नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच लघु, घरेलु तथा मझौला उद्यमहरुका लागि वित्तीय कर्जा उपलब्ध गराउन सहजिकरण गर्ने सम्बन्धमा सम्झौता भएको छ।
बिहीबार महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार वाणिज्य बैंकहरुले लघु गरेलु तथा मझौला उद्यमहरुको प्रवद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजिकरण गर्ने गराउने छन्।
यस्तै लघु, घरेलु, साना तथा मझौला उद्यम तथा व्यवसायको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजिकरण गर्न केन्द्रीय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने पनि सम्झौतामा उल्लेख छ। उक्त कार्यदलले वित्तीय सेवा प्रवाहको सहजिकरणको निमित्त आवश्यक नीतिगत सुझावहरु तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि अनुरोध गर्ने काम गर्नेछ।
सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्यमीहरुका लागि ऐतिहासिक सम्झौता भएको बताए। यसबाट महासंघ ठूला व्यवसायीका लागि मात्रै नभएर साना व्यवसायीका समस्या समाधानमा समेत प्रतिवद्ध छ भन्ने प्रमाणित हुने बताए।
नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले देशभर ४ वटा स्थानीय तह बाहेक सबैमा वाणिज्य बैंकका शाखा पुगिसकेकाले लघु घरेलु तथा साना उद्यमहरुलाई सहजै एसएमई बैंकिङ सेवा दिन कुनै समस्या नहुने बताए।
वित्तीय साक्षरताका लागि आवश्यकता अनुसार प्रदेश स्तरमा कार्यक्रम गर्ने पनि सम्झौतामा उल्लेख छ। यो सम्झौता दुई वर्षका लागि लागू हुने र आवश्यकता अनुसार थप गर्न अथवा दुई महिनाको सूचना दिएर कुनै एकपक्षले भङ्ग गर्न सकिने व्यवस्था पनि गरिएको छ।

प्रतिक्रिया