ब्राजिलको विमानसेवा प्रदायक गोल कम्पनीले समस्याग्रस्त भनी २० महिना लामो समय ग्राउन्डेड गरिएको बोइङ ७३७ म्याक्सजेटको व्यावसायिक उडान सुरु गर्ने भएको छ।
स्थानीय समयअनुसार बुधबारदेखि नै कम्पनीले उक्त विमान यात्रुसेवामा परिचालन गर्ने भएको हो। म्याक्सजेट सन् २०१९ मार्चदेखि विश्वव्यापी रुपमा उडाउन बन्द गरिएको थियो। इन्डोनेसिया र इथियोपियामा भएको समान प्रकृतिको दुर्घटनामा ३४६ जनाको मृत्यु भएपछि विमानमा गम्भीर समस्या रहेको भन्दै उडान रोकिएको थियो।
गोल ब्राजिलको ठूलो विमान सेवा प्रदायक हो। यसका म्याक्सजेट उडाउने १४० जना पाइलटले अमेरिकामा पुनः तालिम लिएपछि उडान सुरु गर्न लागिएको बीबीसीले जनाएको छ।
कम्पनीले देशका २७ गन्तव्यमा व्यावसायिक उडान गर्ने जनाएको छ। हालसम्म अमेरिका र ब्राजिलले मात्रै म्याक्स जेटको पुनः उडानलाई प्रमाणीकरण गरेका छन्।
दुई दुर्घटनापछि बोइङ विश्वभर म्याक्सजेट उडान बन्द गर्न बाध्य भएको थियो। त्यसयता बोइङले फ्लाइट कन्ट्रोल सफ्टवेयर, क्रु प्रोसिड्युर र इन्टरनल वाइरिङको रिरुटिङ तथा मोडिफिकेसन गरिसकेको छ।
गोलका अपरेसन उपप्रमुख सेल्सो फेररले म्याक्सजेटको सुरक्षामा अब आफू विश्वस्त रहेको बताए।
दुई दुर्घटनापछि बोइङलाई अर्बौँ डलरको नोक्सानी परेको छ भने यसको मागमा समेत कमी आएको छ। म्याक्सजेट बोइङको धेरै माग पाउने विमानमा परेको थियो।

प्रतिक्रिया