनदेखि मेसिन समेत फेर्नुपर्ने व्यवसायी बताउँछन्। उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्मा उद्योग सञ्चालनमा ल्याउन चुनौतीपूर्ण रहेको बताउँछन्। तथापि, नयाँ प्रविधिका मेसिन जडान गरेर उद्योगलाई नयाँ तरिकाले सञ्चालनमा ल्याउन सकिने शर्माको भनाइ छ। तर, हालकै मेसिन र अवस्थामा भने उद्योग सञ्चालनमा ल्याउन असम्भव रहेको उनी बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad