सिन्धुलीको भिमानको ममता आयल सेन्टरले सरकारले तोकेको दररेटभन्दा महँगोमा पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्दै आएको पाइएको छ।
कमलामाई नगरपालिका ९ भिमानस्थित गणेश सिलवालले सञ्चालन गरेको ममता आयलले जहिले पनि सरकारले तोकेको दररेटभन्दा महँगोमा उपभोक्तालाई डिजेल पेट्रोल बेच्दै आएको स्थानीयले बताएका हुन्।
नेपाल आयल निगमले धनुषाको महेन्द्रनगर डिपोअन्तर्गत पर्ने पेट्रोल पम्पहरुलाई पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ ५० पैसा र डिजेल ९१ रुपैयाँ ५० पैसा दररेट तोकेको छ।
तर ममता आयलले पेट्रोल र डिजेल दुवैमा प्रतिलिटर एक रुपैयाँ महँगोमा उपभोक्तालाई खुलेआम बेचिरहेका छन्। उपभोक्ताबाट अनधिकृत मूल्य लिँदा अनुगमन र नियमन गर्ने सम्बन्धित निकाय मूकदर्शक बनेका छन्।
अन्य दिनमा पनि आयल निगमले तोकेको दररेटभन्दा बढीमा ममता आयल सेन्टरले पेट्रोल र डिजेल बिक्रीवितरण गर्ने गरेको उपभोक्ताहरुको गुनासो छ।
सञ्चालक गणेश सिलवाल राजनीति पहुँच र पावरको आडमा कसैलाई टेर्ने नगरेको तथा उपभोक्ता ठग्दा पनि कुनै कारबाही नभएको एक स्थानीयले बताए।
यता सञ्चालक सिलवालसँग सरकारले तोकेको दररेटभन्दा महँगोमा किन पेट्रोलियम पदार्थ बेचेको भन्ने प्रश्नमा आफू गाडीमा भएको बहानाबाजी गर्दै उनले फोनमा कुरा गर्न मानेनन्।
‘यो कुरा फोनमा हुँदैन। दुई दिनपछि पम्पमै आउनुस्। अनि मात्र कुरा गरौँला’, उनले यति कुरा भन्दै फोन काटे।
नेपाल आयल निगम डिपोका प्रमुख मनोज कुमार साहले ममता आयल निगमले महँगोमा डिजेल पेट्रोल बेच्ने गरेको भेटे कारबाही गर्ने बताए।
महेन्द्रनगर डिपोअन्तर्गतको पेट्रोल पम्पहरुमा पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ ५० पैसा र डिजेल ९१ रुपैयाँ ५० पैसा प्रतिलिटर तोकिएको डिपो प्रमुख साहले जानकारी दिए।
उनले भने, ‘दररेटभन्दा बढी मूल्यमा डिजेल पेट्रोल बेचेको प्रमाण भेट्यो भने हामी प्रशासन, नापतौल विभागसँगै अनुगमन गरेर प्रमाणको आधारमा कारबाही गर्छौँ।’

प्रतिक्रिया