ad ad

कारोबार


मोटरसाइकल बजारमा ‘मन्दी’, ५० प्रतिशतले घट्यो व्यापार

साढे ४ अर्बले घट्यो दुईपांग्रे आयात
मोटरसाइकल बजारमा ‘मन्दी’, ५० प्रतिशतले घट्यो व्यापार

वसन्त अर्याल
कात्तिक २३, २०७९ बुधबार १४:१५, काठमाडौँ

कोभिड महामारीमा ‘पिक’मा पुगेको दुईपांग्रे सवारीसाधनको व्यापार लगातार गिरावट आइरहेको छ। 

पछिल्लो तथ्यांकअनुसार मोटरसाइकल तथा स्कुटरको व्यापार ५० प्रतिशतले गिरावट आएको हो। 

सरकारले १५० सीसीमाथिका मोटरसाइकलमा प्रतिबन्ध लगाएको तथा ऋण पाउन मुस्किल र अर्थतन्त्र चलायमान नहुँदा दुईपांग्रे सवारीको व्यापार घटेको व्यवसायी बताउँछन्। 

आर्थिक वर्ष २०७८/०७९ को ३ महिनामा १ लाख मोटरसाइकल आयात भएका थिए। त्यसमा करिब ७० हजार १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटर आयात भएका थिए। त्यो बेला ३ महिनामै ९ अर्ब ६१ करोड रुपैयाँको दुईपांग्रे साधन आयात भएका थिए। 

भन्सार विभागको तथ्यांकले चालू आर्थिक वर्षमा भने आधाले आयात घटेको देखाउँछ। चालू आर्थिक वर्षको ३ महिनामा ५२ हजार १८१ मोटरसाइकल तथा स्कुटर मात्रै आयात भएका छन्। जसमा ४७ हजार दुईपांग्रे १२५ सीसीका रहेका छन्। ३ महिनामा कुल ५ अर्ब १० करोड रुपैयाँका बाइक भित्रिएका छन्। 

२०७७/०७८ मा सुरुका ३ महिनामा ७० हजार मोटरसाइकल तथा स्कुटर आयात भएका थिए। उक्त वर्ष ६ अर्ब ५० करोड रुपैयाँका मोटरसाइकल तथा स्कुटर आयात भएका थिए। 

कोभिड महामारीको कारण सार्वजनिक यातायातभन्दा निजी सवारीमा आकर्षण बढ्दा दुईपांग्रे सवारीको बिक्री बढेको थियो। कोभिड महामारी रहेको वर्ष २०७७/०७८ मा ३ लाख ५३ हजार मोटरसाइकल तथा स्कुटर बिक्री भएका थिए। उक्त वर्ष नेपालमा सर्वाधिक मोटरसाइकल बिक्री भएका थिए। 

कोभिड महामारीसँगै दुईपांग्रेको व्यापारमा गिरावट आउनथालेको थियो। आर्थिक वर्ष २०७८/०७९ मा २ लाख ७८ हजार मोटरसाइकल भित्रिएका थिए। जसमा १२५ सीसीसम्मका मात्रै २ लाख १३ हजार मोटरसाइकल तथा स्कुटर बिक्री भएका थिए।

‘६० प्रतिशतले मन्दी आएको छ’ 
यामाहाका आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले मोटरसाइकलको बिक्रीमा ६० प्रतिशतले मन्दी आएको बताएका छन्। 

‘केही समययता नेपालमा आर्थिक मन्दीको अवस्था देखिएको छ’, क्षेत्रीले भने, ‘गत वर्षको तुलनामा ६० प्रतिशतले दुईपांग्रेको बजार घटेको छ।’ 

सरकारले वैशाख १४ गतेदेखि २५० सीसीमाथिका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएको थियो। साउनपछि भने १५० सीसीमाथिका मोटरसाइकलमा पनि प्रतिबन्ध लगाएको छ। सरकारले वैदेशिक मुद्रा सञ्चितिमा अप्ठ्यारो परेको उल्लेख गर्दै हाल मंसिर मसान्तसम्म आयात प्रतिबन्ध लगाएको छ। 

टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका जनरल म्यनेजर दीपक रौनियारले अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले बजार घटेको बताए। उनले टीभीएस ब्रान्डको बजार अन्य कम्पनीभन्दा कम प्रभावित भएको बताए। 

‘समग्र दुईपांग्रे अटो बजार ४० प्रतिशत बढीले घटेको छ’, रौनियारले भने, ‘समग्र बजार घट्दा टीभीएसको मार्केट सेयर भने बढेको छ। हाम्रो बिक्री ३० प्रतिशतले घटेको छ।’

उनले दुईपांग्रे सवारीसाधनको बिक्री घट्नुमा समग्र अर्थतन्त्र नै चलायमान प्रमुख कारण रहेको बताए। 

‘घरजग्गा कारोबारसँग अटोको व्यापार पनि जोडिन्छ। घरजग्गा कारोबारसँगै अधिकांश व्यापार सुस्त छ’, उनले भने, ‘यस्तो २ पांग्रेको मात्रै व्यापार बढ्ने देखिन्न। दुईपांग्रेको व्यापार बढाउन समग्र अर्थतन्त्र नै चलायमान हुनुपर्छ।’

उनले बैंकबाट सहज रुपमा ऋण पाउन नसक्दा सवारीसाधन खरिद गर्नेको संख्या घटेको बताए। अर्थतन्त्रको साइकल नै प्रभावित हुँदा व्यापारमा देखिएको छ। 

अटो व्यवसायको समग्र व्यापारको ४० प्रतिशत दशैँ तिहारको चाडपर्वमा बिक्री हुन्छन्। तर अहिलेको दशैँ तिहारमा समेत दुईपांग्रे व्यापारमा चमक आउन सकेन। 

यसले नेपालमा दुईपांग्रे सवारीसाधनको बजार सुस्ताउँदै गएको देखाउँछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .