नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई प्रवर्द्धन गर्न नेपाल र भारतका व्यावसायिक नेतृत्व तथा नीतिनिर्माताहरू शनिबार सिलिगुडीमा आयोजित उच्चस्तरीय द्विपक्षीय संवादमा सहभागी भएका छन्।
‘साझा समृद्धिका लागि नेपाल–भारत आर्थिक साझेदारी सुदृढीकरण’ विषयक उक्त संवादको संयुक्त आयोजना एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेशनल अफेयर्स (आइडा) र कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआआई) नर्थ बंगाल जोनल काउन्सिलले गरेका थिए।
कार्यक्रममा विशेषगरी पूर्वी नेपाल र भारतको पश्चिम बंगालबीच व्यावहारिक तथा कार्यान्वयनयोग्य नीतिगत पहलमार्फत आर्थिक सहकार्य विस्तार गर्न सकिने अवसरहरूबारे छलफल गरिएको थियो।
संवादको उद्घाटन गर्दै नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)का उपाध्यक्ष कुनाल कयालले नेपाल र भारतबीच विश्वकै अद्वितीय आर्थिक तथा जनस्तरको सम्बन्ध रहेको उल्लेख गर्दै द्विपक्षीय आर्थिक सम्भावनाको पूर्ण उपयोगका लागि संस्थागत सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा बोल्दै सीआइआइ नर्थ बंगाल जोनल काउन्सिलका अध्यक्ष सतीश मित्रुकाले नेपाल र भारतबीच रहेको विशाल सम्भावनालाई मूर्तरूप दिन यस्ता संवादहरू काठमाडौं र सिलिगुडीमा नियमित रूपमा आयोजना गर्नुपर्ने सुझाव दिए।

त्यसैगरी, सीआइआइ नर्थ बंगाल जोनल काउन्सिलका उपाध्यक्ष अमल मण्डल, रुरल हेरिटेज कन्जर्भेसन टुरिज्मका सुप्रतिम (राज) बसु तथा किन्स हस्पिटलका संस्थापक सुमित सिन्हालले पर्यटन तथा मेडिकल शिक्षालगायत नेपाल र भारतले सहकार्यमार्फत प्राप्त गर्न सक्ने विविध अवसरहरूबारे प्रकाश पारे।
त्यस्तै, आइइसी गु्रप नेपालकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, आइआइएएस स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल डा केभी राजेन्द्रन नैयर तथा ग्लोकलका अध्यक्ष आशिष ठकुरले पश्चिम बंगाल र नेपालबीच शिक्षा क्षेत्रमा रहेका अवसर तथा सम्भावित सहकार्यका विषयमा आफ्ना धारणा राखे।
मोरङ उद्योग संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार शाहले उक्त अवसरमा पूर्वी नेपाल र पश्चिम बंगालबीच व्यापार तथा पर्यटन प्रवर्द्धनका लागि आफ्नो अनुभव र दृष्टिकोण ब्यक्त गरे।
सत्रको सहजीकरण गर्दै सीआइआइ उत्तर बंगाल जोनल काउन्सिलअन्तर्गत रियल इस्टेट तथा लजिस्टिक प्यानलकी अध्यक्ष लक्ष्मी लिम्बु कौशलले आइडा र सीआइआइ उत्तर बंगालबीचको यस्तो संयुक्त पहल केवल सुरुआत मात्र भएको बताइन्।
उनले भनिन्, “यसले व्यवसायिक नेतृत्वकर्ताहरूलाई एकै ठाउँमा ल्याएर उनीहरूले अनुभव आदानप्रदान गर्दै सँगै अघि बढ्न सक्नेछन्।”

कार्यक्रममा समापन मन्तव्य दिँदै प्रतिनिधिसभा सदस्य पारस मणि गेलालले व्यापार तथा आर्थिक सम्बन्ध प्रवर्द्धनमा आफ्नो दल र नेपाल सरकारको भूमिकाका साथै वर्तमान सरकारले अवलम्बन गरेका पहलहरूबारे जानकारी गराए। नीतिगत सहयोग, लगानी सहजीकरण तथा नेपाल–भारतबीच बलियो आर्थिक सहकार्यको आवश्यकतामा जोड दिँदै उनले भारतीय उद्यमीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरे। उनले वर्तमान सरकार निजी क्षेत्रमैत्री रहेको र लगानीका लागि अनुकूल वातावरण निर्माणमा प्रतिबद्ध रहेको पनि बताए।
कार्यक्रमका सहभागीहरूले नेपाल–पश्चिम बंगाल आर्थिक करिडोरको बढ्दो महत्वलाई औंल्याउँदै नेपालको जलविद्युत, पर्यटन, कृषि, उत्पादनमूलक उद्योग तथा विशेष आर्थिक क्षेत्रहरूमा थप लगानी आवश्यक रहेको बताए। शिक्षा, आतिथ्य तथा स्वास्थ्य सेवा क्षेत्रलाई नेपाल–पश्चिम बंगाल आर्थिक तथा व्यापारिक सम्बन्धका प्रमुख प्राथमिकताका रूपमा उल्लेख गर्दै सहभागीहरूले व्यापार सहजीकरणका चुनौतीहरूको व्यावहारिक समाधान तथा निजी क्षेत्रबीचको साझेदारीलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए।
सहभागीहरूले सिलिगुडीको रणनीतिक महत्वबारे पनि चर्चा गर्दै यसलाई नेपाल, भारतको उत्तर–पूर्वी क्षेत्र, भुटान तथा बंगलादेशलाई जोड्ने महत्वपूर्ण प्रवेशद्वारका रूपमा व्याख्या गरे। यस क्षेत्रको भौगोलिक लाभलाई उपयोग गरी व्यापार, लगानी, पर्यटन तथा सीमापार आर्थिक एकीकरणलाई विस्तार गर्ने उपायहरूमाथि पनि छलफल गरे।
संवादको अन्त्य दिगो आर्थिक वृद्धि तथा क्षेत्रीय समृद्धिमा योगदान पुर्याउने गरी छलफललाई व्यवहारिक साझेदारी र लगानी अवसरमा रूपान्तरण गर्ने साझा प्रतिबद्धतासहित सम्पन्न भएको थियो।
आइडाका संस्थापक सुनील केसीका अनुसार आर्थिक कूटनीति प्रवर्द्धन गर्ने उद्देश्यले आइडाले प्रिस्टिना डाइलग, नेपाल–भारत थिंक ट्याङ्क समिट तथा हालै सिलिगुडीमा सम्पन्न ‘साझा समृद्धिका लागि नेपाल–भारत आर्थिक साझेदारी सुदृढीकरण’ कार्यक्रम आयोजना गर्दै आएको हो।
आइडा र सीआइआइ नर्थ बंगाल जोनल काउन्सिलले यस्ता संवाद आयोजना गर्नुको अर्को महत्वपूर्ण कारण पश्चिम बंगाल ऐतिहासिक रूपमा नेपालमा भारतीय लगानीका प्रारम्भिक तथा प्रतिबद्ध स्रोतहरूमध्ये एक रहँदै आएको पनि आइडाले जनाएको छ। पश्चिम बंगालमा मुख्यालय रहेका कम्पनीहरू — सूर्य नेपाल, एसियन पेन्ट्स नेपाल, बर्जर पेन्ट्स नेपाल तथा डाबर नेपाल — नेपालमा ९०को दशकमा प्रवेश गरेका थिए। र आज पनि यी उद्योग नेपालमा विश्वासिला ब्रान्डका रूपमा स्थापित छन्। नेपालमा हालै प्रबेश गरेको प्रत्यक्ष वैदेशिक लगानी परियोजना ओबिटी नेपाल पनि पश्चिम बंगालमै मुख्यालय रहेको कम्पनी हो।
यी कम्पनीहरूले केवल नाफा मात्र आर्जन गरेका छैनन्, नेपाल–भारत आर्थिक सम्बन्धमा विश्वास पनि बढाएका छन्।
Shares

प्रतिक्रिया