ad ad

कारोबार


गाडी नम्बर ‘बा १ झ ६९०’ : दरबारकै हो कि परराष्ट्रको?

गाडी नम्बर ‘बा १ झ ६९०’ : दरबारकै हो कि परराष्ट्रको?

वसन्त अर्याल
असोज ६, २०७९ बिहिबार ६:३४, काठमाडौँ

हात्तीसारमा रहेको लक्ष्मी बैंकको पार्किङ स्थलमा तीन दिनअघि पुरानो विलासी गाडी भेटियो। 

काठमाडौं महानगरले चलाइरहेको टुकुचा खोजी अभियानका क्रममा भेटिएको गाडी थियो नामुद कम्पनी मर्सिडिजको कार। 

गाडी भेटिएसँगै सामाजिक सञ्जालमा तत्कालीन राजा चढ्ने गाडी भन्दै तत्काल भाइरल भयो। धेरैको चासो बढ्यो। विशेषगरी तत्कालीन जर्मन तानाशाह हिटलरले उपहारस्वरुप दिएका २ मर्सिडिजमध्ये उक्त गाडी एउटा भएको चर्चा छ।

खासगरी तत्कालीन राजदरबारको गाडी कसरी व्यवसायीको घरमा पुग्यो भन्दै यसबारेको चर्चा सेलाइसकेको छैन।  

के उक्त गाडी साँच्चै दरबारको हो त? नेपालखबरले यसको तथ्य खोज्ने प्रयास गरेको छ। 

सरकारी नम्बर प्लेट, कवाडीसँग खरिद!
सोमबार लक्ष्मी बैंकको केन्द्रीय कार्यालय हात्तीसारबाट स्थानान्तरण गर्दा पुरानो मर्सिडिज गाडी भेटिएको हो। 

काठमाडौं महानगरले टुकुचा खोलामाथिका संरचना भत्काउने क्रममा  निजी पार्किङमा भेटिएको उक्त मर्सिडिजलाई उद्योगी तथा व्यवसायी राजेन्द्र खेतानको आवासमा लगिएको छ। राजेन्द्र खेतान लक्ष्मी बैंकका पूर्वअध्यक्ष हुन्। 

सरकारी गाडी कसरी यहाँ आइपुग्यो भन्ने पत्रकारको प्रश्नमा बैंकका कर्मचारीले यसलाई सिधै नकारे। उक्त गाडी सरकारी नभएको उनीहरुको भनाइ छ। 

एक कर्मचारीले भने, ‘यो गाडी सरकारी होइन। कवाडीवालासँग खरिद गरिएको हो।’

गाडी निकाल्ने समयमा कर्मचारीले कवाडीसँग खरिद गरिएको बताएका थिए। कर्मचारीले परराष्ट्र मन्त्रालयले लिलामी गरेका गाडी खरिद गरेको बताएका छन्।

काठमाडौं महानगर प्रहरीका अनुसार निजी पार्किङमा थप अर्को सरकारी गाडी पनि स्थानान्तरण गरिएको छ। 

२ बजे एउटा गाडी निकालिएको थियो भने सोही दिन ४ बजे अर्को गाडी स्थानान्तरण गरिएको महानगरीय प्रहरीले जनाएको छ।  

क्रेनमार्फत लगिएको दोस्रो गाडीको नम्बर प्लेट बा.१झ ६९० नम्बरको थियो। निजी सवारीको नम्बर बा.१च रहेको हुन्छ भने सरकारीको बा.१झ  हुन्छ। 

तत्कालीन समयमा गृह मन्त्रालयअन्तर्गतको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा यसको सवारी जाँच प्रमाणपत्र टाँसिएको छ। २०५९ साल मंसिर मसान्तसम्म गाडीको सवारी प्रदूषण जाँच प्रमाणपत्र पनि टाँसिएको छ। त्यसअघि २०५६ असार मसान्तसम्म प्रदूषण जाँच तिरिएको हरियो स्टिकर नै छ। 

दरबारको तथ्यांकमा छैन ‘बा.१झ ६९०’
नेपालमा राजतन्त्रको समाप्तिसँगै नारायणहिटी दरबार संग्रहालयले त्यहाँका पुराना गाडी प्रदर्शनीमा राखेको छ। हिटलरले तत्कालीन राजा त्रिभुवनलाई दिएको एउटा मर्सिडिज नारायहिटी दरबार संग्रहालयमा सर्वसाधारणको अवलोकनका लागि राखिएको छ।  

लक्ष्मी बैंकको केन्द्रीय कार्यालयको बेसमेन्टमा भेटिएको बा.१झ ६९० नम्बर प्लेटको गाडी दरबार संग्रहालयको तथ्यांकमै छैन। 

‘नारायणहिटी दरबार संग्रहालय स्थापनादेखि नै सबै गाडीको तथ्यांक संकलन गरेका छौँ’, संग्रहालयका एक अधिकारीले नेपालखबरसँग भने, ‘बा.१झ ६९० नम्बर प्लेटको गाडी दरबारको अभिलेखमा छैन।’

दरबार संग्रहालयका स्थापनाको समयमा २६ वटा गाडी रहेको उनले बताए। जसमा राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय र नेपाली सेनाले १–१ वटा गाडी लगेका छन्। अहिले २३ वटा पुराना गाडी संग्रहालयमै सुरक्षित रहेको ती अधिकारीको भनाइ छ।  

‘२३ वटा कुनै पनि गाडी चल्दैनन्’, उनले थपे, ‘१–२ वटा बाहेक सबै गाडी प्रदर्शनीमा राखिएका छन्।’

संग्रहालयमा परिणत भएपछि नारायणहिटीबाट कुनै पनि गाडी लिलामी भएका छैनन्। नारायणहिटी संग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश श्रेष्ठले पनि सोमबार भेटिएको गाडी संग्रहालयको आधिकारिक तथ्यांकमा नरहेको जानकारी गराए। 

‘संग्रहालय स्थापनापछिको तथ्यांकमा उक्त गाडी देखिँदैन’, श्रेष्ठले भने, ‘राजपरिवारकै सदस्यको भए पनि पहिला नै बक्सिस, लिलाम वा बेचेको हुनसक्छ।’

श्रेष्ठले राजाको पालामा भएका गाडी र तिनको प्रयोगको अवस्थाबारे संग्रहालयमा कुनै पनि अभिलेखीकरण नभएको बताए।   

१९६९ मा बनेको, अतिथि सत्कार विभागको नाममा दर्ता 
सार्वजनिक चासो बढेसँगै नेपालखबरले उक्त गाडीको उत्पत्ति समय र नेपालमा भएको दर्ता विवरण पनि फेला पारेको छ। 

टुकुचा उत्खननको सिलसिलामा भेटिएको ‘बा.१झ ६९० नम्बरको मर्सिडिज’ परराष्ट्र मन्त्रालयअन्तर्गतको ‘अतिथि सत्कार विभाग’को नाममा दर्ता रहेको पाइएको छ। 

उक्त विभाग अहिले खारेज भइसकेको छ। त्यहाँको सम्पत्ति तथा कर्मचारी परराष्ट्र मन्त्रालयमातहत समाहित भइसकेका छन्। 

यातायात कार्यालयको तथ्यांकअनुसार उक्त गाडीको ब्ल्युबुक नम्बर १५७४५ हो। मर्सिडिज कम्पनीले उत्पादन गरेको उक्त गाडी १९६९ मा बनेको थियो। त्यसको मोडल नै १९६९ रहेको छ। गाडीको इन्जिन नम्बर १८०९५५१००००८०४ रहेको छ। 

कालो कलरमा रहेको गाडीमा सातवटा सिट छन्। जसको सञ्चालन प्रकृति पेट्रोल इन्जिनयुक्त छ।  

उक्त गाडी भन्सार विभागबाट सुविधामा भित्रिएको थियो। सरकारी प्रयोगका लागि ल्याइएको यसले नेपालभर गुड्ने अनुमति पाएको छ। 

परराष्ट्र मन्त्रालयका कर्मचारीसँग बुझ्दा अतिथि सत्कार विभाग मन्त्रालय मातहत आए पनि गाडीको विषयमा थाहा नभएको बताए।  

सेतो नम्बर प्लेट दरबारले प्रयोग नै गरेन : ढुंगाना
तत्कालीन समयको विलासी गाडी भएकाले दरबारकै हो कि भन्ने चासोबारे नारायणहिटी दरबार संग्रहालयका पूर्वकार्यकारी निर्देशक रोहित ढुंगानासँग थप बुझ्दा उनले पनि यसलाई नकारे। 

उनका अनुसार बा.१झ भन्नेबित्तिकै यो दरबारको गाडी होइन। 

ढुंगानाले भने, ‘नारायणहिटी दरबारमा सेतो नम्बर प्लेट भएको मर्सिडिज गाडी नै थिएनन्।’ 

त्यसकारण टुकुचामा भेटिएको गाडी दरबारको नभएको उनको भनाइ छ। 

‘सेतो नम्बर प्लेटमा रातोले लेखिएका गाडी दरबारका कसैले प्रयोग गरेनन्’, उनले थपे। 

ढुंगानाका अनुसार दरबारले निजी नम्बर प्लेटकै गाडी प्रयोग गथ्र्यो। दरबारका गाडीको नम्बर प्लेट बा.१च नै उल्लेख हुने गरेको थियो। 

‘बा.१झ भनेपछि श्री ५ को सरकारअन्तर्गतकै गाडी हो तर दरबारको होइन’, निश्चिन्त हुँदै उनले भने, ‘सिंहदरबारका परराष्ट्र वा गृह मन्त्रालयमातहतका निकायले प्रयोग गरेको हुनुपर्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .