कारोबार


आठ खर्बको आयात हुँदा निर्यात ७० अर्ब भन्दा कम

आठ खर्बको आयात हुँदा निर्यात ७० अर्ब भन्दा कम

समुन्द्रा घिमिरे
फागुन ७, २०७७ शुक्रबार ११:३५,

कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार विदेशी वस्तुको आयात कोरोना महामारीपूर्वकै अवस्थामा फर्किएको छ।

विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७-७८ को पहिलो सात महिनामा रु आठ खर्ब बढीको आयात भएको छ। विभागले सार्वजनिक गरेको सात महिनाको (साउनदेखि माघ मसान्तसम्म) तथ्यांकअनुसार रु आठ खर्ब तीन अर्ब ६४ करोड बढीको आयात भएको छ।

गत वर्षको सोही अवधिको तुलनामा ०.०१ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा रु आठ खर्ब तीन अर्ब बढीको आयात भएको थियो। यसैगरी सात महिनाको अवधिमा रु ६९ अर्ब ९१ करोड ७० लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको छ। गत आवको सोही अबधिको तुलनामा ७.६१ प्रतिशतले निर्यातमा वृद्धि भएको छ।

गत आवमा सोही अवधिमा रु ६४ अर्ब ९७ करोड १२ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो। तथ्यांकअनुसार यो वर्ष व्यापार घाटामा ०.६६ प्रतिशतले सुधार भएको छ। वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ र निर्यातको हिस्सा आठ प्रतिशत छ। हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र ०.५७ प्रतिशतले घटेको छ।

विभागको तथ्यांकअनुसार सात महिनामा रु आठ खर्ब ७३ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापारबाट नेपालले रु सात खर्ब ३३ अर्ब ७२ करोड घाटा बेहोरेको छ। अघिल्लो आवको यसै अवधिको तुलनामा ५.८० प्रतिशतले गिरावट हो।

गत माघमा मात्रै गत आव भन्दा ३१ प्रतिशत बढीको वस्तु आयात भएको छ। गत वर्षको माघमा रु एक खर्ब आठ अर्ब ९० करोडको आयात भएकामा यो माघमा रु एक खर्ब ४२ अर्ब ३९ करोडको आयात भएको हो।

कुन महिना कति आयात
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा रु ८५ अर्ब ८० करोड, भदौमा रु ९३ अर्ब चार करोड र असोजमा रु एक खर्ब १३ अर्ब ४३ करोड बराबरको विदेशी वस्तुका आयात भएको थियो।

यसैगरी कात्तिकमा रु एक खर्ब १० अर्ब २२ करोड, मङ्सिर महिनामा रु एक खर्ब २३ अर्ब एक करोड, पुसमा रु एक खर्ब ३५ अर्ब ७४ करोड बराबरको विदेशी वस्तुको आयात भएको छ। हालसम्मकै धेरै माघ महिनामा रु एक खर्ब ४२ अर्ब ३९ करोड बराबरको विदेशी वस्तु आयात भएको छ।

सात महिनाको अवधिमा नेपालमा आयात हुने विदेशी वस्तुको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको छ। सात महिनामा रु ३९ अर्ब ७० करोड बढीको डिजेल आयात भएको छ। गत पुसमा रु ३२ अर्ब ९३ करोड बढीको डिजेल आयात भएको थियो।

आन्तरिक राजश्व विभागका प्रमुखमा आचार्य
आन्तरिक राजश्व विभागका महानिर्देशकमा झक्कप्रसाद आचार्य नियुक्त भएका छन्। अर्थ मन्त्रालयअन्तर्गतको वित्त क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख रहेका सहसचिव आचार्यलाई विभाग प्रमुखको जिम्मेवारी दिइएको हो।

आचार्यले राजश्व विभागको महानिर्देशकका रुपमा नियुक्ति पाएको जानकारी दिए। गत माघ १ गते तत्कालीन महानिर्देशक विनोद कुँवरको गण्डकी प्रदेशमा सरुवा भएपछि सो पद रिक्त रहेको थियो। एक महिनादेखि खाली रहेको उक्त स्थानमा आचार्यलाई जिम्मेवारी दिइएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad