भारतमा टाटा मोटर्सका प्यासेन्जर भेहिकलमा मूल्य बढ्दा नेपालमा पनि बढ्न सक्ने देखिएको छ।
भारतीय चर्चित ब्रान्ड टाटाले २०२२ मा ४ पटकसम्म मूल्य बढाउँदाको असर नेपालमा देखिने भएको हो।
भारतमा कमर्सियलसँगै प्यासेन्जर गाडीको मूल्य बढेको छ। सबैभन्दा बढी प्यासेन्जर भेहिकलमा मूल्य बढेको छ। भारतको ठूलो गाडी उत्पादक कम्पनी टाटाले नोभेम्बरमा मात्रै औसतमा ०.९ प्रतिशतले विभिन्न भेरियन्ट र मोडलमा मूल्य बढाएको थियो।
टाटाले भारतमा पहिलोपटक जनवरी १९ मा ०.९ प्रतिशतले बढाएको थियो। दोस्रो पटक अप्रिल २३ मा १.१ प्रतिशत मूल्य बढाएको टाटाले जुलाईमा ०.५५ प्रतिशतले मूल्य बढाएको थियो।
एक वर्षमा साढे ३ प्रतिशतले मूल्य बढाउँदा उसले निर्यात गर्ने देशमा पनि मूल्य बढ्छ।
टाटाका चलेका ७ कार
टाटा मोटर्सले ७ वटा मोडलका प्यासेन्जर भेहिकल बिक्री गर्दै आएको छ। अल्ट्रोज, ह्यारियर, नेक्सन, पञ्च, सफारी, टियागो र टिगोर बिक्री गरेको छ। जसमा नेक्सन, टिगोर र टियागोको विद्युतीय गाडी समेत उत्पादनसँगै बिक्री गरिरहेको छ।
टाटा मोटर्सले हरेक त्रैमासिकमा गाडीको मूल्य समायोजन गर्दै आएको छ। नोभेम्बर मूल्य बढाएसँगै भारतमा कुनै मोडलमा ३० हजार भारुसम्म बढेको छ। टाट ह्यारियरको ३० हजार, सफारीको २० हजार, नेक्सनको १८ हजार, अल्ट्रोज र टिगोरमा १० हजारसम्म मूल्य बढेको छ। टियागोमा ८ हजार र पञ्चमा ७ हजार भारतीय रुपैयाँसम्म मूल्य बढेको छ।
नोभेम्बरमा बढेको मूल्य २०२३ को जनवरीमा फेरि बढ्नसक्ने आकलन गरिएको छ। टाटाले प्यासेन्जर भेहिकलको मूल्य बढाउँदा विद्युतीय गाडी समेत बढेको छ। तर नेपालमा टाटाले मूल्य बढाएको छैन।
नेपालमा कति बढ्ला?
नेपालमा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले भारतमा उत्पादिन अधिकांश मोडल नेपालमा भित्र्याएको छ।
वैशाखयता नयाँ गाडीको आयातमा नै सरकारले प्रतिबन्ध लगाएको छ। जसले नयाँ गाडी भित्रिन पाएका छैनन्। नेपालमा लामो समय स्टकमा राख्न नसकिने भएको हुँदा भारतमा ३–३ महिनामा मूल्य बढ्दा यहाँ पनि बढ्ने सिप्रदीका एक अधिकारी बताउँछन्।
सिप्रदी ट्रेडिङका अधिकारीहरुका अनुसार नेपालमा पनि टाटाका मोडल र भेरियन्टमा मूल्य बढ्न सक्छ। डिजेल पेट्रोलका गाडीको आयात नहुँदा मूल्य नबढाएको जनाएका छन्।
भारतमा टाटा मोटर्सले उत्पादन लागत बढेको उल्लेख गर्दै गाडीको मूल्य बढाएको हो। भारतमा टाटा मोटर्सको मात्रै नभई स्कोडा, टोयोटा, कियाले पनि मूल्य बढाएका छन्।
‘यसकारण बढ्छ सवारीसाधनको मूल्य’
टाटा मोटर्सका प्यासेन्जर भेहिकल बिजनेस अध्यक्ष शैलेश चन्द्रले वस्तुहरुको मूल्य, कच्चा पदार्थको र अन्य लागत बढ्दा मूल्य बढाउनुपर्ने बाध्यता रहेको बताएका छन्।
टाटा मोटर्सले स्टिल, आल्मुनियम र बहुमूल्य धातुको मूल्य बढेको उल्लेख गरेको छ। यी वस्तुको मूल्य साढे ८ प्रतिशतसम्म बढ्दा गाडीको मूल्य समेत बढेको उल्लेख गरेको छ।
टाटा मोटर्सले भारतीय बजारमा विद्युतीय चारपांग्रे बजारको नेतृत्व गरिरहेको छ। टाटा मोटर्सले नेक्सन ईभी र नेक्सन ईभी म्याक्समा पनि मूल्य बढाएको थियो।
सिप्रदी ट्रेडिङका अधिकारीका अनुसार भारतमा मूल्य बढेको असर नेपालमा सिधै पर्छ। नेपालमा आयात हुने टाटाका सबै गाडी भारतमा उत्पादन हुँदै आएका छन्।
११ महिनामा साढे ३ लाख बढी प्यासेन्जर भेहिकल उत्पादन
२०२२ भरि टाटाले भारतमा ५ लाख प्यासेन्जर भेहिकल उत्पादन गर्ने लक्ष्य राखेको छ। जसमा ५० हजार विद्युतीय गाडी उत्पादन गर्ने लक्ष्य छ। नोभेम्बरसम्म ३ लाख ६३ हजार युनिट उत्पादन गरेको छ।
टाटा मोटर्सले नोभेम्बरमा ७३ हजार ४६७ युनिट गाडी बिक्री गरेको छ। जसमा २९ हजार ५३ कमर्सियल भेहिकल रहेका छन् भने प्यासेन्जर भेहिकल ४६ हजार ३७ वटा बिक्री गरेको छ। जसमा विद्युतीय गाडी ४ हजार ४५१ वटा बिक्री गरेको छ।
यो बिक्री २०२१ नोभेम्बरको तुलनामा २७ प्रतिशतले बढी हो। २०२१ नोभेम्बरमा ५८ हजार ७३ वटा गाडी मात्रै बिक्री गर्न सफल भएको थियो।
कमर्सियल गाडीमा १० प्रतिशतले व्यापार घटे पनि प्यासेन्जर भेहिकलमा ५५ प्रतिशतले बढेको छ। विद्युतीय गाडीमा भने टाटाको व्यापार १४६ प्रतिशतले बढेको छ।
प्रतिक्रिया