नवीनतम सोचमा आधारित रहेर सञ्चालनमा रहेका ५० स्टार्टअप व्यवसायलाई ५० जना व्यवसायीहरुले आवश्यक लगानी गर्ने भएका छन्।
उद्योग वाणिज्य महासंघको पहलमा ५० वटा स्टार्टअपलाई ५० व्यवसायीबाट लगानी जुटाउन लागिएको हो।
महासंघको वर्तमान कार्यसमितिले नयाँ समितिका रुपमा गठन गरेको स्टार्टअप एण्ड इनोभेसन समितिले छनोट गरेका ५० स्टार्टअपलाई ५० व्यवसायीसँग साक्षात्कार गराउनेछ।
सोमबार महासंघले आयोजना गरेको पत्रकार सम्मेलमा नयाँ गठित समितिको घोषणासमेत गरियो।
पत्रकार सम्मेलनमा बोल्दै स्टार्टअप एण्ड इनोभेसन समितिका सभापति रन्जित आचार्यले २ वर्षको कार्यक्रम घोषणा गरेअनुसार ५० स्टार्टअपलाई लगानी जुटाउने मुख्य कार्य रहेको बताए।
महासंघले आवेदन खुला गर्ने र आवेदनलाई प्रतिस्पर्धा गराई ५० वटा स्टार्टअप छनोट गरिनेछ। छनोटमा परेका उक्त स्टार्टअपलाई लगानी जुटाइनेछ।
यसको लागि यही चैत महिनाको तेस्रो साताबाट आवेदन खुला गरिनेछ। आवेदन दिन चाहने स्टार्टअप वा उद्योग व्यवसायहरु कम्तीमा एक वर्ष सञ्चालनमा रहेको र एक वर्षको अडिट गरेको हुनुपर्ने आचार्यले बताए।
‘सबै क्षेत्रका नवीनतम सोचमा आधारित व्यवसायले आवेदन दिन सक्नेछन्’, पत्रकार सम्मेलनमा बोल्दै आचार्यले भने, ‘त्यसमध्ये आवश्यकता, सम्भावनालगायतलाई ध्यानमा राखेर छनोट गरिनेछ।’
कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवामा आधारित नवीनतम सोचका व्यवसायलाई प्राथमिकतामा राखिए पनि अन्य पनि प्रतिस्पर्धाबाट छनोट हुन सक्नेछन्।
मे महिनाको दोस्रो हप्ता आवेदनबाट पहिलो सूची तयार गरिनेछ। मेको अन्तिम हप्ता अन्तर्वार्ता र जुनको दोस्रो हप्ता छनोट भएका ५० स्टार्टअपको अन्तिम सूची सार्वजनिक गरिनेछ।
लगानीको लागि छनोट भएका स्टार्टअप वा व्यवसायहरु लागि उनीहरुको लगानीकर्तामाझ पु¥याउन तीन महिनाको मेन्टरसिप कार्यक्रममा समावेश गराइनेछ। उनीहरुलाई जुलाईदेखि तीन महिनाको लागि मेन्टरसिप उपलब्ध गराइनेछ।
त्यसरी मेन्टरसिप गराइएकाहरुलाई अक्टोबरको पहिलो हप्ता पिचिङको लागि समय दिइनेछ।
२० चर्चित व्यवसायीको प्रशिक्षण
केन्द्रबाहेक जिल्लास्तरमा पनि स्टार्टअप/उद्योग व्यवसायलाई आवश्यक पर्ने मार्गदर्शनका लागि भर्चुअल माध्यमबाट २० मेन्टर (प्रशिक्षक)हरु उपलब्ध गराइनेछ।
मेन्टरहरुमा अनिल चित्रकार, पशुपति मुरारका, ओमराज भण्डारी, सौरभव ज्याति, आशुतोष तिवारी, रन्जित आचार्य, सुमन शाक्य, सिद्धान्तराज पाण्डे, अमति अग्रवाल, विश्वास ढकाल, सुमना श्रेष्ठ, निरज खनाल, आनन्द बगारिया, गगन प्रधान, निरन्जन श्रेष्ठ, दीलिप अग्रवाल, सनम चित्रकार, योगेन्द्र शाक्य, भाष्कर ढुंगाना र संजय गोल्छा रहेका छन्।
मुलुकका सफल २० जना उद्योग व्यवसायीहरुले छनोटमा परेका स्टार्टअप व्यवसायीलाई २० जनाको दरले मेन्टरसिप दिनेछन्।
एक स्टार्टअपलाई एक मेन्टरका हिसाबले २० जना स्टार्टअप र उद्योग व्यवसायहरुलाई मेन्टरसिप कार्यक्रममाअन्तर्गत लामो व्यवसायी अनुभव बटुलेका मेन्टरहरुमार्फत करिब ३ महिना परामर्श दिई उद्यम गर्न सक्षम बनाइनेछ।
मेन्टरसिपमा सफलतापूर्वक मेन्टरिङ पूरा गरेका स्टार्टअप वा उद्योग व्यवसायलाई मात्र लगानी जुटाउनको लागि लगानीकर्तामाझ आफ्नो व्यवसायको प्रस्तुतिका लागि मौका प्रदान गरिनेछ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष शेखर गोल्छाले यो काम महासंघको महत्वपूर्ण खुट्किलो भएको बताए। महासंघले सय अर्ब डलरको अर्थतन्त्र र हरेक वर्ष ४ लाख रोजगारी सृजना गर्ने लक्ष्यसहितको महासंघले सार्वजनिक गर्न लागिको भिजन पेपरको लागि स्टार्टअप समितिले गरेको काम अति महत्वपूर्ण हुने गोल्छाले बताए।
‘जबसम्म इनोभेसन र नयाँ आइडियालाई अगाडि ल्याइदैन तबसम्म देश समृद्ध हुनसक्दैन,’ गोल्छाले भने, ‘नेपालमा नवीनतम सोँचलाई अगाडि बढाउने नीति बनाउन जरुरी छ।’
त्यस्तै, कार्यक्रममा महासंघका उपाध्यक्ष रन्जन श्रेष्ठले मुलुकमा स्टार्टअप व्यवसाय संचालन गर्न पुँजिको सहजता नभएको, करको दर उच्च रहेको, आवश्यक नीति नभउको र अनुमतिपत्र पाउन झन्झटिलो रहेको बताए।
महासंघको नयाँ नतृत्व आएसँगै स्टार्टअप एण्ड इनोभेसन समिति पनि गठन गरेको छ। समितिको सभापतिमा रन्जित आचार्य र उपसमापतिमा सुमन शाक्य चयन भएका छन्।
त्यस्तै समितिको सदस्यहरुमा दीपेन्द्र चौलागाँइ, सुमना श्रेष्ठ, निरज खनाल, मौसमि श्रेष्ठ, स्वर्ण ताम्राकार, प्रकाशदेव पालिखे रहेका छन्। आमन्त्रित सदस्यमा कविराज जोशी, तेन्जिन सोनाम गोन्सर रहेका छन्। समिति सल्लाकारमा अनिल चित्रकार, ओम राजभण्डारी र सौरभ ज्याति रहेका छन्।
महासंघको भिजन २०३० लाई साकार पार्न यो समिति गठन गरिएको यसका सभापति रन्जित आचार्यले बताए।
समितिले स्टार्टअप र सूचना प्रविधिको विकासको लागि थप अन्य कार्यक्रम पनि घोषणा गरेको छ। जसअनुसार अग्रेजी महिनाको पहिला शुक्रबार ‘फ्राइडे टक’ गर्नेछ। यो कार्यक्रम अप्रिल २ बाट सुरु हुदैछ।
त्यस्तै, महासंभघमा इकुवेसन सेन्टर बनाउनेछ। महासंघले केही जिल्लामा इकुवेसन सेन्टर बनाउने घोषणा गरेको छ।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, आइएलओ, इसीमोड, काठमाडौं महानगरपालिका, काठमाडौं विश्व विद्यालय र जिल्ला उद्योग वाणिज्य महासंघहरु यस समितिको कार्यक्रमको साझेदारी संस्थाहरुको रुपमा समितिले जनाएको छ।

प्रतिक्रिया