जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले भारत र बंगलादेश नेपालसँग विद्युत खरिद गर्न आतुर भएपनि नेपालले उत्पादन बढाउन नसकेको बताएका छन्।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले मागअनुसार नेपालले विद्युत उत्पादन गर्न नसकेको बताएका हुन्। नेपालले करिब ८७ प्रतिशत वस्तु आयात र १३ प्रतिशत मात्र निर्यात गर्ने गरेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धी बन्न विद्युत उत्पादनमा वृद्धि गरि निर्यातमा ध्यान दिनुपर्ने बताए।
उनकाअनुसार बंगलादेशले ठूलो परिमाणमा नेपालसंग विद्युतको अपेक्षा गरिरहेको छ। भारतलाई पनि स्वच्छ ऊर्जाको आवश्यकता रहेकाले विद्युत निर्यातको पर्याप्त सम्भावना रहेको उनले बताए। तर नेपालमा विद्युत उत्पादन विस्तारको गति अत्यन्त सुस्त रहेको उनको भनाई छ।
अध्यक्ष यादवले विगतमा सुरक्षा तथा रणनीतिक कारण देखाउँदै भारतले चिनियाँ लगानीमा उत्पादित नेपाली विद्युत खरिदमा अनिच्छा देखाएपनि अहिले त्यो परिस्थिति नरहेको बताए। उनले चीन–भारतबीच व्यापार र लगानी विस्तार भइरहेकाले नेपालले कूटनीतिक पहल बढाएमा विद्युत निर्यातमा देखिएका अवरोध हट्न उल्लेख गरे।
उनले नेपालको बढ्दो व्यापार घाटा कम गर्ने सबैभन्दा प्रभावकारी उपाय नै जलस्रोतको उपयोगमार्फत विद्युत उत्पादन र यसको व्यापार रहेको बताए। विद्युत उत्पादनसँगै सिँचाइ र खानेपानी क्षेत्रमा पनि जलस्रोतको प्रभावकारी उपयोग गर्नसके नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रतर्फ अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने उनको दाबी छ।
उनले भने, ‘ठूलो मात्रामा भारतलाई बिजुलीको जरुरी छ। भारतको प्रधानमन्त्री नेपाल भ्रमणको बेलामा नेपाललाई हामी उत्पादनमा सहयोग गर्छौ, किन्छौँ, पैसा दिएर किन्छौँ। बिजुली तपाईहरु बेच्नुस्, उत्पादन गर्नुस्, बेच्नुस् हामी किन्न तयार छौँ, भनेका छन्। बंगलादेशले नेपालतिर हेरेर बिजुली कहिले नेपालको बिजुली आउने हो भनेर हेरिरहेको हुन्छ। तर हाम्रो यहाँ चाहीँ के हो, उत्पादन एकदम स्लो छ। कहिले एउटालाई ठेक्का दियो अनि रद्द गर्यो, फेरि अर्कालाई दियो त्यसको रद्ध गर्यो, फेरि एउटाले आधा काम गर्यो, छोडेर हिँड्यो, फेरि अर्कोले शुरु ग¥यो, हामी यसै गरेर कहाँ न कहाँ अल्मलिएको छ।’
उनले चुरे संरक्षणमा जोड दिन पनि सरकारसँग आग्रह गरे। चुरे क्षेत्रमा भएको दोहन र वन फँडानीले जलस्रोतमा समस्या देखिएको बताए।
पछिल्लो समयमा जलवायू परिवर्तन र चुरे विनासको कारण हिमालमा हिउँ नहुने तथा तराईमा सुख्खापन हुँदा खानेपानी, सिँचाइ, उर्जा लगायतका क्षेत्रमा ठूलो असर परिरहेको उनको भनाई छ। उनले चुरे संरक्षण गर्नै राज्यले ध्यान नदिएको पनि गुनासो गरे।
Shares

प्रतिक्रिया