सरकारले विदेशबाट आयात हुने सामानको भन्सार बिन्दुमै अधिकतम खुद्रा मूल्य (एमआरपी) स्वघोषणा गरेपछि भन्सार जाँचपास गर्न सकिने नयाँ व्यवस्था भएको छ।
मंगलबार अर्थ मन्त्रालयमा एमआरपी विवादले भन्सार कार्यालयहरूमा भइरहेको जाँसपास अवरोधको सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य विभाग र अर्थ मन्त्रालयका अधिकारीबीच लामो छलफल भएको थियो। छलफलमा भन्सार विन्दुमा एमआरपी स्वघोषणा गरेर सामान जाँचपास गराउने निर्णय भएको थियो। त्यही निर्णय जानकारी गराउन बुधबार भन्सार विभागले सबै भन्सार कार्यालयका प्रमुखलाई सहभागी गराएर जुम बैठक आयोजना गरेको थियो।
सोही बैठकबाट विभागमा महानिर्देशक श्यामप्रसाद भण्डारीले भन्सार कार्यालयमा एमआरपी स्वघोषणा गर्ने व्यवसायीको सामान जाँचपास गराउन देशभरका भन्सार कार्यालयका प्रमुखलाई निर्देशन दिएका थिए। भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले नेपालखबरसँग भने, ‘आयात भएका सामानको एमआरपी स्वघोषणा गराएर जाँचपास गराउनु भन्ने निर्देशन प्राप्त भएको छ। सोही आधारमा सामानको जाँचपास हुन थालेको छ।’
भन्सार विभागले एमआरपी स्वघोषणा गरेर आयातित सामानको भन्सार जाँचपास गराउन भनेपछि व्यवसायीले आयात गरेका सामान धमाधम भन्सार जाँचपासका लागि लगिरहेका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भन्सार विन्दुमा सामान आइपुग्दा एमआरपी स्टिकर टाँसेको हुनुपर्ने नियम कार्यान्वयन गर्न भनेपछि आयातित सामानको भन्सार जाँच पास हुन सकेको थिएन।
सरकारले २०८२ चैत २६ गते सूचना प्रकाशन गरेर भन्सार विन्दुमा आउने सामान तथा स्वदेशी उत्पादनमा हुने सामानमा अनिवार्य रूपमा एमआरपी लागू गर्ने निर्णय गरेको थियो। तर, व्यवसायीले भने विदेशबाट आयात हुने सामानमा विदेशमै एमआरपी स्टिकर टाँसेर ल्याउन नसकिने भन्दै विरोध गरेका थिए।
विभागअनुसार भन्सार विन्दुमा जाँचपासको समयमा वस्तुको प्रकृति (औद्योगिक, नाशवान र मेसिनरी) खुलाउन र आयाति सबै बस्तुमा एमआरपी स्टिरक टाँस नभए पनि आयातकर्ताले भन्सार विन्दुमा एमआरपीको स्वघोषणा गरेको प्रतिवद्धता गर्नुपर्ने व्यवस्था गरेको छ।
त्यसरी आयात भएको सामान भन्सार विन्दुबाट छुटाएर लगेपछि बजारमा बितरण गर्नुअगावै अनिवार्य रुपमा एमआरपी लेबल लगाउने लिखित प्रतिबद्धता आयातकर्ताले गर्नुपर्ने व्यवस्था लागू गरिएको छ। भन्सारमा आयात भएका सामानको नाम, ब्रान्ड, मोडेल, परिमाण, खरिद मूल्य (प्रति एकाइ), घोषित एमआरपी (प्रति एकाइ) लगायतको विवरण प्रतिबद्धता पत्रमा खुलाउनुपर्नेछ।
त्यसैगरी, आयातकर्ताले आफ्नो नाम, पद, कम्पनीको नाम र कम्पनीको छाप तथा हस्ताक्षरसहितको प्रक्रिया पूरा गरेपछि मात्रै सामानको जाँचपास हुने व्यवस्था गरिएको छ।
Shares

प्रतिक्रिया