छ महिनापछि खुलेको हवाइ यात्रामा खासै उत्साह नभएको वायुसेवा कम्पनीहरुले बताएका छन्। सोमबारबाट उडान गर्ने कम्पनीहरुले करिब ७० प्रतिशत मात्रै बुकिङ भएको बताएका हुन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले २५ प्रतिशत मात्रै उडन गर्न दिने निर्णय गरेको छ। हवाइ कम्पनीले २५ प्रतिशत उडान हुँदा पनि यात्रुको चाप नभएको बताएका छन्। यति एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाले ६० देखि ७० प्रतिशत मात्रै बुकिङ भएको बताए। उनले उडान सुरु भएसँगै यात्रुको संख्या बढ्दै जाने विश्वास गरे।
‘पहिला टिकट लिएर रद्द हुँदा धेरैलाई झन्झट भयो त्यसैले हतारमा बुकिङ गरेका छैनन्’, बर्तौलाले भने, ‘अर्को मानिसमा यात्राको लागि अझै अरुचि देखिन्छ।’
बु्द्ध एयरलका सेल्स प्रमुख रुपेश जोशीले पनि अहिले ७० प्रतिशत मात्रै बुकिङ भएको बताए।
यो पनि –
खुल्नलागेको आन्तरिक उडानमा यात्रुले पालना गर्नुपर्नेछ यी नियम, सबै एयरपोर्टमा अनुगमन
‘सोमबारको उडानका लागि हामी तयारी अवस्थामा छौँ। यात्रुको चाप खासै छैन’, जोशीले भने, ‘हवाइ उडान खुलेपछि विस्तारै यात्रुको संख्या बढ्ला नि!’
अन्तर्राष्ट्रिय हवाइ यात्राको लागि पीसीआर अनिवार्य भए पनि आन्तरिक उडानको लागि भने पीसीआर अनिवार्य छैन। तर कुनै गाउँपालिकाले अनिवार्य पीसीआर नेगेटिभ भएको यात्रु मात्रै आउने पाउने बताएका छन्।
खुम्बु पासाङलामु गाउँपालिकाले लुक्ला विमानस्थल आउने सबै एयरलाइन्स कम्पनीलाई पीसीआर नेगेटिभ रिपोर्ट भएकालाई मात्रै ल्याउन भनेको छ।
बर्तौलाले हवाइ यात्रा गर्दा पीसीआर चाहिन्छ कि चाहिँदैन। भाडा बढी हुने हो कि भन्ने बढी चासो रहेको बताए।
‘चैतअघि जुन भाडादर थियो, त्यही नै भाडादर हो। सस्तोमै यात्रा गर्न पाउँछन्’, बर्तौलाले भने।
बुद्ध र यति एयरले २५ प्रतिशत उडान भए पनि सबै गन्तव्यमा उडान हुने बताएका छन्। नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्स कम्पनीहरुलाई सेप्टेम्बर ३० सम्म २५ प्रतिशत मात्रै उडान गर्ने भनेको छ। यात्रुको चाप र स्वास्थ्य सुरक्षाको मूल्यांकन गरी अक्टोबरपछि हवाइ उडान बढाउने प्राधिकरणले बताएको छ।
एयरलाइन्स कम्पनीले कोभिड १९ को कारण यात्रुलाई उडान हुनुभन्दा १ घण्टा ३० मिनेट पहिला एयरपोर्ट पुग्न भनेका छन्। एयरलाइन्समा ल्यापटप ब्याग, पर्सबाहेक ठूला ह्याण्ड ब्याग बोक्न पाइनेछैन।

प्रतिक्रिया