ad ad

कारोबार


गोर्खा ब्रुअरी सञ्चालक समितिको निर्णयमा खेतान समूहलाई वञ्चित गर्न खोज्दा चर्कियो विवाद

गोर्खा ब्रुअरी सञ्चालक समितिको निर्णयमा खेतान समूहलाई वञ्चित गर्न खोज्दा चर्कियो विवाद

दीपक भट्ट
माघ ७, २०७७ बुधबार १७:५७,

कार्ल्सबर्ग ब्राण्डमा रक्सीजन्य पदार्थ उत्पादन गर्ने नेपालको गोर्खा ब्रुअरीमा सेयरधनीको अधिकार विवाद चर्किएको छ।

गोर्खा ब्रुअरीमा ९० प्रतिशत लगानी रहेको कार्ल्सबर्ग साउथ एसिया प्रालिले १० प्रतिशत सेयर स्वामित्व रहेको खेतान समूहलाई सञ्चालक समितिको बैठकमै नराख्न खोजेपछि विवाद चर्किएको हो।

डेनिस ब्राण्ड कार्ल्सबर्गको बियर उत्पादन गर्दै आएको खेतान समूहले २०६८ साउनमा गाेर्खा ब्रुअरीकाे कुलमध्ये ९० प्रतिशत सेयर उक्त कम्पनीलाई बेचेको थियो।

त्यसबेला दुई पक्षबीच किनबेच सम्झौता भएको थियो। त्यो सम्झौतामा सञ्चालक समितिमा एक जना खेतान समूहको हुनैपर्ने उल्लेख गरिएको थियो। खेतान समूहको एक जना पनि सञ्चालक नभई सञ्चालक समितिको बैठकको कोरम नै नपुग्ने खेतान समूहको दाबी छ।

त्यो सम्झौता सच्याउन अहिले विदेशी लगानीकर्ता अर्थात् कार्ल्सबर्ग साउथ एसिया प्रालिले चाहेको छ।

यसै सिलसिलामा गत असोजमा गोर्खा ब्रुअरीको साधारणसभा बोलाइएको थियो। उक्त साधारणसभाको मुख्य एजेण्डा नै यो सम्झौता सच्याउने थियो।

तर खेतान समूहले साधारणसभा बोलाउन मानेन। साधारणसभा बोलाउने सञ्चालक समितिको बैठकमा आफू नभएको भन्दै खेतान समूहले साधारणसभा नमानेको हो।

बरु साधारणसभा रोक्न भन्दै खेतान समूहको तर्फबाट प्रेम प्रकाश खेतानले गत भदौ २९ गते कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा उजुरी गरेका थिए।

उजुरीअनुसार कम्पनी रजिस्ट्रारको कार्यालयले गत असोज ४ गते साधारणसभा रोक्न तथा उक्त साधारणसभा भएकै खण्डमा त्यसले गर्ने निर्णय पनि अमान्य हुने निर्देशन दियाे।

कम्पनी रजिस्ट्रारको कार्यालयका कानुन शाखा प्रमुख राजेन्द्र प्रसाद लम्सालले कम्पनीको सम्झौतापत्र हेरेर उक्त निर्देशन दिएको जानकारी दिए।

उनले नेपालखबरसँग भने, ‘हामीले कसको सेयर कति छ भन्ने कुराभन्दा पनि सम्झौतापत्रमा के उल्लेख थियो, त्यहीअनुसार अघि बढ्नुपर्ने निर्देशन दिएका हौँ।’

तर त्यसविरुद्ध कार्ल्सबर्ग साउथ एसिया उच्च अदालत पाटन गयो।

उच्च अदातल पाटनमा कार्ल्सबर्ग साउथ एसियाले कम्पनी रजिस्ट्रारको कार्यालयले गरेको निर्णयविरुद्ध मुद्दा दायर गरेको थियो।

उक्त कम्पनीले कम्पनी रजिस्ट्रारको कार्यालयले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्ने मागसहित गत कात्तिक २३ गते उक्त अदालतबाट अन्तरकालीन आदेश माग गरेको थियो।

तर पाटन उच्च अदालतले मंसिर २१ गते मुद्दाको अन्तिम सुनुवाइ गर्नुपर्ने भएको कारण देखाउँदै अन्तरकालीन आदेश जारी नगर्ने आदेश जारी ग¥यो।

यसैबीच, उच्च अदालतबाट आफ्नो पक्षमा आदेश नआएपछि कार्ल्सवर्ग साउथ एसिया प्रालिले त्यसविरुद्ध फेरि गत पुस १२ गते सर्वोच्चमा मुद्दा लग्यो।

सर्वोच्चमा कम्पनीले उच्च अदालतको उक्त आदेश खारेज गर्न माग गरेको थियो।

त्यो आदेश खारेज गरी कम्पनी रजिस्ट्रारको कार्यालयले गरेको ‘त्रुटिपूर्ण’ निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन आदेश दिने पुरानै माग दोहो¥यायो।

सिंगापुरमा कार्यालय रहेको साउथ एसिया कम्पनी प्रालिका सञ्चालक ट्रोल्स एल स्ट्रबर्गका वारेस पाएका नेपाली अधिवक्ता दक्ष बहादुर क्षेत्रीले यो मुद्दा लडिरहेका छन्।

नेपालखबरले यसबारे जानकारी लिन खोज्दा उनले आफूले यसबारे बोल्न नमिल्ने जवाफ दिए। आफूलाई बोल्न कार्ल्सबर्ग साउथ एसियाका सञ्चालकले अधिकार दिनुपर्ने उनले बताए।

सेयरसम्बन्धी विवाद रहेकोले सतर्क रहेर बोल्नुपर्ने विषय भएको उनको भनाइ छ। उनले यसबारे थप बोलेनन्।

यो विदेशी लगानीकर्ताबाट परेको मुद्दा हो।
....
यसैबीच, गोर्खा ब्रुअरीले पनि सर्वोच्चमा मुद्दा हालेको छ। गोर्खा ब्रुअरीका सञ्चालक समिति सदस्य अजितबाबु नरसिंह मुद्दा लिएर सर्वोच्च पुगेका हुन्।

उनले कम्पनी रजिस्ट्रारको कार्यालय र प्रेम प्रकाशविरुद्ध मुद्दा हालेका हुन्। अजितले कानुनविपरीत प्रेम प्रकाश खेतानले उजुरी गरेको र कम्पनी रजिस्ट्रारको कार्यालयले ‘त्रुटिपूर्ण’ निर्णय गरेको भन्दै सर्वोच्चमा मुद्दा दिएका हुन्।

यी दुवै मुद्दामा सर्वोच्च अदालतले अन्तिम सुनुवाइ आवश्यक रहेकोले अन्तरकालीन आदेश दिनु नपर्ने आदेश दियाे।

यो मुद्दाको गत आइतबार अर्थात् यही माघ ४ गते पनि सर्वोच्चमा सुनुवाइ भएको थियो। न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले कैफियत प्रतिवेदन पेश गर्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई भनेको छ।

यसैबीच, साधारणसभा रोक्न परेको उजुरीले अब अर्को विवादलाई पनि तानेको छ। कार्ल्सबर्ग साउथ एसिया प्रालिकाे सन् २०१८/२०१९ को वित्तीय विवरणलाइ केही सञ्चालकले शंकास्पद रुपमा लिएका थिए।

उनीहरुले विवरणमा शंका व्यक्त गर्दै हस्ताक्षर गरेका थिएनन्। त्यसमा गाेर्खा ब्रुअरीकाे कारोबार पनि शंकास्पद देखिएकाे हाे।

हाल सर्वोच्च अदालतले कम्पनीको रजिस्ट्रारको कार्यालयसँग माग गरेको विवरणचाहिँ त्यही रहेको देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .