कारोबार


नेपालको एक मात्र रेल: पाँच वर्षमा १९ करोड आम्दानी, ६८ करोड खर्च

नेपालको एक मात्र रेल: पाँच वर्षमा १९ करोड आम्दानी, ६८ करोड खर्च

नेपालखबर
बैशाख ६, २०८३ आइतबार १९:५६, काठमाडौँ

नेपालको एक मात्र रेल्वे सेवा प्रत्येक वर्ष घाटामा गइरहेको छ। रेल्वे कम्पनी लिमिटेडका अनुसार पछिल्लो पाँच वर्षको तथ्याङ्कले कम्पनीको आम्दानीभन्दा खर्च करिब तेब्बरभन्दा बढी रहेको देखाउँछ। सोही कारण रेल्वे सेवा दीर्घकालीन रूपमा आर्थिक सङ्कटतर्फ गइरहेको हो। 

कम्पनीको व्यावसायिक कार्ययोजना, २०८२ अनुसार आर्थिक वर्ष २०७६/७७ देखि आव २०८०/८१ सम्म १९ करोड २१ लाख रूपैयाँ आम्दानी हुँदा रु ६७ करोड ३७ लाख खर्च भएको उल्लेख छ। पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्र रु आठ करोड ५० लाख आम्दानी हुँदा रु २६ करोड २७ लाख खर्च भएको कम्पनीका तत्कालीन महाप्रबन्धक निरञ्जन झाले बताए।

उनका अनुसार अहिले मासिक आम्दानी करिब रु ७५ लाख भए पनि खर्च रु एक करोड २९ लाख पुग्ने गरेको छ। आम्दानीले खर्च धान्न नसक्दा कम्पनीले सरकारको जमानीमा ऋण लिँदै सञ्चालन गर्नुपरेको झाको भनाइ छ। 'विसं २०८१ असार मसान्तसम्म साँवा र ब्याजसहित कुल ऋण रु ७९ करोड नाघिसक्दा कम्पनीमाथि थप आर्थिक दबाब सिर्जना गरेको छ,' उनले भने, 'यात्री सेवाका हिसाबले भने रेल प्रभावकारी मानिएको छ।'

पूर्वमहाप्रबन्धक झाका अनुसार भारतको जयनगरबाट जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालन भइरहेको रेल सेवा दैनिक तीन पटक सञ्चालन हुँदै आएको छ। घाटाको प्रमुख कारणमध्ये भारतीय प्राविधिक कर्मचारीमा हुने उच्च खर्च रहेको उनी बताउँछन्।

हाल यहाँ १७ जना भारतीय कर्मचारी कार्यरत छन्। पूर्वमहाप्रबन्धक झाले त्यसका लागि कम्पनीले भारतीय कोंकन कम्पनीलाई मासिक करिब रु एक करोड १२ लाख भुक्तानी गर्दै आएको छ। उनका अनुसार नेपालीतर्फ १०३ कर्मचारीको कुल तलब रु १७ लाख छ। 

स्थायी प्राविधिक जनशक्तिको अभाव, वर्कसपको कमी, स्वदेशी चालक तथा स्टेसन मास्टरको अभाव, फ्युलिङ स्टेसन नहुँदा इन्धनसमेत भारतबाट ल्याउनुपर्ने अवस्थाले सञ्चालन खर्च अझ बढाएको नेपाल रेल्वे कम्पनीले जनाएको छ। साथै कम्पनी लामो समयदेखि महाप्रबन्धकविहीन रहेको हुँदा व्यवस्थापन कमजोर बनेको छ। 

वि.सं १९९४ मा सुरु भएको रेल सेवा २०७० मा ब्रोड गेज विस्तारका लागि बन्द गरिएको थियो। विसं २०७८ चैत १९ देखि पुनः सञ्चालनमा आएको रेल हाल ५२ किलोमिटर क्षेत्रमा विस्तार भइसकेको छ। कम्पनीले रेल्वेको आम्दानी बढाउन तथा आत्मनिर्भर बन्न विभिन्न विकल्प अघि सारेको छ। रक्सौलस्थित २८ एकड जग्गा भाडामा दिँदा वार्षिक करिब रु आठ करोड आम्दानी हुने अनुमान गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad