अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहितको ज्यान लिने धम्की दिएको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरण तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ।
मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकारीको निर्देशनबमोजिम धम्की दिने काभ्रेका प्रकाश पाठक र झापाका ताराप्रसाद खरेलविरुद्ध विभिन्न कसुरमा मुद्दा दायर गरेको हो।
उनीहरुविरुद्ध आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुन्डी, विद्युतीय कारोबार र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ।
अधिकारीविरुद्ध नलिनचोक हेलिपोर्टको भ्रष्टाचारमा अख्तियारले अनुसन्धान अगाडि बढाएपछि पाठकलाई दुई करोड रुपैयाँ दिएर धम्की दिएको खुलेको छ।
पाठकले रकम उठाउनकै लागि आपराधिक संगठन खडा गरेका थिए। सुरुमा उनले उक्त संगठनमार्फत प्रदीप अधिकारीलाई नै धम्की दिँदै एक करोड रुपैयाँ माग गरेका थिए। तर यो अधिकारीकै योजनामा पठाएको खुलेको छ। त्यसपछि अधिकारीले अख्तियार प्रमुख प्रेमकुमार राईलाई धम्की दिएर राजीनामा दिन बाध्य पारे आफूले ८ देखि १० करोड रुपैयाँ दिने कबोल गरेका थिए। बयानमा पाठकले यो कुरा स्वीकार गरेका छन्।
कबोल गरेको रकममध्ये २ करोड रुपैयाँ लिइसकेको पनि पाठकले बयानमा खुलाएका छन्। २०२५ नोभेम्बर २९ मा इमेल गर्दै पाठकले अख्तियार प्रमुख राईलाई १० दिनभित्र राजीनामा दिन र नदिए ज्यान लिने धम्की दिएका थिए। तर अख्तियार प्रमुख राईले आफूलाई आएको धम्कीका विवरणसहित प्रहरीमा जाहेरी दिएका थिए।
त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान अगाडि बढाएको थियो।
अधिकारी र पाठकबीचको चिनजान भने पुरानो थियो। पाठक पहिले राष्ट्रिय युवा संघमा आबद्ध थिए। त्यतिबेला अधिकारी इन्जिनियर एसोसिएसनमा आबद्ध थिए। त्यतिबेला उनीहरुको चिनजान भएपछि नियमित कुराकानी हुँदै आएको थियो।
तर पछिल्लो समय अधिकारीमाथि अख्तियारले अनुसन्धान गरिरहेको पाठकलाई जानकारी थियो। पाठकले नेपालका कर्मचारी तथा व्यापारीहरुबाट आर्थिक लाभ लिने उद्देश्यले ‘इम्पावरिङ ग्रुप अफ नेपाल’ खोल्ने तयारी गरेका थिए। तर यो नाम राख्दा मानिसहरु नडराउने र चन्दा नउठ्ने आकलन गर्दै अर्को नाम राखेको पाठकले बयान दिएका छन्।
‘सुन्दा र हेर्दा नै डर लाग्ने, मनोवैज्ञानिक रुपमा त्रास भयावह सिर्जना हुने उग्र नाम राख्ने विचार गरी उग्रवादी नामबाट नेपालको अतिवादी समूह नामको संगठन बनाएँ। यो नामको संगठन खोली नेपालमा बसोबास गर्ने विवादित नेता, व्यापारी तथा भ्रष्टाचारी कर्मचारीहरुबाट गैरकानुनी रुपमा फिरौती रकम माग गरी आर्थिक लाभ लिने उद्देश्यले सन् २०२५ अक्टोबर १ मा विश्व क्रान्ति दिवसको दिन मैले उक्त संगठन खोलेको हो। त्यतिबेला म फिलिपिन्समा थिएँ’, पाठकले भनेका छन्।
यो संगठनको नामबाट उनले सुरुमा तत्कालीन क्यान महानिर्देशक अधिकारीको वाट्सएपमा र क्यानको आधिकारिक इमेल ठेगानामा फिरौतीस्वरुप एक करोड रकम आर्थिक सहयोग गर्न भनी पत्र पठाएका थिए। उनले अधिकारीलाई फोन गरेर पनि एक करोड माग गरेका थिए।
तर अधिकारीले अख्तियार प्रमुखलाई धम्क्याएर राजीनामा दिन बाध्य पारे सोबापत ८ देखि १० करोड रुपैयाँ दिने कबोल गरे। अधिकारीको सल्लाहअनुसार नै पाठकले अख्तियार प्रमुखलाई धम्की दिँदै अख्तियारमा इमेल गरेको खुलेको छ। सुरुमा इमेल पठाएका उनले पछि भिडिओ पठाएर र सामाजिक सञ्जालमा सार्वजनिक गरेर पनि ज्यान मार्ने धम्की दिएका थिए।
अधिकारीले यति काम गरिसकेपछि पाठकलाई फिलिपिन्समै हुन्डीमार्फत २ करोड रुपैयाँ पठाएको पाइएको छ।
‘अख्तियार प्रमुख आयुक्त प्रेम राईलाई आफ्नो पदबाट राजीनामा दिन बाध्य पार्ने खालको धम्कीपूर्ण, मार्नेसम्मको इमेल लेखी पठाउनेसम्मको आपराधिक कार्य गर्दा मैले प्रदीप अधिकारीको तर्फबाट निजले चिनेको फिलिपिन्समा बस्ने केही चिनियाँ नागरिकहरुको समूहबाट दुई पटकमा नेपाली २ करोड बराबरको रकम विदेशी फिलिपिन्स मुद्रा मेसोमा हुन्डीमार्फत नगदै लिएको हुँ’, पाठकले बयानमा भनेका छन्।
अख्तियार प्रमुख राईलाई धम्की दिएको पत्र पाठकले सुरुमा अधिकारीलाई नै पठाएर ठीक छ कि छैन भनेर हेर्न समेत लगाएका थिए।
त्यसबापत उनले फिलिपिन्सकै एक कफीसपमा गएर चिनियाँ नागरिकमार्फत अधिकारीले हुन्डी गरी पठाएको ४० लाख फिलिपिन्सको रकम नगदै लिएका थिए। त्यसको भोलिपल्ट फेरि उनले ४० लाख पेसो लिए। हुन्डीमार्फत पठाएको रकम लिन उनलाई अधिकारीले कोड दिएका थिए। त्यो कोड देखाएपछि चिनियाँ नागरिकले उनलाई रकम दिएका थिए।
तर पाठकले इमेलमा धम्कीपूर्ण पत्र पठाए पनि अख्तियार प्रमुख राईले राजीनामा दिएनन्। त्यसपछि पाठकले भिडिओ बनाएर धम्की दिएका थिए। जुन भिडिओ उनले फिलिपिन्समै बसेर तयार गरेका थिए।
पाठकले अख्तियार प्रमुख राईलाई मार्ने आफ्नो उद्देश्य नभए पनि अधिकारीले रकम दिने आश्वासन दिएकाले यो काम गरेको बयान दिएका छन्। यसको डिजाइन, योजना र षड्यन्त्र अधिकारीले नै गरेको उनले बताएका छन्।
प्रदीप अधिकारीले पाठकभन्दा पहिले अख्तियार प्रमुखलाई धम्की दिनू भनी अर्जुन शाहीलाई लगाएको पनि खुलेको छ। तर अर्जुन शाहीले त्यो काम गर्न नसकेपछि उनले पाठकलाई लगाएको खुलेको छ। ८ देखि १० करोडको ‘डिल’ अधिकारीले भारतीय नम्बरको वाट्सएपमार्फत गरेका थिए।
अधिकारीले दिएको ८० लाख (२ करोड नेपाली) मध्ये पाठकले ७० लाख ६५ हजार पेसोमा फिलिपिन्समै अपार्टमेन्ट खरिद गरेका थिए। तर उनले खरिद गरेको अपार्टमेन्ट भने अहिलेसम्म पनि उनको नाममा नआइसकेको र त्यसको प्रक्रियाका लागि वकिल र अन्य व्यक्तिहरु खटाइसकेको बताएका छन्। अन्य रकम भने उनले विभिन्न काममा खर्च गरेको र केही रकम सापटी दिएको दाबी गरेका छन्। पाठकलाई फिलिपिन्समा रकम दिने व्यक्ति भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कम्पनीसँग सम्बन्धित व्यक्ति रहेको पनि पाठकको दाबी छ।
यस्तै अधिकारीले प्रेम राईलाई मोसो दल्न समेत लगाएका थिए। यसरी अख्तियार प्रमुखलाई मोसो दले तत्काल २ करोड दिने भनेको पाठकको बयान छ। अरु रकमपछि दिने भनेको उनले खुलाएका छन्। पाठकलाई प्रयोग गरेका अधिकारीविरुद्ध भने अख्तियारले नलिनचोक हेलिपोर्टर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सोही मुद्दामा पुर्पक्षका लागि उनी हाल कारागारमा छन्। प्रहरीले उनीसँग पनि बयान लिएको छ।
Shares

प्रतिक्रिया