कारोबार


२७ सार्वजनिक संस्थानले नाफा कमाउँदा १६ वटा घाटामा, धेरै नोक्सानी व्यहोर्ने वायुसेवा निगम

२७ सार्वजनिक संस्थानले नाफा कमाउँदा १६ वटा घाटामा, धेरै नोक्सानी व्यहोर्ने वायुसेवा निगम

नेपालखबर
जेठ १३, २०८३ बुधबार १६:१२, काठमाडौँ

सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २७ वटाले नाफा कमाउँदा १६ वटा घाटामा गएका छन्।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा सार्वजनिक संस्थानको खुद नाफा १२.०३ प्रतिशतले बढेर ४५ अर्ब आठ करोड रुपैयाँ पुगेको छ।

नाफामा रहेका संस्थानको खुद नाफा ४८ अर्ब ८९ करोड रहँदा घाटामा रहेका संस्थानको खुद नोक्सान तीन अर्ब ८० करोड रुपैयाँ छ।

नाफामा रहेका संस्थानको खुद नाफा गत आर्थिक वर्षको तुलनामा १०.५८ प्रतिशतले बढेको छ। नोक्सानीमा रहेका संस्थानको खुद नोक्सान गत वर्षको तुलनामा ४.१४ प्रतिशतले घटेको छ।

आर्थिक वर्ष २०८१/८२ मा संस्थानको कुल सम्पत्ति आर्थिक वर्ष २०८०/८१ को तुलनामा ९.४९ प्रतिशतले बढेर ३२ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ। सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी आर्थिक वर्ष २०८०/८१ को तुलनामा १३.४४ प्रतिशतले वृद्धि भएर सात खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ। जसमा सेयर लगानी तीन खर्ब ७० अर्ब र ऋण लगानी चार खर्ब २८ अर्ब रुपैयाँ छ। 

यस्तै, आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानको कुल आय सात खर्ब २१ अर्ब रुपैयाँ र कुल सञ्चालन आय ६ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा क्रमशः ०.६७ र ०.६६ प्रतिशतले बढी रहेको अर्थ मन्त्रालयले जनाएको छ।

आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानको कुल सञ्चित नाफा गत वर्षको तुलनामा २१.५१ प्रतिशतले बढेर एक खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ। नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र नेपाल नागरिक उड्ययन प्राधिकरणको सञ्चित नाफा सबैभन्दा धेरै छ।

क्षेत्रगत रूपमा हेर्दा जनोपयोगी क्षेत्रको सञ्चित नाफा सबैभन्दा धेरै ९८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। अर्को तर्फ सबैभन्दा धेरै सञ्चित नोक्सान औद्योगिक क्षेत्रको २२ अर्ब ६२ करोड रुपैयाँ रहेको छ। नेपाल वायुसेवा निगम सञ्चित नोक्सान सबैभन्दा धेरै रहेको संस्थान हो।

यसको सञ्चित नोक्सानी १८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। 

सार्वजनिक संस्थानबाट सरकारलाई आर्थिक वर्ष २०८०/८१ मा आठ अर्ब ८३ करोड रुपैयाँ लाभांश प्राप्त भएकोमा आर्थिक वर्ष २०८१/८२ मा आठ अर्ब ३७ करोड रुपैयाँ प्राप्त गरेको छ। कुल सेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष २०८१/८२ मा २.३ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानको सेयर धनी कोष (नेटवर्थ) आर्थिक वर्ष २०८०/८१ को तुलनामा ३.८९ प्रतिशतले वृद्धि भएर १० खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा ७ वटा संस्थानको सेयरधनी कोष ऋणात्मक रहेको छ। सबैभन्दा धेरै नेपाल वायुसेवा निगमको ७ अर्ब ९३ करोड रुपैयाँले ऋणात्मक रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad