संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईका कारण शनिबार नेपालगञ्जबाट काठमाडौं आउने उडान नं बीएचए ४०६ विमान ढिलाई भएको विवादबारे बुद्ध एयरले आफ्नो धारणा सार्वजनिक गरेको छ।
बुद्ध एयरका अनुसार मन्त्री योगेश भट्टराईका कारण विमानको उडान केही समय ढिलाई भएको थियो भने विमानमा हो–होल्ला गर्ने यात्रुहरुका कारण थप केही समय ढिलाई भएको थियो।
‘रिभाइज्ड टाइम’ अनुसार २४ मिनेट ढिला भई विमान ७ः०४ मा नेपालगञ्जबाट उडेको जनाइएको छ। ‘रिभाइज्ड टाइम अनुसार विमान ६ः२५ को सट्ट ६ः४० मा उड्नुपर्ने बुद्ध एयरको भनाई छ।
बुद्धले भनेको छ, ‘मन्त्री भट्टराईका सहयोगीले नेपालगञ्ज नागरिक उड्ययन प्राधिकरणका प्रमुखमार्फत ६ः२५ मा फोन गरेर हामी धम्बोजी आइपुग्यौं भन्ने जानकारी पाएपछि अब मन्त्रीज्यू आइपुगिहाल्ने आशय बुझी हाम्रा एयरपोर्टका कर्मचारी मित्रहरुले यात्रुहरुलाई ६ः३० तिर विमानमा बोर्डिङ गर्नुभएको थियो। तर, त्यसो नभइ वहाँहरुले दिएको जानकारी भन्दा केही ढिला एयरपोर्ट प्रवेश गर्नुभयो।’
यस्तै, बुद्धले उडान ढिला भएपछि ६ः४० मा १४/१५ जना यात्रु विमानबाट बाहिर निस्किएर कर्मचारीसँग विवाद गरेको, मन्त्री भट्टराई ६ः५० मा विमानभित्र चढेका र उनीसँगै बाहिर हल्ला गर्ने यात्रुहरु भित्र पसेर थप ४-५ मिनेट विवाद गरेको जनाएको छ।
धेरैजना विमानको एकै ठाउँमा उभिएकाले धेरै वजन भएर विमान ढल्किएको र सो समूहलाई साम्य बनाई सिटमा बसालेर उडान भर्दा थप ढिला भएको बुद्धको स्पष्टीकरणमा उल्लेख छ।



प्रतिक्रिया