कारोबार


सन् २०२८ भित्र अमेरिकालाई उछिन्दै चीन विश्वकै ठूलो अर्थतन्त्र बन्ने

सन् २०२८ भित्र अमेरिकालाई उछिन्दै चीन विश्वकै ठूलो अर्थतन्त्र बन्ने

नेपालखबर
पुस १२, २०७७ आइतबार ६:३४,

चीनले कोरोना सुरुवात भएको ३ देखि ४ महिना यस भाइरसलाई नियन्त्रण गर्नसक्यो। तर विश्व अझैपनि कोरोनाको चपेटामा छन्।

बेलायतको सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्चको प्रतिवेदन अनुसार कोरोनाका कारण चीन सन् २०२८ भित्रै विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्नेछ।

चीनले अमेरिकालाई उछिन्नेछ। प्रतिवेदनमा औँल्याइएको त्यो समय यसअघि अनुमान गरिएको भन्दा पाँच वर्ष छिटो हो।

प्रतिवेदन अनुसार कोभिड–१९ को सीपयुक्त व्यवस्थापनले चीनको उन्नति अमेरिका र युरोपमा भन्दा छिटो हुनेछ।

उक्त प्रतिवेदनमा भारतको अर्थतन्त्र भने सन् २०३० मा विश्वकै तेस्रो ठूलो हुने अनुमान गरिएको छ।

भारतले सन् २०१९ मा यूकेको अर्थतन्त्रलाई विश्वको पाँचौँ स्थानबाट विस्थापित गरेको भए पनि कोभिड–१९ का कारण फेरि पछाडि परेको छ।

भारतले सन् २०२४ मा यूकेलाई, सन् २०२७ मा जर्मनीलाई र सन् २०३० मा जापानलाई पछाडि पार्ने अनुमान गरिएको छ।

सेन्टरले प्रत्येक वर्ष डिसेम्बर २६ मा आफ्नो प्रतिवेदन सार्वजनिक गर्छ।

चीनमा कोरोना भाइरस पहिले देखिएको भए पनि यसले छिटै कडा प्रावधान लागु गरेर नियन्त्रण गरेको छ जसले अन्य देशहरूमा जस्तो पटकपटक लकडाउनका कारण त्यहाँको अर्थतन्त्र ठप्प पार्नुपरेको छैन।

यसको परिणाम स्वरूप सन् २०२० मा अन्य ठूलो अर्थतन्त्रहरूमा मन्दी देखिए पनि चीनको अर्थतन्त्र दुई प्रतिशतले बढ्ने देखिएको छ।

अमेरिकी अर्थतन्त्र भने सबैभन्दा नराम्ररी थलिएको छ। त्यहाँ भाइरस जोडिएका घटनामा ३३०,००० मानिसहरूको मृत्यु भएको छ भने एक करोड ८५ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन्।

अर्थतन्त्रमा भएको प्रभावलाई मौद्रिक नीति र आर्थिक सहयोगले कम गर्न खोजिएको छ तर त्यहाँ देखिएको राजनीतिक असहमतिका कारण नयाँ वर्षमा एक करोड ४० लाख मानिसले बेरोजगारी भत्ता सुविधा नपाउने हुनसक्छ।

प्रतिवेदनका अनुसार सन् २०२१ मा कोभिड–१९ बाट अर्थतन्त्रमा सुधार आएपछि अमेरिकामा सन् २०२२ देखि सन् २०२४ सम्म १.९ प्रतिशतले अर्थतन्त्र वृद्धि हुनेछ भने त्यसपछि १.६ प्रतिशतमा वृद्धि हुनेछ।

चीनको अर्थतन्त्र भने सन् २०२५ सम्म ५.७ प्रतिशतले बढ्ने र सन् २०२६ देखि सन् २०३० सम्म ४.७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad