कारोबार


सरकारले बजार हातमा नलिएसम्म किसानलाई खुसी बनाउन सकिँदैन : मन्त्री अर्याल

सरकारले बजार हातमा नलिएसम्म किसानलाई खुसी बनाउन सकिँदैन : मन्त्री अर्याल

नेपालखबर
पुस २०, २०७७ सोमबार ११:७,

कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानलाई खुसी बनाउनका निम्ति बजारलाई नयाँ ढंगले व्यवस्थित गर्नुपर्ने बताएकी छन्।

मन्त्रालय अन्तर्गत रहेका संस्थान, समितिहरुको छलफलका क्रममा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री अर्यालले किसानले बजारमा ल्याएको तरकारीको डोको फर्काएर लैजानुपर्ने अवस्थाको अन्त्यका निम्ति नयाँ ढंगले बजारको व्यवस्थापन आवश्यक रहेको बताएकी हुन्।

‘बजारलाई नयाँ ढंगले व्यवस्थित नगरिकन किसानहरुलाई खुसी बनाउन सकिँदैन’ मन्त्री अर्यालले भनिन्, ‘किसानहरुले बजारमा ल्याएको वस्तु फर्काएर लैजाने स्थिती राम्रो होइन। दुध उत्पादन गर्‍यो सडकमा पोख्नुपर्ने यो धेरै गम्भीर कुरा हो। मान्छेलाई निराश बनाउने, ऋण थप्ने कुरा राम्रो होइन।’

बजारको ग्यारेन्टी गर्नेगरी नयाँ ढंगले जानुपर्ने भन्दै उनले हिजोको परम्परावादी योजना, सोचले अब अगाडि बढ्न नसकिने बताइन्।

सरकारले संघीय, प्रादेशिक र स्थानीय गरी ३ खालको बजारको परिकल्पना गरेको बताउँदै मन्त्री अर्यालले कस्ता बजारलाई कुन बजारमा राख्ने भन्ने ढंगले मापदण्ड बनाउन निर्देशन दिइन्।

‘कस्तालाई कुन बजारमा राख्ने? तपाईंहरु मापदण्ड बनाउनुस्’ कर्मचारीलाई निर्देशन दिँदै उनले भनिन्, ‘यसलाई कार्यान्वयन गर्नेगरी जाम। किसानलाई उत्साहित बनाउन यो कार्य जरुरी छ।’

मन्त्री अर्यालले लकडाउनका बेला किसानको उत्पादनमा अर्कैले कब्जा गरेको उदाहरण दिँदै अब सरकारले नै बजार हातमा लिनुपर्ने आवश्यकता औँल्याइन्।

उनले भनिन्, ‘हाम्रो बजार हाम्रो हातमा छैन। कोभिडको बेला किसानहरुले तरकारी, फलफूल उत्पादन गरे। काठमाडौं आइपुग्दा हाम्रो बजार त अर्कैले कब्जा गरिसकेको छ। अनि किसानहरु फर्केर जाने स्थिती बन्यो। बजारको बर्गीकरण गरेर ल्याउनुस्। हाम्रो बजार हाम्रो हातमा नलिई किसानहरुको हित हुँदै हुदैन। योजना लिएर आउनुस्।’

कालिमाटी, फलफूल तथा तरकारी बजारका सन्दर्भमा कर्मचारीहरुले नै बजार कब्जा गरेर बसेको भन्ने गुनासो आइरहेको भन्दै मन्त्री अर्यालले त्यसको बारेमा रिपोर्ट ल्याउन कर्मचारीलाई निर्देशन दिइन्।

सरकारका तर्फबाट बिक्री भएका बेर्नाबाट उत्पादन भएन भन्ने कुरा बढी उठ्ने गरेको भन्दै उनले यस सन्दर्भमा सत्यतथ्य पत्ता लगाएर रिपोर्ट दिन समेत निर्देशन दिइन्।

किसानहरुले दुधको भुक्तानी नपाएको कुरा आइरहेको भन्दै उहाँले दिगो बजार व्यवस्थापन कसरी गर्ने भन्नेतर्फ ध्यान जान जरुरी रहेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad