भारतको रक्षा मन्त्रालय मातहतको रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आईडीएसए) का प्रमुख अनुसन्धानकर्ता डा. निहार नायकले बंगलादेश–भुटान–भारत–नेपाल (बीबीआईएन) परियोजनामार्फत एसियन हाइवेमा जोडिएर अधिकतम लाभ लिन नेपाललाई सुझाव दिएका छन्।
चीनका स्टेट काउन्सिलर तथ विदेशमन्त्री वाङ यीको भ्रमण लगत्तै एउटा सेमिनारमा सहभागी हुन नेपाल आएका नायकले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत केरुङ–काठमाडौं रेलमार्गभन्दा बीबीआईएन परियोजना नेपालका लागि सस्तो र बहुउपयोगी हुने तर्क गरे।
बीबीआईएन ०७२ सालको असारमा सार्वजनिक गरिएको भारतको ‘लुक इष्ट’ नीतिसँग जोडिएको परियोजना हो। जसलाई भारतले सार्कको विकल्पका रुपमा क्षेत्रीय फोरम बनाउन चाहेको छ।
‘बीबीआईएनले नेपाललाई सडक, रेल र जलमार्गको कनेक्टिभिटि मार्फत सिधै कोलकोता र बंगलादेशको चिताङगर्ड (चटगाउँ) सँग पहुँच दिनेछ’, आइतबार बेलुकी काठमाडौंको बत्तिसपुतलीस्थित एक होटलमा नेपालखबरसँग कुराकानी गर्दै नायकले भने, ‘गंगा नदीको रुट भएर बंगलादेश र कोलकोता दुबै बन्दरगाह नेपालले प्रयोग गर्न सक्छ भने अर्कोतिर रेलमार्ग र सडकको पूर्वाधार भारतीय भूमिमा बनिसकेको हुनाले नेपालले लगानी पनि गर्नुपर्दैन।’
पूर्वाधार बनिसकेको बीबीआईएन तुरुन्तै लागू हुने परियोजना भएको तर्क गर्दै उनले प्रश्न गरे, ‘बीआरआई अन्तर्गतको केरुङ–काठमाडौं रेलमार्ग कहिले बन्ने? कुन मोडलमा बन्ने? अझै अनिश्चित छ।’
त्यो रेलमार्गको लागत नेपालले धान्न सक्ने अवस्था नरहेको दोहोर्याउँदै नायकले भने, ‘नेपाल ऋणको पासोमा फस्ने सम्भावना त्यतिकै छ। आफ्नो हात तल पर्ने बीआरआईभन्दा बरु बीबीआईएन नेपालको हितमा छ।’
नायकको भनाइअनुसार बीबीआईएनबाट नेपालले पहिलेदेखि माग गर्दै आएको बंगलादेशको फुलबारी मार्ग पनि प्रयोग गर्न पाउने अवस्था बनेको छ। घुमाउरो भाषामा उनले नेपालले बीआरआईबाट भन्दा बीबीआईएन परियोजनाबाट अधिक फाइदा लिन सक्ने तर्क गरे।
जलमार्ग अन्तर्गत गंगानदीमा भारतले सञ्चालनमा ल्याएको मानव निर्मित मल्टिमोडल पोर्ट साहिवगन्ज र कालुघाट नेपालले प्रयोग गर्न सक्ने अध्ययनले देखाइसकेको छ। वारणासी, साहिवगन्ज र कालुघाटमा भारतले पानी जहाजको टर्मिनल निर्माण गरिसकेको हुनाले नेपालको सीमानामा जहाज आउने अवस्था बनेको हो।
कालुघाटबाट विराटनगर एक सय ५० किलोमीटर र बीरगन्ज एक सय ७५ किलोमिटरको दुरीमा पर्दछ। नेपालले जलमार्गलाई विस्तार गर्नेक्रममा गण्डकी नदीमार्फत नारायणघाटसम्म जहाज चलाउन सक्ने नायकले खुलाए।
बीबीआईएन परियोजनामार्फत नेपाल एसियन हाइवे हुँदै दक्षिण पूर्वीएशिया र एशियाभरि नै जोडिन सक्ने नायकको तर्क छ। एसियाली डेभलभमेन्ट बैंक (एडीबी) को लगानीमा भारतको कोलकोतादेखि भियतनामसम्म एसियन हाइवे निर्माण भइरहेको छ।
‘बीबीआईएनमार्फत एशियन हाइवेमा जोडिएपछि नेपालको पहुँच दक्षिणपूर्वी देशहरुसँग पनि हुन्छ’, नायकले भने, ‘बुद्धिष्ट देशहरुसँगको पहुँचबाट नेपालमा पर्यटकको आोइरो लाग्ने सम्भावना धेरै छ।’
बीबीआईएनमार्फत नेपालले ‘लुक साउथ’ नीति लागू गर्दा भारतको ‘लुक इष्ट’ नीतिमा थप सघाउ पुग्ने नायकको बुझाई छ।
नायकले आइतबार त्रिभुवन विश्वविद्यालयमातहतको नेपाल र एसियाली अनुसन्धान केन्द्र (सीनास) मा ‘नयाँ सन्दर्भमा नेपालको विदेश नीति’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए। जसमा उनले चीन र भारतको तुलना गर्दै भारतबाट नेपालले बढी लाभ लिन सक्ने दाबी गरेका छन्।
‘दक्षिण छिमेकी भारतले नेपाललाई तेस्रो मुलुकसम्म पुग्न पारवहन सुविधा र सहज रुपमा भारतीय बजार उपलब्ध गराएको छ। उत्तरी छिमेकी चीनले भने प्राविधिक र आर्थिक सहयोग मात्र गर्न सकेको छ’, उनले आफ्नो कार्यपत्रमा भनेका छन्।
नायकको भनाइमा ‘केरुङ–काठमाडौं रेलमार्ग चीनले भारतीय बजार लक्षित गरेर बनाउन चाहेको हो, नेपालको सानो बजारका लागि होइन।’
दुईवटा कारणले भारत बीआरआईमा संलग्न भएको छैन। पहिलो, चीन–पाकिस्तान इकोनोमिक कोरिडोर (सीपेक) भारतले दाबी गरेको पाकिस्तान अधिनस्थ काश्मिर (पीओके) भएर जान्छ। भारतले त्यसलाई आफ्नो सार्वभौमसत्तासँग जोडिएको विषय बनाएको छ। दोस्रो, चीनले बीआरआई राष्ट्रिय वा अन्तर्राष्ट्रिय कुन स्तरको परियोजना हो भन्ने प्रश्नको जवाफ नदिएकाले भारत बीआरआईको विपक्षमा रहेको नायकले खुलाए।
नेपालका नेताहरूले नेपाल–भारत–चीन त्रिदेशीय साझेदारीको चर्चा गर्दै आएको उल्लेख गर्दै नायकले भने, ‘चीनबाट नेपालले के के लाभ लिन सक्छ लेओस् तर भारतलाई यसमा किन जोड्नु? चीनसँग भारतका सुरक्षा र सीमा विवादजस्ता धेरै विषयवस्तु जोडिएका छन्।’
‘स्ट्राटेजिक हिमालयः रिपब्लिकन नेपाल एण्ड एक्सटरनल पाओर्स’ पुस्तक लेखेका नायक अहिले दिल्लीमा नेपाल मामिलाका एक जना मुख्य विज्ञ हुन्।
प्रचण्डलाई मात्रै किन एक्सपोज गरियो?
चिनियाँ विदेशमन्त्री वाङको नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अमेरिकाको इण्डो प्यासेफिक रणनीति बारे एउटै धारणा राखेको आफुले पाएको तर प्रचण्डमात्र एक्सपोज भएको उनले बताए।
‘काठमाडौंमा वाङ यीसँग इण्डो प्यासेफिक रणनीति बारे प्रधानमन्त्री, परराष्ट्रमन्त्री र प्रचण्डले एउटै धारणा राखेको मैले पाएको छु’, उनले अलि आश्चर्य मान्दै भने, ‘तर प्रचण्डलाई मात्र किन त्यसरी एक्सपोज गरियो बुझ्न सकिएन।’
एक अर्को प्रसंगमा निहार नायकले नेपाली राजनीति अहिले पनि चीन, भारत र पश्चिमा शक्ति पक्षधर समूहहरूमा बाँडिएको उल्लेख गरे। आफ्नो कार्यपत्रमा भने उनले बुढीगण्डकी जलविद्युत परियोजनामा नेपालका राजनीतिक दलहरु चीन र भारत पक्षधर खेमामा धु्रवीकरण भएको दलिल पेश गरेका छन्।
वाङ यी र जयशंकरको नेपाल भ्रमण कोट्याउँदै नायकले भारतीय विदेशमन्त्रीलाई भन्दा चिनियाँ विदेशमन्त्रीलाई बढी महत्व दिइएको भन्दै असन्तुष्टि जनाए।
‘चिनियाँ विदेशमन्त्रीले नेपाल भ्रमण गर्दा राज्यमन्त्रीले विमानस्थलमा स्वागत गरे, तर भारतीय विदेशमन्त्री आउँदा किन विदेश सचिवले मात्र स्वागत गरे?’, नायकले प्रश्न गरे।

प्रतिक्रिया