अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बाट वार्षिक सात प्रतिशत आर्थिक वृद्धि हासिल हुने दाबी गरेका छन्।
चैत १३ मा अर्थमन्त्रीको पद बहाली गर्दा गरेको निर्णयअनुसार आज अर्थतन्त्रको स्थितिपत्र (श्वेतपत्र) सार्वजनिक गर्दै आगामी आर्थिक वर्षबाट सात प्रतिशत आर्थिक वृद्धि हासिल हुने दाबी गरेका छन्।
नेपालको तीन दशकको औसत आर्थिक वृद्धि ४.२ प्रतिशत मात्रै छ। अर्थमन्त्री वाग्लेले त्यसलाई बढाएर सात प्रतिशत पुर्याउने दाबी गरेका हुन्।
वाग्लेले स्थिति पत्रमा उल्लेख गरेका छन्, ‘आगामी आर्थिक वर्षदेखि औसत सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्दै पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर नाघ्ने र अर्थतन्त्रको आकार सय अर्ब अमेरिकी डलर नजिक पुर्याई नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने विभिन्न आधारहरू रहेका छन्।’
यस्ता छन् अर्थमन्त्री वाग्लेले देखेका आर्थिक रूपान्तरणका ११ अवसर
उनले प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्याउने चारवटा आधार उल्लेख गरेका छन्। प्रति व्यक्ति आय सुधार गरेर अर्थतन्त्रको आकार सय अर्ब अमेरिकी डलर पुर्याउनका लागि विद्युतको कुल जडित क्षमता आगामी ५ वर्षभित्र १५ हजार मेगावाट पुर्याउने दावी अर्थमन्त्रीले गरेका छन्।
त्यसैगरी राष्ट्रिय गौरवका महत्वपूर्ण आयोजनाहरूको निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने, रणनीतिक महत्वका नयाँ आयोजनाहरू विकास गर्ने लगायतका पूर्वाधार विकासबाट निजी लगानी समेत आकर्षित भई आर्थिक वृद्धिमा तीव्रता आउने अर्थमन्त्रीको दाबी छ।
कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्दै उद्योग र पर्यटनसँग दरिलो अन्तरआवद्धता मार्फत उत्पादनमूलक रोजगारी अभिवृद्धि गर्दा प्रतिव्यक्ति आय बढाउन सकिने अर्थमन्त्रीको विश्वास छ।
पर्यटन क्षेत्रमा गुणस्तरीय पूर्वाधार विकास र पर्यटकीय सेवा तथा आवागमनमा सहजता मार्फत रोजगारी र आय अभिवृद्धि हुने अर्थमन्त्रीले स्थिति पत्रमा उल्लेख गरेका छन्।
त्यसैगरी, कृत्रिम बौद्धिकता उपयोग सहितको सूचना तथा प्रविधिको उपयोग र डिजिटल अर्थतन्त्र निर्माणबाट उत्पादन, उत्पादकत्व, रोजगारी र निर्यात अभिवृद्धि हुने उनले बताएका छन्।
Shares

प्रतिक्रिया